प्रधानमन्त्री फिर्ता


काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउँदै निर्वाचन नरोकिने बताउनुभएको छ।
मधेसी मोर्चासमेत निर्वाचनमा सहभागी हुने उहाँको दाबी छ। छिमेकी मुलुक चीनको एक साता लामो भ्रमणबाट बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै निर्वाचनबारे भ्रममा नपर्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले यस्तो विचार व्यक्त गर्नुभएको हो।

मधेस केन्द्रित दल र प्रतिपक्षी नेकपा एमालेसँग बुधबारदेखि नै छलफल शुरू हुने बताउँदै उहाँले भन्नुभयो– ‘मुलुक निर्वाचनमा गइसकेको छ, अब निर्वाचन रोकिँदैन।’ आफ्नो चीन भ्रमण सफल भएको दाबी गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक स्थिरता र नेपालले घोषणा गरेको निर्वाचन सफल बनाउन र संविधान कार्यान्वयनका लागि चिनियाँ सद्भाव रहेको बताउनुभयो।

चिनियाँ राष्ट्रपति सी जीन पीङसँग र अन्य उच्च अधिकारीहरूसँगको भेटवार्ताले द्विपक्षीय सम्बन्ध झनै मजबुद् भएको उहाँको दाबी थियो। राष्ट्रपति सीसँगको भेटवार्तामा सीलाई पुनः नेपाल भ्रमणको निम्तो दोहोर्याउनुभएका प्रधानमन्त्री दाहालले छिट्टै राष्ट्रपति सीले नेपालको भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभयो।