जहाज खाने के हो बरमुडा त्रिकोण ?


जयकुमार महर्जन

पृथ्वी अचम्मको ग्रह हो। यहाँ अनेकौं किसिमका तथ्यहरु लुकेर बसेका छन्। विश्वास गर्न गाह्रो भए पनि वास्तवमा ती चीजहरु तथा तथ्यहरु सत्य छन्। वास्तविक छन्। त्यस्तै अनेकौं अचम्म लाग्दा तथ्यहरुमध्ये बरमुडा ट्रइंगल अर्थात् बरमुडा त्रिकोण पनि एक हो। बरमुडा ट्रइंगल एट्लान्टिक महासागरको एक ठाउँमा अविस्थत छ जुन त्रिकोण आकारमा छ।

यो त्रिकोण आकारमा परेका धेरैभन्दा धेरै पानी जहाज तथा त्यसमाथि उडेका हवाईजहाजहरु हराएका छन्। यो सुन्दा विश्वास गर्न गाह्रो छ। तर, वास्तवमा यो सत्य घटना हो। विगत ५ शताव्दिदेखि नै बरमुडा ट्रइंगलमा करिब १ हजार वटाभन्दा बढी पानी जहाज र हवाईजहाजहरू हराइसकेका छन्।

आखिरमा के हो त बरमुडा ट्रइंगल भनेको ? कहाँ छ यो बरमुडा ट्रइंगल ? यसबारे यहाँ केही चर्चा गरिएको छ। बरमुडा ट्रइंगल एटलान्टिक महासागरको दक्षिण–पूर्व अमेरिकी तटीय क्षेत्रमा रहेको छ। यसको तीन वटा कोणहरु रहेका छन्। जुन कोणहरु फलोरिडा राज्यको मियामी शहर, पोर्टा रिकोको सान जुवान र बरमुडा प्रायद्वीपको उत्तरी भागमा फैलिएको छ।

अमेरिकी लेखक भिसेन्ट गडिसले सन् १९६४ मा यसको सिमाना पत्ता लगाएका थिए। उनले यो सीमानाभित्र पर्ने भागलाई भयानक बरमुडा ट्रइंगल भनी नामाकरण गरेका थिए।

बरमुडा ट्रइंगलको बारेमा शुरुमा खासै चासो दिइएको थिएन। तर, जब सो मार्ग हुर्दै गएका पानीजहाज र हवाईजहाज एकपछि अर्को गर्दै बेपत्ता भएपछि वास्तकिता के हो भनी अनुसन्धान गर्दा मात्र यसको वास्तविकताबारे रहस्य खुलेको हो। बरमुडा ट्रइंगलमा हराएका जहाजहरु हालसम्म पनि फेला परेका छैनन्। र, हराइरहेका जहाजहरू खोज्न गएका जहाज तथा मानिस पनि अहिलेसम्म पनि फर्केर नआएको हुनाले बरमुडा ट्रइंगलबारे झनै अन्यौलता बढ्दै गएको छ। सन् १९४५ मा बरमुडा ट्रइंगल हुँदै गइरहेको अमेरिकी सैनिक विमान फ्लाइट–१९ हराएको अहिलेसम्म पनि फेला परेको छैन।

बरमुडा ट्रइंगलमा धेरै जहाजहरु हराइरहेका छन् जुन आजको मितिसम्म पनि फेला पर्न सकेका छैनन्। यी सबै एउटा रहस्यको विषय पनि बनिरहेको छ। बरमुडा ट्रइंगलबारे धेरै किताब तथा चलचित्रहरु बनेको भए पनि यसबारे ठोस कुरा पत्ता लगाउन अझै पनि वैज्ञानिकहरू असफल नै देखिएका छन्। यद्यपि यस विषयमा अध्ययन अनुसन्धान भने निरन्तर जारी नै छ।

हालसम्म हराइरहेका चर्चित जहाजहरु
फ्लाइट–१९
सन् १९४५ मा फ्लोरिडा राज्यमा तालिमको दौरान भुलवश बरमुडा ट्रइंगल क्षेत्रमा जाँदा हराएको यो सैनिक जहाज अझै अत्तोपत्तो छैन भने उक्त जहाज खोज्न गएको सेनाको अर्को जहाज पनि हराएको थियो।

फ्लाइट डीसी–३
यो जहाज सन् १९४५ मै मियामी राज्यको क्षेत्रमा पर्ने बरमुडा ट्रइंगलमा हराएको थियो।

फ्लाइट–४४१
सन् १९५४ को अक्टुबरमा हराएको यो जहाजमा ४२ जना यात्रु थिए। अमेरिकी जलसेनाको यो जहाज पटुसेन्ट रिभर बेस स्टेसनबाट लाजेस शहरका लागि उडेको थियो। यो जहाजको अहिलेसम्म पत्तो छैन।

सी–५४
यो जहाज सन् १९४७ जुलाई ३ मा बरमुडा प्रायद्वीपबाट उडेको थियो। असावधानीवश त्यस क्षेत्रमा उडेको उक्त जहाज सो क्षेत्रमा पुग्दा ठूलो सामुन्द्रिक आँधीका कारण बरमुडा ट्रइंगलमा खसेको भनी वैज्ञानिकहरुको राय रहेको छ।
यीबाहेक धेरै जहाजहरु बरमुडा ट्रइंगलमा हराइरहेका छन्। ती जहाजहरु कहाँ गए? कुन अवस्थामा छन्? जुन अहिले पनि रहस्यकै विषय बनेको छ। जसले संसारका धेरै मानिसहरुको ध्यान यसतर्फ आर्कषित गरिरहेको छ। यस विषयमा धेरै व्यक्तिले अझै पनि आफ्नो अनुसन्धानलाई जारी राख्दै आइरहेका छन्। यसबारे तथ्य कुरा भविष्यमा अवश्य नै आउनेछ भन्ने आशा गर्न सकिन्छ।