हेरोइन तस्करीमा कुकुरको प्रयोग


न्युयोर्क, (एजेन्सी)
प्युटोरिकोबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत अमेरिकामा ल्याइन लागेको दश किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागूऔषध हेरोइन अमेरिकी भन्सार अधिकारीहरूले बरामद गरेका छन्।

सो परिमाणको हेरोइन कुकुर ओसारपसार गर्न प्रयोग हुने काठको खोरमा लुकाएर ल्याइएको बताइएको छ। तस्करहरूले उक्त खोरमा एउटा लाब्य्राडर रिट्राइभर प्रजातिको कुकुरसमेत राखेको जनाइएको छ।

सो हेरोइन तस्करी गर्ने प्रयासमा संलग्न दुई जना अमेरिकी नागरिक न्युयोर्कको ब्रोंक्स निवासी ३५ वर्षीय सामुएल सिबु्रक्स र न्युयोर्ककै कार्मेल निवासी २७ वर्षीय कार्लोस बेटनकोर्ट–मोराल्सलाई प्रहरीले पक्राउ गरिएको छ।

तिनीहरूविरुद्ध प्रतिबन्धित लागूपदार्थ तस्करी गरेको तथा सरकारी अधिकारीलाई झुक्याउन खोजेको आरोपमा मुद्दा चलाइएको क्वीन्स जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

सरकारी वकिलहरूका अनुसार गत शुक्रबार राति ब्रोंक्स आईएचओपी रेस्टुराँमा यी दुई जना युवकको भेटघाट भएको र त्यहीं नै तिनीहरूले सरसल्लाह गरी अमेरिकाभित्र तस्करी गरी लागूपदार्थ ल्याउने योजना तयार पारेका थिए।
गोप्य योजनाअनुसार तिनीहरूले प्युटोरिकोका तस्कर समूहसँग सम्पर्क गरी कुकुरसहितको क्रेट आयात गरेका र महँगो मूल्य तिरी जोन एफ केनेडी विमानस्थलस्थित अमेरिकन एयरलाइन्सको प्रायोरिटी पार्सल सर्भिसको सेवा प्रयोग गरेका थिए।

प्रायोरिटी पार्सल सर्भिसमार्फत् मगाइने सरसामानहरूको कमै मात्र भन्सार चेक जाँच हुने गर्दछ। त्यसमाथि पनि कुकुर थुनिएको क्रेट भएपछि भन्सार अधिकारीहरूले कमै शंका गर्ने उपाय तस्करहरूले अपनाएको हुनुपर्ने अधिकारीहरूले बताएका छन्।

यही भन्सार सुविधा, सहुलियतको दुरुपयोग गर्दै सो क्रेटलाई एउटा ट्रलीमा राखेर छिटो छिटो गुडाउँदै भन्सार परिसरबाट बाहिर निकाल्न लागेको शंकास्पद अवस्थामा ती दुई युवकलाई प्रहरीले समातेका हुन्।

नक्कली पीँध फुकालेर खोतल खातलपारी प्लास्टिकले बलियोसँग बेरेर पोका पारिएका दसवटा पार्सलभित्र १० केजी हेरोइन फेला परेको प्रहरीले जनाएको छ। उक्त हेरोइनको प्रचलित बजार मूल्य दस लाख अमेरिकी डलरभन्दा बढी पर्ने अनुमान गरिएको छ। उक्त सबै पार्सलमा खेलकुदका सामग्री उत्पादक कम्पनी नाइकको लोगो र पाँचकोणयुक्त ताराको चिह्न अंकित भएको भेटिएको छ।
न्युयोर्कका यी दुई जना युवकलाई लगाइएको अभियोग अदालतद्वारा प्रमाणित भएमा जनही बीस वर्ष लामो कारावासको सजाय हुनेछ। यसैबीच निर्दोष जनावरलाई प्रयोग गरी यत्रो परिमाणमा लागूपदार्थको तस्करी गर्न लागिएको भन्दै पशुअधिकारवादीहरूले यस घटनाको निन्दा गरेका छन्।