नाचघरमा कविताका गीत


गायिका तथा अभिनेतृ कविता आले जीवनमै पहिलोपटक एकल साँझमा प्रस्तुत भएकी छिन्। गीत गायन र अभिनय दुवै क्षेत्रबाट लोकप्रियता कमाउँदै आएकी आले साँढे तीन दशकको गायन यात्रापछि सोमबार आफ्ना झन्डै डेढ दर्जन लोकप्रिय गीतका साथ एकल साँझमा प्रस्तुत भएकी हुन्।

सांस्कृतिक संस्थान र नेपाल मगर सांस्कृतिक संघले राष्ट्रिय नाचघरमा आयोजना गरेको एकल साँझमा उनले गीत–संगीत मात्र पस्किइनन्, त्यसबाट दर्शकलाई मन्त्रमुग्धसमेत बनाइन्। गायिका आलेले प्रत्यक्ष वाद्यवादनसहित सम्पन्न एकल साँझ जलेवाले पानी बोलको गीतबाट शुरु गरेकी थिइन्।

त्यसपछि उनले आफ्नो चर्चित गीत सरमा सर गाउँदा दर्शकले ताली र हुटिङले साथ दिए।

गीतको भाका र सुरमा दर्शकलाई भुलाउँदै कार्यक्रमलाई अगाडि बढाएकी गायिका तथा अभिनेतृ आलेले दोस्रो चरणमा लगातार तीन गीत प्रस्तुत गरेर मन जितिन्। आइछ्यौ नि, माथिमा माथि र संक्रान्ति बजार बोलका गीत लगातार गाएर दर्शकलाई आफूतर्फ आकर्षित गरिरहिन्। गायन प्रस्तुतिकै क्रममा आफ्ना चर्चित गीत झ्याम्मै चौतारी मायाँ लाउँ भने छैन दौंतरी, चुरोटे दाइले र वरको छायाँ गरी थप तीन गीत सुनाएर दर्शकको साथ बटुलिन्। त्यसपछि उनले हिमालै चुली त्यो पल्लापटी जस्ता चर्चित गीत गाउँदा दर्शकले निरन्तर ताली पिटेर उनलाई साथ दिए। गायक क्रान्ति आलेकी यी गायिका आमाले आफ्नो हिट नम्बर छ भने मायाँ सुटुक्कै लाइदेउ तथा देउडा भाका छ्याम्म छ्याम्म गाउँदा नाचघरको प्रेक्षालयमा छुट्टै रौनकता छाउन पुग्यो।

कार्यक्रममो पर्दा झर्ने बेलमा कविताले मेरो मायाका साथमा आफ्नो सर्वाधिक चर्चित गीत उठी खर काटौं, बसी खर काटौं सुनाएर दशएकको थप माया आफूसँगै लगिन्। नेपाल मगर कलाकार कल्याणकारी कोषका लागि आयोजना गरिएको कार्यक्रममा गायिका कविता आलेलाई स्वरमा कलाकारहरू गणेश रसिक, छत्रबहादुर गुरुङ, तारा थापा र शिला आले खनालले साथ दिएका थिए।
कविताको एकल साँझमा विविधता प्रदान गर्न नीर आले मगरले प्रहसन, निर्मला मगरले नृत्य, नेपाल मगर सांस्स्कृतिक संघका कलाकारले नृत्य र स्वागत गायन प्रस्तुत गरेका थिए।

कार्यक्रममा उनलाई प्रत्यक्ष वाद्यवादनमा भरत नेपाली, लोकराज राई, आकाश गोर्खाली, देव आले, धनबहादुर गुरुङ, पूर्ण मगर, रोहित सुवेदी, भरत बुढाथोकी, भागिरथ सुसलिङ, पोषण घर्तीमगर र अनिल थापामगरले साथ दिएका थिए।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, संस्कृति मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी र नेपाल मगर संघका अध्यक्ष कविराज मगरले कविता आलेको गायन यात्रा र व्यक्तित्वबारे चर्चा गरेका थिए।