विपना मुसीख्वाल
२०७२ को भूकम्पबाट क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माण कार्य उपत्यकाको अरु दरबार क्षेत्रको भन्दा तुलनात्मक रूपमा छिटो भएको छ।
नगरपालिकाले चाँडै बजेट विनियोजन गरेको, स्थानीय बासिन्दाको सहयोग र कामदार तथा कर्मचारीहरु राम्रोसँग खटिएकाले गर्दा यहाँको पुनर्निर्माण कार्य चाँडै भएको पुरातत्व विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताउनुभयो।
भूकम्पबाट क्षति भएको दरबार क्षेत्रको निर्माण कार्य पुरातत्व विभाग र सम्पदा शाखाको समन्वयमा भएको छ। क्षति भएका सम्पदामध्ये हाल पुरातत्व विभागबाट सातवटा र सम्पदा शाखाबाट ८ वटाको पुनर्निर्माण कार्य सञ्चालन भएको छ। जसमध्ये छवटा सम्पदाको निर्माण कार्य सम्पन्न भइसकेको छ।
सम्पदा विभागका इन्जिनियर सूर्य खर्वुजाले भन्नुभयो, ‘भूकम्पपछिको पुनर्निर्माण कार्य योजनाअनुसार गत आर्थिक वर्ष २०७२⁄०७३ मा भक्तपुरका १२ वटा योजना स्वीकृत भएका मध्ये दरबार क्षेत्रको मात्र तीनवटा सम्पन्न भएका छन्। हाल चारवटा सम्पदाको निर्माण कार्य चालु रहेको छ।’ बुट्टेदार काष्ठकला, माँअपाँ, तथा बुट्टेदार ढुंगाजस्ता निर्माण सामग्रीको अभाव भएमा केही समय ढिला हुन सक्ने विभागले जनाएको छ।
यहाँको निर्माण कार्य नियमित र बहुवर्षीय योजनामा सञ्चालन भएको जानकारी दिँदै विभागका राम गोविन्द श्रेष्ठ भन्नुहुन्छ– ‘सम्पदा निर्माणको कार्य अरु निर्माण कार्यभन्दा जटिल छ। परम्परागत शैलीले नै निर्माण कार्य भएकाले गर्दा योग्य, निपुण, दक्ष कामदार आवश्यक पर्छ। साथै निर्माण कार्यमा केही व्यक्तिको सहभागीताले मात्र गर्न सकिन्छ। यसले गर्दा केही समय मात्र ढिला हुन सक्छ।’
दरबार क्षेत्रको पुनर्निर्माणका लागि पुरातत्व विभागबाट १९ करोड २८ लाख र सम्पदा शाखाबाट करिब २ करोड गरी करिब २१ करोड २८ लाख अनुमानित रकम हालका लागि विनियोजित गरिएको छ।
हालसम्ममा त्रिविक्रम नारायण, शंकर नारायण र हरिहर नारायण मन्दिर,बद्री नारायण, रामेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। राष्ट्रिय कला संग्रहालय, फर्सि देग, वत्शाला मन्दिर, दुर्गा मन्दिर ,केदार मन्दिर खौमा गेट माझु मन्दिर, सिलु तवसत्तल लगायतका सम्पदाहरु चालु रहेका छन्।
यहाँको पुनर्निर्माणको कार्य अहिले सम्ममा कति प्रतिशतले काम सकियो भनी नेपाल समाचारपत्रले विभागका इन्जिनियर श्रेष्ठसँग जिज्ञासा राख्दा उहाँको भनाइ थियो– ‘यसको काम यति प्रतिशतले सकिएको छ भन्न मिल्दैन। तर हामीले अपेक्षा गरेभन्दा पनि छिटो भएको छ। हामीले आउँदो २०७५ साल सम्ममा कार्य सक्ने लक्ष्य लिएका छौँ।’ उहाँ भन्नुहुन्छ– ‘यदि निर्माण सामग्रीको कमी भएमा र ठेकदारहरुले विभिन्न कारणहरु देखाइ समयको थप माग गरेमा समय थपिन सक्छ।’ दरबार क्षेत्रको पुनर्निर्माण कार्य मल्लकालीन समयको शैलीबाट भइरहेको छ। यसका लागि आवश्यक सामग्री सम्बन्धित ठेकेदारहरुले नै जुटाउने गरेका छन्।
प्रतिक्रिया