विदेशमा नेपालीको शान


कम्बोडियामा २२ मध्येमा पर्छन् उनी

दीपेन्द्र थापा
(कम्बोडियाबाट फर्केर)

म्बोडियाको सिमरिप ठूलो शहर हो। शहरको दक्षिणतिर पँहेलो रंगको ५ तले भवन छ। त्यही भवनमा द माउन्टेन इन्डियन नामको रेस्टुरेन्ट छ। रेस्टुरेन्टमा अग्लो कद र रातो वर्णका २८ वर्षका व्यक्ति भेटिन्छन्। उनको नाम हो– दीपक अधिकारी।

बाग्लुङे दीपकलाई सायद भाग्यमानी नै मान्नुपर्छ। कम्बोडियामा २२ जना नेपाली व्यवसाय गरेर बसेका छन्। तिनै २२ जनामध्येका एक हुन्— दीपक। आईएसम्म अध्ययन गरेका दीपकले १० जनालाई रोजगारी दिएका छन्। करिब ५० हजार डलरमा उनले शुरु गरे होटल व्यवसाय। उनको रेस्टुरेन्टमा अहिले ३ जना नेपालीसहित १० जना स्टाफ छन्।

५ वर्ष अगाडि काम गर्न कम्बोडिया पुगेका दीपकलाई होटल ब्यवसायले आकर्षित गर्यो। पर्यटकीय क्षेत्र राम्रै होला भनेर रेस्टुरेन्ट खोले। हुनत उनको रेस्टुरेन्ट अहिले सोचेजस्तो चल्दैन। तर, उनलाई विस्तारै चल्छ भन्नेछ।

नयाँ भएकाले होला सोचेजस्तो त छैन, तर यो पुरापुर पर्यटकीय क्षेत्र भएकाले बिस्तारै चल्छ भन्ने आशामा छु, उनले भने– ‘विजनेस हो कहिले घाटा हुन्छ, कहिले नाफा हुन्छ, यसलाई सामान्य रूपमै लिएको छु।’

सिमरिप काठमाडौंजस्तो संसाँझै बन्द हुँदैन र चोरी डकैतीको डर पनि उति धेरै हुँदैन। बेलुका ६ देखि राति ११ बजेसम्म रात्रीकालीन ब्यवसाय सञ्चालन हुन्छ। सडकमा सिसिक्यामेरा जडान गरिएका छन्। त्यसैले त्यति धेरै चोरी तथा डकैतीको डर हुँदैन। दीपक भन्छन्– ‘पैसा हुनेले आनन्दले विजनेस र सपिंग गर्न सक्छन्।

कम्बोडिया अन्कुरबाट मन्दिरको देश हो। अन्कुरबाट मन्दिर विश्वमा हिन्दू धर्मअनुसार आस्थाका हिसाबले धेरै भक्तजन जाने मन्दिरमा १०औं स्थानभित्र पर्छ। यो पूर्ण रूपमा ढुंगाले बनाइएको छ। यो मन्दिरको महत्त्व विश्वभर फैलिनुको कारण हातले कुँदेर बनाइएका मूर्तिहरु हुन्। जो पर्यटकको आकर्षणको केन्द्र भइरहेका छन्। सबै मन्दिरको यहाँ पूजा गरिन्छ। त्यहाँ हामीले अलौकिक ढुंगाको कला देख्न सक्छौँ। अन्य थुप्रै घुम्ने ठाउँ छन्। कोइन माउन्टेन छ, मन्टेसरी टेम्पल छ, दीपक अगाडि थप्छन्, हुन त यहाँ नपाली धेरै आउँदैनन्, एसियालीलाई महँगो लागेको मात्रै हो। वास्तवमा यो महँगो देश होइन।

यहाँ पब स्ट्रिट छ त्यस्तो रेड लाइट एरियाभन्दा पनि यहाँ एसियन लाइफ स्टाइलभन्दा युरोपियन लाइफ चलेको छ। २ हजार डलर लिएर घुम्न आउने हो भने १० देखि १५ दिन घुम्न पुग्छ।

पर्यटन नै कम्बोडियाको आम्दानीको मुख्य स्रोत हो। पर्यटकीय क्षेत्र भएकाले त्यहाँका अधिकांश व्यक्तिलाई धेरै भाषाको ज्ञान छ। कम्बोडिया पानीभन्दा पनि सस्तो वियर पाइने देश हो। ५० सेन्टको एक ग्लास पाइन्छ, दीपक भन्छन्, नेपाली पचास रुपियाँको एक गिलास बियर पाइन्छ जबकी पानीलाई १ डलर पर्छ।