कांग्रेस बैठक सकियो वैशाख ७ भित्रै उम्मेदवार



रामकृष्ण चापागाईं, काठमाडौं
स्थानिय तहको निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी सम्बन्धित क्षेत्रलाई नै दिने निर्णय गर्दै नेपाली कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। बैठकले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद, केन्द्रीय सदस्य, क्षेत्रीय र स्थानीय कार्य समितिले स्थानीय तहको निर्वाचनको उम्मेदवार तय गर्ने कार्यविधि तय गरेको हो।

कांग्रेस बैठकले वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरिसक्नुपर्ने र उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय सभापति र जिल्ला सभापतिलाई दिने निर्णय गरेको छ। केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले जानकारी दिएअनुसार उम्मेदवार छनोटका लागि कांग्रेसले बनाएको कार्यविधिमा सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्ने भनिएको छ।

सर्वसम्मत निर्णय हुन नसके अहिलेसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्नुपर्नेछ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्ने उल्लेख गरिएको केन्द्रीय सदस्य न्यौपानेले बताउनुभयो। उम्मेदवारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्नेछ र क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवारसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्नेछ।

‘उम्मेदवारको नाम सम्बन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ।

त्यस्तै सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्नेछ।’ –केन्द्रीय समितिको निर्णयमा भनिएको छ।

बैठकले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावलाई सहमतिका साथ पारित गर्न नेपाली कांग्रेसले अग्रसरता लिने निर्णय पनि गरेको छ। कांग्रेस बैठकले सरकारले गरेको आईजीपी नियुक्तिमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको ठहर पनि गरेको छ। मंगलबार सम्पन्न बैठकले केन्द्रीय अनुशासन समितिमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र लेखा समितिमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई संयोजक तोकेको छ।
कांग्रेसको विधानअनुसार पार्टीको आचारसंहिता पालना गराउन र अनुशासन कायम राख्न केन्द्रीय अनुशासन समिति गठन गरिएको हो। पाँच सदस्य रहने यो समितिमा चार जना सदस्य चयन हुन बाँकी छ। यो समितिले पार्टी अनुशासन उल्लंघन गर्ने सदस्य र पदाधिकारीहरूलाई ६ महिनासम्म निलम्बन तथा तीन वर्षसम्म निष्काशन गर्ने अधिकार रहन्छ।

कांग्रेसले बैठकको पहिलो दिन नै २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति पनि गठन गरेको थियो। यो कार्यसम्पादन समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्ने काम गर्नेछ। विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिले आफ्नो कामको विवरण कार्यसमिति बैठकमा पेस गरी अनुमोदन गराउने, पार्टी केन्द्रीय कार्यालयअन्तर्गत रहेका सम्पूर्ण विभागहरूको समीक्षा गर्ने र समय समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषयमा समितिका संयोजकहरूसँग विचार विमर्श पनि गर्नेछ।

तत्कालीन सभापति सुशील कोइरालाले गठन गरेको विभिन्न ४२ वटा केन्द्रीय विभागलाई पनि आइतबार नै अनुमोदन गरेको थियो। साथै नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति र महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गर्ने निर्णय पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्