सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको पुष्टि


नवीन श्रेष्ठ, सिन्धुली
साविकको मझुवा गाविस हाल सुनकोशी गाउँपालिका वडा नं. ७ का प्राविधिक सहायक जनक दाहालले सामाजिक सुरक्षा भत्ता अनिमितता गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि जिल्ला समन्वय समितिको एक छानबिन टोलीले छानबिन गरेको छ।

छानबिनको क्रममा समाचारमा प्रकाशित भएको विवरण सत्य भएको प्रमाणित भएपछि अनिमितता भएको रकम ३८ हजार रुपियाँ जिल्ला समन्वय समितिको खातामा फिर्ता गरिएको छ। यस आर्थिक वर्षको पहिलो चौमासिकमा लिएको पेश्की फछर्इैट हुन बाँकी रहेको रकमबाट मृत्यु भइसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा निकासा भएको रकम ३८ हजार प्राविधिक सहायक जनक दाहालले जिल्ला समन्वय समितिको खातामा गत बुधबार नै जम्मा गरेको गाविस सचिव शिव खत्रीले बताए। फर्जी भरपाइ गरेर जिल्ला विकास समितिमा फछर्इैटका लागि बिल पेस गरे पनि तत्कालीन गाविस सचिव अशोक कट्टेलले फछर्इैट गर्न नमानेपछि बाँकी रहेको थियो।

स्थानीय राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि र गाविस सचिवले गरेको स्थलगत अनुगमन तथा स्थानीयको रायसुझाव बुझ्दा प्राविधिक सहायक जनकराज दाहालले समाचारमा प्रकाशित भएअनुसार नै अनियमिता भएको हो भन्ने ठहर गरेको छ।

स्थलगत मुचुल्कामा सामाजिक सुरक्षा भत्ता अनिमितता शीर्षकमा प्रकाशित समाचारअनुसार मिति २०७१ सालदेखि मृत्यु भएकाको नाममा सामाजिक सुरक्षा भत्ता तथा युनिसेफ अन्तर्गत बालबालिका प्रोत्साहन भत्ता र कार्यालयको जिन्सी समानसमेत हिनामिना गरेको, दाहोरो वितरण गरेको, मृत्यु भइसकेका व्यक्तिको नाममा समेत भरपाइ पेस गरेको भनी समाचार प्रकाशनमा आएकाले यस विषयमा सकारवाला व्यक्तिहरूलाई सोधनी गर्दा पत्रिकामा प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकार्षण भएको जनाइएको छ। विगतदेखि सामाजिक सुरक्षा भत्ता रकम हिनामिना हुने गरेको छर्लङ्ग भएको देखिएकाले पत्रिकामा उल्लेखित रकम नेपाल सरकारको राजस्व बेरुजु खातामा जम्मा गर्नुपर्ने, युनिसेफअन्तर्गत बाल पोषण भत्तासमेत जिल्ला समन्वय समितिमा जम्मा गर्न र जिन्सी सामानहरू कार्यालयमा पेस गर्न सहमत⁄मञ्जुर छु भनी सहमति गरेको हुँदा उल्लिखित बेहोरामा हाम्रो मञ्जुरी छ’ उल्लेख छ।

छानबिनको क्रममा हिनामिना गरेको रकम उल्लेख गरिएको छैन।