महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दो


कुमार श्रेष्ठ, बाँके
बाँकेका महिलाले जग्गामा स्वामित्व बढाएका छन्। जिल्ला मालपोत कार्यालय, बाँकेका अनुसार पछिल्लो समयमा ५६ प्रतिशत बढी जग्गा महिलाको नाममा पास भएको छ।

शहर बजारका मात्रै होइन, ग्रामीण भेगका महिलाले पनि जग्गामा स्वामित्व बढाएका छन्। मालपोत कार्यालयको तथ्यांकले सम्पत्ति पुरुषको नाममा मात्रै हुनुपर्छ भन्ने नेपाली समाजको परम्परावादी सोचमा परिवर्तन आएको देखाएको छ।

मालपोत कार्यालय, बाँकेमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८ हजार ९ सय ५८ जनाले जग्गा पास गरेका छन्। तीमध्ये ५ हजार ३९ जना महिला रहेका छन्। महिलामा पनि ३ हजार १८ बजार र दुई हजार २१ जना ग्रामीणभेगका रहेका छन्। फागुनमा मात्रै एक हजार २ सय २३ जनाले जग्गा पास गरेकामा ७ सय २४ जना महिला थिए।

अधिकारीहरूका अनुसार, महिलाले सम्पत्तिमा हक जमाउनुका केही कारणहरू छन्। महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट हुनु, श्रीमान्ले वैदेशिक रोजगारबाट पैसा पठाउनु र यहाँ श्रीमतीले जग्गा किन्नु प्रमुख कारण मानिन्छन्। महँगो जग्गा किन्दा राजस्व छुटका लागि महिलाको नाममा जग्गा राख्ने गरेको पाइएको छ। पछिल्लो समयमा कारोबार भएका अधिकांश जग्गा भने घडेरीका रूपमा रहेका छन्।

सरकारले महिलालाई राजस्वमा छुट दिनुको कारण पनि उनीहरू जग्गाका मालिक बन्न सकून् भन्ने नै रहेको अधिकारीहरू बताउँछन्। सरकारले महिलासँगै जेष्ठ नागरिक, अपाङ्गका लागि पनि छुटको व्यवस्था गरेको छ।

मालपोत कार्यालयका अधिकृत मुक्तिप्रसाद शर्माका अनुसार, चालु आर्थिक वर्षको फागुनसम्ममा दुई करोड ७४ लाख रुपियाँ छुट पाएका छन्। त्यसमा दुई करोड २१ लाख बजार र ५३ लाख ग्रामीण भेगको रहेको छ।

महिलाको सम्पत्तिमा स्वामित्व बढेसँगै विकृतिका बाछिटाहरू पनि देखिएका छन्। वैदेशिक रोजगारमा बसेर पैसा पठाउने श्रीमान्हरू घर फर्किंदा सम्पत्ति र श्रीमती नरहने विकृति देखापरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेमै यस्ता श्रीमान्का दर्जनौं निवेदनहरू परेका छन्। यद्यपि, श्रीमती विदेश गएर पैसा पठाउने र घरमा बसेका श्रीमान्ले मोजमस्ती गरेर सिध्याउने गरेको पनि पाइएको छ। महिलाको नाममा सम्पत्ति हुनेबित्तिकै घरेलु हिंसामा कमी हुने गरेको सम्बद्ध भुक्तभोगीहरू नै बताउँछन्।

पछिल्लो विकृति रोक्नका लागि संयुक्त लाजपुर्जाको अवधारणा अघि सारिएको छ। अधिकारका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले यस्ता अभियानहरू चलाउन थालेका छन्। मालपोत कार्यालयका अधिकृत शर्माले संयुक्त नामसारी पनि भइरहेको बताउनुभयो।

अनलाइन सेवा विस्तार
साविकका नौवटा गाविसमा अनलाइन सेवा सञ्चालन गरेको मालपोत कार्यालय, बाँकेले थप तीनवटामा विस्तार गरेको छ।

पुस २१ गतेदेखि नौवटा गाविसमा अनलाइन सेवा शुरू गरेको मालपोत कार्यालयले चैत्र १३ गतेदेखि कटकुइया, राधापुर र कालाफाँटामा उक्त सेवा विस्तार गरेको हो। अनलाइन सेवा शुरू गरेपछि कार्यालयको काम अझ ढिलासुस्ती भएको सेवाग्राहीको भनाइ छ। मालपोतका अधिकृत मुक्तिप्रसाद शर्माले सर्वर, विद्युत् र दक्षजनशक्ति नहुँदा समस्या आइरहेको बताउनुभयो। कार्यालयले असारसम्ममा जिल्लाभरि नै अनलाइन सेवा विस्तार गर्ने जनाएको छ।