नेपालकै दोस्रो क्यान्टिलिभर पुल पनि गोरखामै

0
Shares

सन्तोष अधिकारी, गोरखा
ब्बत सँग सीमाना जोडिएको जिल्लाको चुमनुब्री गाउँपालिकाको सर्दिभीरमा क्यान्टिलिभर पुल निर्माण भएको छ। बेलायती सहयोगी संस्था डीएफआईडीले २ महिना लगाएर क्यान्टिलिभर पुल निर्माण गरेको हो। उक्त पुल नेपालकै दोस्रो पुल हो। यसअघि डीएफआईडीले नै बूढीगण्डकीले बगाएको यारुबगरको भीरको बाटोमा पनि क्यान्टिलिभर पुल बनाएको थियो। सो क्यान्टिलिभर पुल नमुनाको रूपमा नेपालमा पहिलोपटक प्रयोग गरिएको जिल्ला प्राविधिक कार्यालयले जानकारी दिएको छ।

भीरमा क्यान्टिलिभर निर्माण भएसँगै तिब्बतसँग सीमाना जोडिएका चुम्तेत र छेकम्पारका गाउँलेलाई बाह्रै महिना ओहोर–दोहोर गर्न सजिलो भएको छ। क्यान्टी लिभर पुल नहुँदा गाउँले भीरमा डोरीमा झुन्डेर आवत–जावत गर्न बाध्य थिए। सदरमुकाम गोरखासम्म आउनेजाने चुमनुब्री गाउँपालिका–६ चुम्चेत लोक्पाको सर्दिभीरमा क्यान्टिलिभर पुल निर्माण भएपछि बाह्रै महिना सर्दिभीरको बाटो हिँड्न सक्ने भएको स्थानीय सेराप गुरुङ बताउँछन्।

‘अहिले साह्रै सजिलो भएको छ’, सेरापले भने– ‘भीरमा डोरीमा झुन्डिएर ज्यान धरापमा राखी हिँड्न अब नपर्ने भएको छ।’ हिउँदमा भने खोलामा काठको पुल बनाएर गाउँलेहरूले आवत–जावत गर्ने बाटो बनाउथे। सडक सञ्जाल नजोडिएको उक्त गाउँपालिकामा जान घोडा, खच्चड हिँड्नलाई पनि क्यान्टिलिभर पुलले सहज भएको स्थानीय बताउँछन्। यसअघि डोरीमा झुन्डेर सर्दिभीर काट्नलाई डराउने तथा नसक्नेहरू बर्खामा आवत–जावत गर्न सक्दैनथे। त्यस क्षेत्रका व्यापारीहरूले बर्खायामका लागि हिउँदमै खाद्यन्नहरू लगेर स्टकसमेत राख्ने गर्थे। अब त सदरमुकाम, आरुघाट बाहै्रै महिना आउन–जान सकिने भयो’, सेरापले थपे– ‘हिउँद, बर्खा दुवै याममा खच्चडले खाद्यान्न ओसार्न सक्ने भयो।’ मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकलाई समेत क्यान्टिलिभर पुलले सजिलो भएको छ। यसअघि पर्यटक बर्खायाममा भीर कट्न नसकेर फर्किने गरेका थिए।

डीएफआईडीको आर्थिक सहयोग र सामर्थ नेपालको साझेदारीमा सर्दिभीरमा क्यान्टिलिभर पुल बनेको हो।
‘गएको फागुन २५ गते पुल सम्पन्न भएको हो’, सामथ्र्य नेपालका विकासचन्द्र भट्टराईले भने– ‘यो पुल ९० मिटर लामो छ। गाउँलेहरू खुसी भएका छन्। पुलबाट अहिले यात्रु आवत–जावत गर्न थालिसकेका छन्।’ छिट्टै कुनै कार्यक्रम गरी पुल हस्तान्तरण गरिने भट्टराईले जानकारी दिए। मानिसहरूलाई आवत–जावत गर्न सजिलो होस् भनेर क्यान्टिलिभर पुलसम्म जान मनास्लु संरक्षण क्षेत्र आयोजनाले सिँढी निर्माण गरिदिएको छ। करिब डेढ सय मिटर बाटो एम्क्यापले निर्माण गरिदिएको आयोजनाका प्रमुख राजकुमार गुरुङले बताए।

Skip This