‘क्यान्सर दुई किसिमबाट विकसित हुन्छ’

0
Shares

डा. सेन पाठक
क्यान्सर रोग विशेषज्ञ

उमेरले झन्डै आठ दशक पुग्न लाग्नुभएका प्रसिद्ध अमेरिकी चिकित्सक अमेरिकामा क्यान्सरका विषयमा अनुसन्धान गरी नयाँ–नयाँ विधि पत्ता लगाउने प्रभावशाली व्यक्ति हुनुहुन्छ। मानव जीवनको रक्षा गर्नु आफ्नो धर्म हो भन्दै क्यान्सरका बिरामीका लागि उहाँले जीवन नै दिँदै आउनुभएको छ। अमेरिकास्थित ह्युस्टन टेक्सास राज्यमा रहेको अमेरिकाकै सबैभन्दा ठूलो उत्कृष्ट र प्रभावकारी अस्पताल एमडी एनडरसनमा लामो समयदेखि क्यान्सर के हो र कसरी लाग्छ, यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएको छ। उहाँ बिरामीका लागि मात्र नभई विश्वकै लागि क्यान्सर रोगको पहिचान र निदानका लागि खुला किताब बन्नुभएको छ। प्रस्तुत छ, भारतीय मूलका प्रसिद्ध अमेरिकी चिकित्सक डा. सेन पाठकसँग नेपाल समाचारपत्रका लागि उहाँकै कार्यकक्षमा भगवती तिमल्सिनाले गरेको कुराकानीका मुख्य अंशहरूः
क्यान्सर के हो र कसरी फैलिन्छ ?

बाबुआमाको शरीरमा रहेको क्रोमोजोम बच्चाको सृष्टिको क्रममा प्रत्यारोपण हुन्छ। विशेष गरी मानिसको उमेर पाको नभई क्रोमोजमको माध्यमबाट सेल परिपक्व भएर क्यान्सर छिटो–छिटो विकास हुन्छ र अनियन्त्रितरूपमा सेलमा फैलन्छ। यो नै मानव शरीरमा लाग्ने क्यान्सर हो।

क्यान्सरको मूल माध्यम के हो ?

क्यान्सर दुई किसिमबाट विकसित हुन्छ। पहिलो खानपान र रहनसहनका कारण हुन्छ भने दोस्रो वंशाणुगतरूपमा हुन्छ।

पहिलो र दोस्रोमा के भिन्नता छ ?

पहिलो किसिमको क्यान्सर धेरै मानिसमा हुने गर्दछ। यसले ९५ प्रतिशत क्यान्सरको स्थान लिएको छ। विशेष गरी जंकफुड, लामो समयसम्म फ्रिजमा राखेका खानेकुरा खाने, पीरो, अमिलो, चिल्लो, पोलेको, भुटेको खानेकुरामा जोड दिने र शारीरिक व्यायाम नगर्ने मानिसमा यो क्यान्सर हुन्छ। त्यसै गरी दोस्रो वंशाणुगत भने बाबुआमाको क्रोमोजोमका माध्यमबाट सन्ततीमा प्रत्यारोपित हुन्छ यो ५ प्रतिशतको हाराहारीमा छ।
के क्यान्सर निको नै नहुने रोग हो ?

क्यान्सर चार वटा चरणमा हुन्छ। यो यस्तो रोग हो जुन पहिलो र दोस्रो चरणमा रहेको बिरामीलाई सजिलै सुरक्षित गर्न सकिन्छ। जो तेस्रो वा चौथो चरणमा पुगेपछि आउँछ उसलाई उपचारको माध्यमबाट केही समय लम्ब्याउन या सहज बनाउन सकिन्छ। पूर्णरूपमा निराकरण गर्नु निकै कठिन विषय हो।

क्यान्सर उपचारमा प्रयोग गरिने किमोथेरापीको असर कस्तो पर्छ ?

रेडियो थेरापीअर्थात् किमोथेरापीको असर नकारात्मक पर्छ। यसले सामान्य व्यक्तिमा प्रयोग गरे पनि सिथिल बनाउँछ। तर, क्यान्सर लागिसकेपछि किमोथेरापी नै उपचार विधि हो। किमोथेरापी गर्दा कपाल पूरै झर्ने, वाकवाक लाग्ने, संक्रमणको सम्भावना बढ्ने, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने, सेलहरू सबै मर्ने हुन्छ। त्यसैले यतिबेला बिरामीका लागि स्वस्थ अक्सिजनको आवश्यकता पर्दछ।

अक्सिजन प्राप्त गर्नका लागि के गर्नुपर्छ ?

अक्सिजन प्राप्त गर्नका लागि भारतीय योगगुरू रामदेव जस्ता अन्य धार्मिक गुरूहरूले गराउँदै आएको प्रणायाम अत्यन्तै लाभदायी छ। प्रणायामले मानिसको शरीरमा धेरै अक्सिजन प्रदान गर्छ। त्यसले क्यान्सर सेललाई घटाउन मद्दत गर्छ। यो फोक्सोका लागि अर्थात् क्यान्सरसँग प्रतिरोधात्मक क्षमता हासिल गर्नका लागि धेरै महत्त्वपूर्ण कुरा हो। यसका लागि अक्सिजन थेरापी जरुरी छ।

क्यान्सरको उपचारचाहिं के हो त ?

क्यान्सरको उपचार प्रिभेन्सन हो। बिरामीले रोगसँग लड्न आत्मबल बढाउनुपर्छ र भित्रैदेखि तयार हुनुपर्छ।

बिरामीले के–के कुरामा ध्यान दिनुपर्छ ?

बिरामीले रोगसँग लड्ने क्षमता हासिल गर्नका लागि तनाव कम गर्नुपर्छ। आराम गर्ने, सामान्य व्यायाम गर्ने, खुला हावा अर्थात् अक्सिजनले क्यान्सरका बिरामीलाई मद्दत गर्छ।

अमेरिकामा कस्तो खालको क्यान्सर बढी छ ?

दक्षिण अमेरिकाको चिल्लीमा विशेष गरी नेपाल, भारत र चीनमा जस्तै गल ब्लाडर क्यान्सर बढी छ। यस विषयमा अमेरिकामा एमडी एनडरसनले विशेष प्राथमिकतामा राखेर अनुसन्धान गर्दै छ।

तपार्इंलाई विश्वका वैज्ञानिकहरूले कसरी चिन्दै आएका छन् ?

यो विषय म आफैंले भन्ने कुरा होइन। म सामान्य किसान परिवारमा भारतमा जन्मेर संघर्ष गर्दै थप उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका आइपुगेको व्यक्ति हुँ। मेरो परिवारमा बुबाले ५ कक्षासम्म अध्ययन गरेर सानोतिनो काम गर्नुहुन्थ्यो भने आमाले साँवा अक्षरसम्म पनि चिन्नुभएको थिएन। तर, मेरो बुबाआमाको सपना मलाई पढाएर ठूलो मान्छे बनाउने थियो। म उहाँहरूको सपना पूरा गर्ने उद्देश्यले अमेरिकामा स्वास्थ्य अनुसन्धानका विषयमा छात्रवृत्ति पाएर एमडी गर्न आएको थिएँ। मेरो सिक्ने उच्च चाहना कै कारण नयाँ–नयाँ विषयको खोजी गर्नु मेरो जीवनको अर्को पाटो थियो। यति नै बेला मलाई बेलर इन्टरनेसनल कलेज हुँदै एमडी एनडरसन क्यान्सर सेन्टरमा अनुसन्धान गर्ने अवसर मिल्यो। यो अवसरलाई मैलै निकै राम्रोसँग सदुपयोग गर्ने अठोटका साथ लागिपरेकै बेला फिलाडेल्फिया क्रोमोजोमका को–डिस्कभरर डा. पिटर सी नोबेलले सन् १९८४ मा भन्नुभएको थियो– डा. पाठक क्यान्सरका क्षेत्रमा संसारभरिका प्रसिद्ध वैज्ञानिकको लिस्टमा तेस्रो⁄चौथोमध्येमा एक हुनुहुन्छ। उहाँले स्तन क्यान्सर र मानिसमा हुने अरू क्यान्सर अर्थात् सोलिड क्यान्सर ट्युमरमा महत्त्वपूर्ण योगदान दिएको पेपरमा उल्लेख गर्नुभएको छ। त्यसै गरी तीन पटकसम्म नोबेल पुरस्कारमा सिफारिस भएका व्यक्ति डा. टीसी हुसले डा. पाठक क्यान्सरका क्षेत्रमा ग्रान्ड फादर अफ द मेमेलियन साइटो जेनेटिक्स हुनुहुन्छ भन्नुभएको छ। एमडी एनडरसनले उच्च तहको सफलता पाउनुमा उहाँको ठूलो हात छ। त्यसै गरी अर्का स्वीडेनका वैज्ञानिक डा. फिलिक्स मिटेलम्यानले डा. पाठक अन्तर्राष्ट्रियरूपमै प्रसिद्ध वैज्ञानिक हुनुहुन्छ भनी सार्वजनिकरूपमै उल्लेख गर्नुभएको छ।

तपाईं वर्षमा २ पटक भन्दा बढी भारत जान्छु भन्नुभयो। नेपाल र भारतका नागरिकमा सबैभन्दा बढी कुन खालको क्यान्सर भएको पाउनुभयो ?

नेपाल र भारतको हावापानी, खानपान, रहनसहन मिल्दोजुल्दो भएकाले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर र बच्चाहरूमा रगतको क्यान्सर बढी देखिन्छ। यस्तो खाले क्यान्सर अमेरिकामा भने कम देखिन्छ। एक समय स्तनपान नगराउने र परिवार नियोजनको साधन पिल्स धेरै समय प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सर बढी नै देखिएको थियो।

अमेरिका र अन्य मुलुकमा किन फरक खालको क्यान्सर हुन्छ ?

अमेरिकामा धेरै काम इलेक्ट्री, इलेक्ट्रोनिक माध्यमबाट हुन्छ यस्तो काममा व्यस्त हुने र धेरै फ्रिजरको खाना खाने व्यक्तिलाई थाइराइडको क्यान्सर बढी देखिन्छ। अमेरिकामा पनि थाइराइडको क्यान्सर धेरै हुन्छ र पहिलो चरणमै पत्ता लागेको अवस्थामा शल्यक्रियाको माध्यमबाट निकालेर फाल्न मिल्छ। त्यस्तै चीनमा बढी मात्रामा नेजोफेरोजियल क्यान्सर छ। भारतमा धेरै चिल्लो, मसलेदार, पीरो खाना खानेहरूमा ग्यास्टिक क्यान्सर र गल ब्ल्याडर क्यान्सर बढी छ। त्यस्तै मुस्लिममा इन्डोम्याटरियम क्यान्सर बढी हुन्छ।

तपाईंको अनुभवमा क्यान्सर हुनै नदिनका लागि के गर्नुपर्छ त ?

धुम्रपान, मध्यपान गर्नुहुन्न। जंकफुड, कोकाकोला जस्ता सोडाजन्य वस्तु नखाने, शुद्ध पानी पिउने, स्वच्छ हावा र अक्सिजन लिनुपर्छ। आहारव्यहार, दैनिकीका कारण सुधार गर्न सकिन्छ। नियमित व्यायाम, खानामा ब्यालेन्स गर्नुपर्छ, साकाहारी खाना खाने, ३० देखि ४० मिनेट नियमित हिँड्ने गर्नुपर्छ।

क्यान्सर सर्छ कि सर्दैन ?

क्यान्सर जसलाई लागेको छ उसैलाई छिटो–छिटो वृद्धि हुन्छ तर अरूलाई सर्दैन।

क्यान्सर रोगका बारेमा जनमानमा केको कमी देख्नुहुन्छ ?

जनमानसमा जनचेतनाको अभाव छ। यसलाई न्यूनीकरण गर्नका लागि सबभन्दा पहिला सरकार नै सचेत हुनुपर्छ र विद्यालय तहदेखि नै पाठ्यक्रममा नै क्यान्सर के हो र क्यान्सर हुनै नदिन के–के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा शिक्षा दिनु जरुरी छ।

क्यान्सर कस्ता–कस्ता हुन्छन् ?

क्यान्सरमा सेल छिटो–छिटो वृद्धि हुँदै जान्छ र एक ठाउँबाट अर्को ठाउँमा फैलँदै जान्छ। क्यान्सरमा टेलोमियर बढ्दै जान्छ। जसको शरीरमा क्यान्सर देखिएको छ फरक–फरक प्रकृतिको देखिन्छ। कुनैमा ठूलो मासुको डल्ला पलाउने त कुनैमा रगतमा फैलने, मासुको भागमा फैलने, आन्द्रामा हुने आमाशयको क्यान्सर, छालाको क्यान्सरलगायतका थुप्रै प्रकारका क्यान्सर हुन्छन्।

क्यान्सरका क्षेत्रमा पहिलोपटक प्रवेश गर्दाको बिर्सनै नसक्ने कुनै घटना छ कि ?

मानिसको फोक्सोको क्यान्सर सेल अध्ययन गर्ने क्रममा मानिसको क्यान्सर सेललाई मुसामा सारी अध्ययन शुरु भयो। अध्ययनकै क्रममा मुसामा सारिएको सेलबाट उत्पादित क्यान्सर सेललाई मानिसको सेल सम्झेर फरक–फरक अनुसन्धान सेन्टरमा सेलको वितरण गरियो र क्रोमोजम अध्ययन गरियो। जब डा. पाठकले यो सेलको अध्ययन गरे त्यसपछि यो सेलमा पाइने क्रोमोजम मानिसको भन्दा फरक प्रकृतिको देखिएपछि थप अनुसन्धानमा लागि परे। लामो अनुसन्धान र अन्तक्रियापछि मानवीय क्रोमोजमको सही पहिचान गर्ने व्यक्तिका रूपमा स्थापित हुनुभयो। यो कार्य गर्नु मेरो लागि निकै ठूलो चुनौतीको विषय थियो। एक दिन ग्यालवेस्टनमा एक जना वैज्ञानिकसँग सहकार्य गर्न थालें। यही सयोगले मलाई अर्को ल्याबमा गएर मानिसको क्रोमोजम परीक्षण गरी प्रमाण जुटाउन मद्दत मिल्यो। यही प्रमाणका आधारमा डा. लि क्लार्कले यो कुरालाई निकै प्रशंसा गरे र अमेरिकी डलर १५ करोड ग्रान्ड क्यान्सर अनुसन्धानका लागि छुट्याउने निधो भयो। यसपछि विश्वव्यापीरूपमै उच्च स्थानमा मूल्यांकन गरियो। जसले मलाई शुरुमा काम दिए उनैले पछिल्लो समय मलाई नै क्यान्सर अनुसन्धानका क्षेत्रमा प्रमुख बनाए।

यतिबेला एमडी एनडरसन क्यान्सर सेन्टरमा कति व्यक्ति अनुसन्धानका क्षेत्रमा कार्यरत छन् ?

एमडी एनडरसनमा यतिबेला २२ हजार स्वास्थ्यकर्मी कार्यरत छन्। सम्भवतः क्यान्सरका क्षेत्रमा यो नै विश्वको पहिलो यति ठूलो संस्था हो। जसले विश्वभरिका थुप्रै देशसँग सहकार्यका लागि सम्झौता गरी काम अघि बढाइसकेको छ।

एमडी एनडरसनसँग विश्वका कति संस्थासँग सहकार्य हुँदै छ ?

एमडी एनडरसनले विश्वका २ दर्जनभन्दा बढी संस्थासँग सहकार्यका लागि सम्झौता गरेको छ। भारतको टाटा क्यान्सर सेन्टर, गोवा, स्वामी विवेकानन्द संस्था बेंग्लोर, दिल्ली राज्य क्यान्सर चिकित्सा संस्थान दिल्लीको समेत सहकार्य हुँदै आएको छ।

किन एमडी एनडरसनमा क्यान्सर शब्दमा रातोले काटेको ?

हामी यस्तो चाहन्छौं विश्व मै क्यान्सर भन्ने समस्या इतिहासबाट नै मेटियोस्, त्यसैले क्यान्सर शब्दलाई मेटेर एमडी एनडरसन सेन्टर बनाउन चाहन्छौं। यहाँ मात्र हैन विश्वबाट नै क्यान्सर हटाउने योजनामा लागेका छौं।

भारतमा त धेरै रिसर्च सेन्टर छन् के पाउनुभयो त ?

रिसर्च सेन्टर बोर्डमा मात्र लेखिएको छ तर काममा कतै पनि पाइन्न। तर, अमेरिकालगायतका विकसित मुलुकमा रिसर्च सेन्टर भन्ने बित्तिकै कुन विषयमा केको रिसर्च गर्ने हो स्पष्ट हुन्छ र काम पनि त्यहीअनुसार हुन्छ।

यहाँ अनुसन्धानबाहेक सामाजिकरूपमा कुन–कुन क्षेत्रमा सक्रिय हुनुहुन्छ ?
म क्यान्सर अनुसन्धान गर्ने मात्र नभई धार्मिक र सामाजिक क्षेत्रको संरक्षण र सम्वद्र्धनका क्षेत्रमा पनि सक्रिय हँुदै आएको छु। सर्वप्रथम मैले दीपावलीको समयमा क्यान्सर रोगीको स्वास्थ जीवनको प्राथना गर्दै दीप प्रज्ज्वलन गर्ने वातावरण बनाएको छु। यतिमात्र नभई टेक्सास राज्यमा आफैं पण्डित भएर पनि हिन्दु धर्म, मुस्लिम धर्म, क्रिस्चियन धर्म मान्ने अनुन्यायीका लागि समेत समेट्ने गरी मठ–मन्दिरको स्थापना गरेको छु। यतिबेला टेक्सास राज्यमा मात्र ३५ वटाभन्दा बढी धार्मिकस्थल स्थापना गरेको छु। दशैं, तिहार, शिवरात्रि, क्रिसमस, इदजस्ता धर्मालम्बीलाई समेटेर दीपावली गर्ने र क्यान्सरका बिरामीको स्वास्थ जीवनको कामना गर्ने गरेको छु।

भविष्यमा तपार्इंको योजना के छ ?

मेरो योजना अमेरिका मात्र हैन कम विकसित मुलुक नेपाल, भारतलगायतका थुपै्र ठाउँमा गएर स–साना विद्यार्थीका माझ जनचेतना फैलाउने रहेको छ। यति मात्र नभई आगामी दिनमा आफूले सकेसम्म साना मुलुकसँगको सहकार्य विस्तार गर्दै अघि बढाउने र क्यान्सरका क्षेत्रमा काम गर्दै आएका संघ–संस्था, विश्वविद्यालय, चिकित्सकका माझ अनुभव साटासाट गरी मानव जीवनको रक्षा गर्ने मूल उद्देश्य रहेको छ। म सामान्य किसानको छोरो हँु र सर्वसाधारण मानिसले क्यान्सरका विषयमा ज्ञान हासिल गरून् र रोग लाग्नबाटै जोगिउन भन्ने चाहना छ। क्यान्सर अत्यन्तै महँगो र ज्यानै लिने रोग भएकाले यसको उपचारका लागि हुने खर्चले देशका हरेक विकासका क्षेत्रमा खर्च गर्न सकिनुका साथै गरिबीमा कमी ल्याउनसमेत मद्दत पुग्ने हुनाले राज्यको नीतिमा नै मानिस कसरी स्वस्थ हुने र रोग नै लाग्न नदिने भन्ने सोचमा पुग्नुपर्छ। विशेष गरी धुम्रपान, मध्यपान र कोकाकोला जस्ता वस्तुको पूर्णरूपमा रोक लगाउनुपर्छ। कोकाकोलामा प्रयोग हुने सोडा मानव शरीरका लागि अत्यन्तै हानिकारक भएको प्रमाणित भएकाले भारत सरकारले कोकोकोलामा रोक लगाउने अभियान नै चालिसकेको छ। यसका लागि उपभोक्ता आफैं सचेत हुनु जरुरी छ।
सानएनटोनियो, टेक्सास