गोरखामा ५ सय १६ जनप्रतिनिधि चुनिँदै



नेपाल समाचारपत्र
गोरखा
स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा लागेका छन्। २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा आगामी निर्वाचनमा ५ सय १६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। स्थानीय निकायको निर्वाचन गर्न सरकारले २०७४ वैशाख ३१ गतेका लागि मिति तोकेको छ।

स्थानीय चुनावमा प्रत्येक वडामा १ जना वडा अध्यक्षसहित अन्य ५ जना निर्वाचित हुनेछन्। त्यस्तै जिल्लाको ९ गाउँपालिकाको प्रमुख र उपप्रमुख गरी १८ जना चुनिँदा गाउँपालिकाबाट मात्रै ३ सय ६८ जना चुनिनेछन्। त्यस्तै गरी जिल्लामा रहेको गोरखा नगरपालिकाको १४ वडा र पालुङटार नगरपालिकाको १० वडा गरी कुल २५ वडामा वडा अध्यक्षसहित १ सय २० जना चुनिनेछन्। सोही नगरपालिकाको प्रमुख र उपप्रमुख गरी ४ सय ९२ जना निर्वाचित हुनेछन्।

साथै गाउँसभा र नगरसभाले दुई⁄दुई जनासमेत चयन गर्नेछ। चयन गरेपछि गाउँपालिकामा १८ जना र नगरपालिकामा थप ३ मनोनित भएपछि जिल्लामा निर्वाचित हुने जनप्रतिनिधि कुल ५ सय १६ जना हुनेछन्। आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको चुनावमा जिल्लाभर २ सय १२ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए। २ सय १२ मतदान केन्द्रमा जिल्लाको २ नगरपालिका र ९ गाउँपालिकाका करिब १ लाख ७२ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार प्रत्येक नगरपालिकामा १ जना प्रमुख र १ जना उपप्रमुख हुनेछन् भने गाउँपालिकामा १ जना अध्यक्ष र १ जना उपाध्यक्ष रहनेछन्। गोरखा जिल्लामा ११ वटा एकाइ छन् जसमा ११ अध्यक्ष र ११ जना उपाध्यक्ष र उपप्रमुख प्रतिनिधि चुनिनेछन्।

यस्तै प्रत्येक वडामा १ जना अध्यक्ष निर्वाचित हुनेछन् भने दलित महिलासहित २ जना महिला सदस्य निर्वाचित हुनेछन्। यस्तै अन्य २ जना खुला सदस्य निर्वाचित हुनेछन्। निर्वाचन ऐनअनुसार सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको कुनै पनि वडाको मतदाता अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख हुन पाउनेछन्। तर, वडा अध्यक्ष र सदस्य हुनका लागि सम्बन्धित वडाकै मतदाता हुनुपर्नेछ। केन्द्रीय निर्वाचनमा भने देशभरको कुनै पनि स्थानको मतदाता देशभरिको कुनै पनि क्षेत्रको उम्मेदवार बन्न पाउने प्रावधान छ।

त्यस्तै स्थानीय तहमा सम्बन्धित गाउँपालिका र नगरपालिका वा वडाका मतदाता मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था ऐनले गरेको छ। स्थानीय तह निर्वाचन ऐनअनुसार जिल्ला समन्वय समितिका लागि भने सम्बन्धित जिल्लासभाका सदस्यले सम्बन्धित जिल्लाभित्रका गाउँसभा वा नगरसभाका सदस्यमध्येबाट १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्