मर्दीखोला खानेपानी शुद्धीकरण परियोजना शुरू



नेपाल समाचारपत्र
पोखरा
अब पोखराबासीको घरको घारामा लेदो मिसिएको पानी आउने छैन। खानेपानी स्रोत मर्दीखोलामा शुद्धीकरण परियोजना शुरू गरिएको छ। परियोजना सम्पन्न भएपछि फोहोरयुक्त पानीको आपूर्ति बन्द हुनेछ। परियोजनाअन्तर्गत पोखरामा आउने पानीको मुख्य मुहानमाथि सैदीघट्ट, सिदिङ, लुम्रे, घलेल, खोराको मुख, रिभानमा महिला पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बनाइने भएको छ।

ती संरचना निर्माणपछि पोखरा आउने पानीमा मुहानमा लास जलाइने छैन भने साबुन पानी, लेदो र फोहोर पनि सोझै पानीमा मिसिने छैन। पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानको सहकार्यमा यो परियोजना शुरू भएको हो। परियोजनाका लागि करिब ९० लाख रुपियाँ विनियोजन गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो। आउँदो असार मसान्तसम्म परियोजना सम्पन्न हुने उहाँको अनुमान रहेको छ।

संघले सामाजिक गतिविधिलाई प्रदान गर्ने सहयोग रकम खानेपानी शुद्धीकरणमा खर्चने निर्णय गरेको उहाँले बताउनुभयो। खानेपानी शुद्धीकरण परियोजनाले त्यस क्षेत्रका जनताको तत्कालको आवश्यकता परिपूर्ति तथा जनचेतना अभियानलाई प्राथमिकता दिइएको उहाँले जनाउनुभयो। शुद्धीकरण र जनचेतना अभियान दीर्घकालीन हुने पनि उहाँले प्रस्ट पार्नुभयो। उहाँका अनुसार संघले सो परियोजनालाई प्राथमिकता दिँदै संघका कार्यसमिति सदस्य यदुनाथ अधिकारीलाई संयोजक नै तोकेर काम अघि बढाएको हो। अधिकारी पानीको मुहान क्षेत्रमा पर्ने धम्पुस गाउँका बासिन्दा हुनुहुन्छ। सो क्षेत्रका ६ ठाउँमा बन्ने शौचालय, कपडा धुने ठाउँ, शव दहन गृहको विस्तृत परियोजना रिपोर्ट र डिजाइन तयार तथा निर्माणमा सक्रिया अधिकारीका अनुसार निर्माण कार्य हुने सबै ठाउँमा स्थानीय सरोकार समिति समेत गठन गरिएको छ।

अधिकारीका अनुसार ६ वटा सरोकार समितिमध्ये सैदीघट्टमा टेकबहादुर श्रेष्ठ, रिभानमा जुमबहादुर गुरुङ, लुम्रेमा कृष्ण दवाडी, घलेलमा गुप्तबहादुर गुरुङ, खोराको मुखमा डण्डपाणि चापागाईं र सिदिङमा यमबहादुर तामाङ सदस्य रहनुभएको छ। सरोकार समितिलाई आवश्यकताअनुसार सदस्य मनोनयन गर्ने अधिकारसमेत प्रदान गरिएको समितिका सहसंयोजक तथा संघका कार्यसमिति सदस्य कमल बस्नेतले जनाउनुभयो। परियोजनाको अनुगमन पोखरा लेखनाथ महानगरपालिकाले गर्नेछ। महानगरपालिकाका सिनियर इन्जिनियर शारदामोहन काफ्लेका अनुसार स्थानीय सरोकार समितिहरूले गुणस्तर कायम गर्दै तोकिएको डिजाइनमा निर्माण सम्पन्न गर्नेछन्। समुदायलाई परिचालन र जनचेतना अभिवृद्धिका गर्नका निम्ति फरक ठाउँको कामको जिम्मेवारी त्यही ठाउँका जनतालाई दिइएको उहाँले बताउनुभयो।

जापानी सहयोग नियोग (जाइका) ले करिब ४ अर्ब ५२ लाखको सहयोगमा पोखराको खानेपानी परियोजना सुदृढीकरण परियोजना शुरू हुँदै गर्दा यो शुद्धीकरण अभियान शुरू भएको हो। जाइकाको सहयोगमा शुरू हुने परियोजनाले समेत पोखराबाट करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याउने भएपछि मुहानभन्दामाथिको क्षेत्रमा शुद्धीकरण अभियान चलाइएको हो। पोखरामा आउने पानीको मुख्य मुहानमाथि सैदीघट्ट, सिदिङ, लुम्रे, घलेल, खोराको मुख, रिभानलगायतका गाउँहरू छन्।

खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धीकरणको औपचारिकता पूरा गर्ने गरेको छ। पानी शुद्धीकरणको यो सामान्य प्रक्रियाले वर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने समस्या समाधान हुन सक्दैन। ‘दुःखका साथ भन्नुपर्छ, हामीकहाँ पानी शुद्धीकरणको अर्को विकल्प छैन’, खानेपानी संस्थानका पोखराका निमित्त कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले भन्नुभयो– ‘वर्षायाममा धारामा धमिलो पानी आउने समस्या निराकरण गर्ने हामी असमर्थ छौं।’

प्रतिक्रिया दिनुहोस्