गौशाला, १४ चैत । तराई–मधेस थरुहटलगायत क्षेत्रभित्र राजनीतिक दलहरूले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले महोत्तरी जिल्लामा मधेस आन्दोलनका क्रममा भएका घटनाहरूको आज स्थलगत अनुसन्धान सुरु गरेको छ ।
सो उच्चस्तरीय छानबिन आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित टोलीले मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएको घटनाका प्रत्यक्षदर्शी तथा परिवारजनसँंग प्रत्यक्ष रुपमा भेटघाट गरी जानकारी लिएका छन् ।
२०७२ भदौ २५ र २८ गते जिल्ला सदरमुकाम जलेश्वरमा मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका महोत्तरी गाविस– ५ का रामविवेक यादव, पिगौना– ६ का वीरेन्द्र विच्छा, हात्तीलेट– ९ की रामशीला मण्डल, जलेश्वर– ७ का गणेशप्रसाद चौधरी तथा रोहनकुमार चौधरी एव्म जलेश्वर– १४ का अमितकुमार कापरका परिवार तथा प्रत्यक्षदशीले घटनाका बारेमा टोलीलाई विस्तृत जानकारी गराएका थिए ।
आयोगको टोलीसमक्ष उनीहरुले आन्दोलनको क्रममा प्रहरीको गोली लागी घाइते भएका, अङ्गभङ्ग भएका, कुटपिटबाट चोट लागेका, तोडफोड भएकालगायतका अन्य घटनाका बारेमा समेत जानकारी गराइएका थिए ।
घटनाका पीडित परिवार तथा प्रत्यक्षदर्शीलाई प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गिरिशचन्द्र लालले सम्पूर्ण विषयवस्तुमा स्रोत, परिधि, प्रमाण, घटनास्थल आदि सबैको विषयवस्तुलाई गहन रुपमा अध्ययन गदै जाने र यसको प्रतिफल जनतासामु आउनेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।
अध्यक्ष गिरिशचन्द्र लालको नेतृत्वमा आएका टोलीका सदस्यहरूमा पूर्वन्यायाधीश सूर्यप्रसाद कोइराला, पूर्वअनुसन्धान विभाग प्रमुख नवराज ढकाल, सुखचन्द्र झा र सुजन लोपचन रहेका छन् ।
यसैगरी अनुगमन तथा निरीक्षणका क्रममा आयोगको टोलीले जिल्लाका सम्पूर्ण उजुरीकर्ता, सरोकारवाला, मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्थामार्फत घटनासँग सम्बन्धित फोटो, श्रव्य दृश्य र आवश्यक कागजातका प्रमाणहरू सङ्कलन पनि गरिरहेका छन् । रासस
प्रतिक्रिया