गोरखामा ५ सय १६ जनप्रतिनिधी चुनिँदै



सन्तोष अधिकारी, गोरखा
स्थानीय निकायको निर्वाचनको मिती नजिकिए सँगै जिल्लामा क्रियाशिल राजनितीक दलहरु निर्वाचन केन्द्रीत कार्यक्रममा लागेका छन् । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा आगामी निर्वाचनमा पाँचसय १६ जना जनप्रतिनिधी निर्वाचीत हुनेछन् । स्थानीय निकायको निर्वाचन गर्न सरकारले २०७४ बैशाख ३१ गतेका लागि मिती तोकेको छ ।
स्थानिय चुनाबमा प्रत्येक वडामा एकजना वडा अध्यक्ष सहित अन्य पाँच जना निर्वाचीत हुनेछन् । त्यस्तै जिल्लाको नौ गाउँपालिकाको प्रमुख र उपप्रमुख गरी १८ जना चुनिदा गाउँपालिकाबाट मात्रै ३ सय ६८ जना चुनिने छन । त्यस्तै गरी जिल्लामा रहेको गोरखा नगरपालिकाको १४ वडा र पालुङटार नगरपालिकाको १० वडा गरी कुल २५ वडामा वडा अध्यक्ष सहित १ सय २० जना चुनिने छन । सोही नगरपालिकाको प्रमुख र उपप्रमुख गरी ४ जना गरी चारसय ९२ जना निर्वाचित हुनेछन् । साथै गाउँसभा र नगरसभाले दुई÷दुई जना समेत चयन गर्नेछ ।

चयन गरेपछि गाउँपालिकामा १८ जना र नगरपालिकामा थप ३ मनोनित भएपछि जिल्लामा निर्वाचित हुने जनप्रतिनिधी कुल ५ सय १६ जना हुनेछन् । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको चुनावमा जिल्ला भर दुई सय १२ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

दुई १३ मतदान केन्द्रमा जिल्लाको दुई नगरपालिका र ९ गाउँपालिकाका करिब एक लाख ७२ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार प्रत्येक नगरपालिकामा १ जना प्रमुख र १ जना उपप्रमुख हुनेछन् भने गाउँपालिकामा १ जना अध्यक्ष र १ जना उपाध्यक्ष रहनेछन् । गोरखा जिल्लामा ११ वटा इकाइ छन् जसमा ११ अध्यक्ष र ११ जना उपाध्यक्ष र उपप्रमुख प्रतिनिधी चुनिने छन् । यस्तै प्रत्येक वडामा १ जना अध्यक्ष निर्वाचित हुनेछन् भने दलित महिला सहित २ जना महिला सदस्य निर्वाचित हुनेछन् । यस्तै अन्य २ जना खुल्ला सदस्य निर्वाचित हुनेछन् । निर्वाचन ऐन अनुसार सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको कुनै पनि वडाको मतदाता अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उप–प्रमुख हुन पाउने छन् । तर, वडा अध्यक्ष र सदस्य हुनका लागि सम्बन्धीत वडाकै मतदाता हुनुपर्नेछ । केन्द्रीय निर्वाचनमा भने देशभरको कुनैपनि स्थानको मतदाता देशभरीको कुनै पनि क्षेत्रको उम्मेदवार बन्न पाउने प्रावधान छ ।

त्यस्तै स्थानीय तहमा सम्बन्धित गाउँपालिका र नगरपालिका वा वडाका मतदाता मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था ऐनले गरेको छ । स्थानीय तह निर्वाचन ऐन अनुसार जिल्ला समन्वय समितिको लागि भने सम्बन्धित जिल्ला सभाका सदस्यले सम्बन्धित जिल्ला भित्रका गाउँ सभा वा नगर सभाका सदस्यहरू मध्येबाट एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्