५० वर्ष अघिको पोखरा


धन बस्नेत, पोखरा
पुरानो पोखरा कस्तो थियो? जन्मँदै क्रंक्रिटको जङ्गल मात्रै देखेकालाई के थाहा? पुरानो रहनसहन, आनीबानी अनि लवाइ खुवाइ त झन टाढाको कुरा। जतिबेला चाह्यो त्यतिबेला ‘सेल्फी’ खिच्ने अहिलेको जमाना हो र? घुम्न वा काम विशेषले नेपाल आएका विदेशीले ‘क्लिक क्लिक’ पार्दा जिब्रो टोक्ने अवस्था थियो। हुने खानेका लागि फोटो रवाफ देखाउने साधन थियो उसबेला। हो, त्यही बेलाका फोटाहरू अहिले पोखरा उद्योग वाणिज्य संघको हलमा प्रदर्शनीमा छन्। नेपालमा समाजसेवा गर्न आएका पिस कर्पका स्वयंसेवकदेखि १९८७ सालतिर नेपालकै फोटोग्राफरले खिचेका पोखराका ८४ वटा दुर्लभ फोटाहरू प्रदर्शनीमा समेटिएका छन्। ती दुर्लभ फोटाहरूको संकलनचाहिँ सुनिल उलकले गरेका हुन्। आजभन्दा पचास वर्ष अगाडिका ती फोटो प्रदर्शनीमा राखिएको हो।

पोखरा उद्योग वाणिज्य संघ र पोखरालेखनाथ महानगरपालिकाको सहयोगमा आयोजित प्रदर्शनी १४ गतेसम्म चल्नेछ। प्रदर्शनीको औपचारिक समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले इतिहास जोगाइदिएकोमा खुसी व्यक्त गर्दै सुन्दर पोखराको पर्यटन प्रवद्र्धनका लागि पुराना फोटाहरू सहायक हुने धारणा राखे।

नेपालका पुराना फोटोहरू संकलन गर्दै नेपाल फोटो प्रोजेक्ट नै सञ्चालन गरिरहेका अमेरिकी नागरिक डग्लस हलले कार्यक्रममा भावुक हुँदै नेपालीमै भने– ‘४५ वर्षपछि मैले नेपाली भाषा झन्डै भुलेको, अहिले यहाँ भएका सबै फोटाहरू ५० वर्ष पुराना छन् र ती कपी गर्न सकिन्छ।’

उनको संकेत प्रतिलिपी अधिकार ऐनअनुसार ५० वर्षपछि व्यक्तिले खिचेका फोटो वा गाएका गीतहरू सार्वजनिक सम्पत्ति बन्न पुग्नेतर्फ थियो। उनले आफूले संकलन गरेका सबै २३ हजार फोटोहरू उलकलाई हस्तान्तरण पनि गरे। उनको संग्रहमा ८ सय पोखराका, १ हजार ९ वटा कास्कीका विभिन्न गाउँहरू धम्पुस, घान्द्रकु, लान्द्रुक, सिक्लेसलगायत इलाम, झापा, दार्चुला र बझाङका फोटोहरू पनि रहेका छन्। डग्लस पिस कपर्स नामक अमेरिकी स्वयंसेवी संस्थाको प्रतिनिधित्व गर्दै समाजसेवाका लागि सन् १९६२ तिर नेपाल आएका थिए।

सो अवसरमा बोल्दै अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यले फोटोग्राफी इतिहाससँग पोखराको पनि इतिहास जोडिएको बताए। पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज शर्माले पुरानो सम्झनालाई जोगाई राख्नु चुनौतीपूर्ण कार्य भएको बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेको कार्यक्रमका संयोजक सुनिल उलकले आफूले रहरमै शुरू गरेको संकलनलाई परिस्कृत गर्दै प्रदर्शनीमा राख्न पाएकोमा खुसी व्यक्त गरे। उनले आफूसँग पोखरा र नेपालकै करिब ८४ हजार पुराना फोटोहरू रहेको जानकारी दिँदै ती फोटाहरू मेसो मिलाएर प्रदर्शनीमा राख्ने घोषणा पनि गरे।