डाक्टर अनशन बस्नु बेइज्जती कुराः ओली


काठमाडौं, (नेस)
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरी पेसामा हड्ताल, अनशन बसेर आफ्नो माग पूरा गर्नुजस्तो बेइज्जती अरू नहुने बताउनुभएको छ। डाक्टरमा राजनीति बढ्यो भन्ने प्रश्नलाई उत्तर दिँदै उहाँले भन्नुभयो– ‘डाक्टर पनि आफ्नो मान्छे र अर्काेको मान्छे भनेर च्याप्ने प्रचलनको म विरोधी हँु।’

घोस्ट राइटिङ नेपालका तर्फबाट प्रकाशित डाक्टर भीष्म प्रसार्इंको पुस्तक ‘आफ्नै जीवनलाई फर्केर हेर्दा’ विमोचन कार्यक्रमको प्रमुख अतिथिको रूपमा आएका ओलीले सो कुरा बताउनुभएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओमानका लागि प्रस्तावित राजदूत शर्मिला पराजुली ढकाल, डाक्टर भोला रिजाल, डाक्टर एवं डीन जगदीशचन्द्र अग्रवाल, डाक्टर वंशीधर मिश्रलगायतले बोल्नुभएको थियो। कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गर्नुभएको थियो।