सगरमाथा चढ्न कस्सिए वृद्ध


धन बस्नेत, पोखरा

शिरमा कालो भादगाउँले टोपी। हातमा राष्ट्रिय झण्डा। उमेर पनि चार बीस छ वर्ष पुगेको छ। तर जोश र जाँगर अनि आत्मविश्वास भने युवावस्थाको भन्दा कम छैन। आत्मविश्वासकै कारण उनी फेरि विश्वकै शिर सगरमाथा आरोहण गर्ने अभियानमा छन्।
७६ वर्षमा मीनबहादुर शेरचनले सगरमाथा चढेका थिए। एक दशकपछि फेरि शेरचन सगरमाथामा पाइला राख्ने आँट गरिरहेका छन्। उनको आँटलाई सबै तह र तप्काले सहयोग र शुभेच्छा व्यक्त गरेका छन्। शेरचनले सन् २००८ मे २५ का दिन सगरमाथा चढेर सबैभन्दा पाको आरोहीका रुपमा गिनिज बुकमा नाम लेखाउँदै विश्व कीर्तिमान कायम गरेका थिए।

तर सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान तोडिदिए। आफूले कायम गरेको कीर्तिमानलाई फेरि लेखाउने धुनमा उनको सगरमाथा अभियान अघि बढेको छ। सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन्। सन् २०१५ मा भने भूकम्पका कारण उनी नाम्चेबाटै फर्किए।

पृथ्वीको रक्षा, विश्व मानव कल्याण र विश्वशान्तिको कामनासहित सगरमाथा आरोहण गर्न लागेको उनी बताउँछन्। उनको आत्मविश्वास बलियो छ। हरेक दिन बिहान शारीरिक व्यायाम गर्ने उनी उमेर ढल्किए पनि फुर्तिला र जोशिला छन्।

पुनः आरोहणका लागि आगामी वैशाख १ गते त्यसतर्फ प्रस्थान गर्ने उनी सुनाउँछन्। उनको सहयोगार्थ रकम संकलनको काम भइरहेको छ। यसै क्रममा शुक्रबार थकाली सेवा समिति पोखरामा आयोजित कार्यक्रममा २ लाखभन्दा बढी रकम संकलन ग¥यो। थकाली सेवा समिति पोखराका अध्यक्ष विश्वमोहन गौचनले शेरचनको आरोहण सहयोगार्थ ५० हजार रुपियाँ प्रदान गरे। त्यस्तै नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले १ लाख रुपियाँको चेक हस्तान्तरण गरे। अन्य विभिन्न व्यक्तिबाट पनि सहयोग रकम संकलन गरिएको छ।

आरोहणको लागि आर्थिक सहयोग संकलनको संयोजक गरिरहेका जितबहादुर घर्तीमगरका अनुसार शेरचनको आरोहणका लागि झन्डै १ करोड रुपियाँ लगत अनुमान गरिएको छ। अहिलेसम्म झन्डै ४० लाख रुपियाँ संकलन भएको र बाँँकी रकम संकलनको काम जारी रहेको उनले बताए।

सहयोगका लागि देश विदेशमा रहेका नेपालीहरूलाई अपिल गरिएको संयोजक घर्तीमगरले जानकारी दिए। सरकारी सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको उनले बताए।

म्याग्दीको भुरुङ तातोपानीमा जन्मेका उनी अहिले ललितपुरको सानेपामा बस्छन्। त्यसकै तयारीका लागि भन्दै उनी काठमाडौंदेखि पोखरा २ सय किलोमिटर चार दिन लगाएर हिँडे। त्यतिले पनि मन नमानेपछि चीनको उत्तरी नाका मुस्ताङदेखि भारतको दक्षिणी नाका सुनौलीसम्म ९ दिन लगाएर हिँडे।

उनले मेची महाकाली यात्रा पनि गरे। मेचीदेखि महाकालीसम्म १ हजार २८ किलोमिटरको दूरी उनले २० दिनमा पार गरे। त्यसलगतै रसुवाको चुली आरोहण गरेपछि उनी सगरमाथा आरोहणमा गए र बाजी मारे। ७६ वर्ष ३ सय ४० दिनमा उनले पहिलोपटक सगरमाथाको चुचुरो चुमेका थिए।

प्राविधिक सल्लाहकार शिव सापकोटाका अनुसार शेरचनको आरोहण टोलीमा ६ जना अनुभवी गाइड संलग्न हुनेछन्। शेरचनको स्वास्थ्य अवस्था र मौसम हेरेर आरोहण शुरू गरिने उनले बताए। उनको आरोहण राष्ट्रियतासँग पनि जोडिएकाले सहयोगीतर्फबाट सबै प्रयास हुने उनको प्रतिबद्धता छ। काठमाडौंबाट वैशाख १ गते लुक्ला प्रस्थान गर्ने र सम्भवतः वैशाखको अन्तिम वा जेठको पहिलो सातामा उनी चुचुरोतर्फ प्रस्थान गर्ने तयारी छ।