गोरखा अस्पतालमा फार्मेसी सञ्चालन



सन्तोष अधिकारी, गोरखा

ल्ला अस्पताल गोरखाले फार्मेसी सञ्चालनमा ल्याएको छ। बिरामीलाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन श्रीराम तिवारीले जानकारी दिए। फार्मेसीको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उद्घाटन गरेका हुन्। २०७० साल चैत २५ गते पनि तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेर जिल्ला अस्पतालमा फार्मेसी सञ्चालन गरेका थिए। फार्मेसीमा बस्ने कर्मचारीले आर्थिक हिनामिना गरेपछि गत असारबाट फार्मेसी बन्द भएको थियो।

नेपाल सरकारको नीतिअनुसार सुलभ मूल्यमा औषधि उपलब्ध गराउन अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भएपछि गोरखामा पनि शुरू गरिएको हो। जिल्ला अस्पतालको फार्मेसीमा अहिले सुलभ मूल्यका १ सय ५५ थरीका औषधि पाइन्छ। त्यस्तै निःशुल्क वितरण हुने ३७ थरीका औषधि पनि सोही फार्मेसीबाट पाइनेछ।

‘अब बिरामीले सुलभ मूल्यमा २४ सै घण्टा औषधि किन्न पाउँछन्’, मेडिकल सुपरिटेन्डेन तिवारीले भने– ‘औषधिमा लेखिएको मूल्यभन्दा २० देखि ३० प्रतिशत कम मूल्यमा यहाँ औषधि पाइन्छ। यसलाई २४ सै घण्टा सञ्चालन गर्न विकास समितिमार्फत् र नेपाल सरकारमार्फत् गरेर पाँच जना कर्मचारी पनि भर्ना गरिसकेका छौं। उनीहरूले सेवा दिन थालिसकेका छन्। यहाँ औषधि किन्नेहरूले इ–बिल पाउँछन्।’

जिल्ला अस्पताल गोरखामा अहिले १४ जना डाक्टर कार्यरत छन्। ७ जना विशेषज्ञ भने कुनै पनि उपस्थित नभएको तिवारीको भनाइ छ। अहिले उनीहरूबाट हुने काम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जिल्ला अस्पतालमा आउने चिकित्सकबाट भइरहेको छ। अस्पतालले फार्मेसी सञ्चालन गर्न अहिले ५ लाख रुपियाँ बराबरको औषधि खरिद गरेको छ भने केही औषधि पहिले नै भएकाहरूबाट काम चलाइएको छ।

अस्पतालले सेवा बढायो

जिल्ला अस्पतालले यसअघि प्रदान गर्दै आएको सेवासुविधालाई पनि बढाएको छ। यसअघि अस्पतालमा भिडियो एक्सरे, सुत्केरी गराउनुपर्ने, हातखुट्टा भाँचिए प्लास्टर गर्नुपर्नेलगायतका बिरामीलाई रिफर गरी भरतपुर अथवा काठमाडौंका प्राइभेट अस्पतालमा पठाइने गरेको थियो। १५ दिनअघि मात्रै गोरखा अस्पतालको मेडिकल सुपरिटेन्डेन भएर आएका तिवारीले यहाँ उपलब्ध चिकित्सकले गर्न सक्ने सबै उपचार यहीं गर्ने वातावरण अस्पताल विकास समितिसँगका समन्वयपछि तयार पारेका हुन्। त्यस्तै जिल्लास्थित रेडक्रस सोसाइटी, रोटरी क्लब, रोट्रयाक्ट क्लबको सहयोगमा इमरजेन्सी ब्लड बैंक सञ्चालन गर्नका लागि समेत रेफ्रिरिजेटर खरिद गरिसकेको तिवारीले जानकारी दिए।

शुरू भयो शल्यक्रिया

अस्पतालले शल्यक्रिया सेवा पनि शुरू गरेको छ। अहिले अस्पतालमा आधा शरीर बेहोस पारेर गर्ने शल्यक्रियासमेत हुन थालेको छ। शल्यक्रिया गरेर सुत्केरी गराउनुपरे बिरामीले गोरखा अस्पतालबाहेकका अस्पताल धाउनुनपर्ने भएको हो। हर्निया, हाइड्रोसिल, शरीरमा भएको गाँठागुँठी निकाल्ने, छाला तास्ने, ठूला घाउहरूको शल्यक्रिया शुरू गरिएको छ। जनरल सर्जरीको ठूला केसबाहेकका सबैको शल्यक्रिया शुरू गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष बाबुराम थापाले बताए।

प्रतिक्रिया दिनुहोस्