पर्यटकीय होटलमा ४ हजार बेड थपिँदै



दीपेन्द्र थापा, काठमाडौं

नेपालको पर्यटन क्षेत्रमा करिब ५ लाख ५० हजार जनाले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। होटल संघ नेपालमा १ हजार १५० होटल दर्ता भएका छन्। हानको केन्द्रमा ३५० भन्दा बढी दर्ता भएका छन् भने हानका १२ शाखामा ८२३ होटल दर्ता भएको हानले जनाएको छ।

नेपालको होटल क्षेत्रमा मात्र करिब २० हजारले रोजगार पाएको बताइन्छ। त्यसमध्ये ३० प्रतिशत महिला रहेका छन्। पर्यटन विभागमा भने करिब २२ सय होटल दर्ता भएका छन्। विभागमा दर्ता नभएका समेत गर्दा नेपालभर ३ हजारभन्दा बढी ठूला होटल रहेको अनुमान छ। ‘होटलको संख्या थपिँदै जानु राम्रो हो र होटलको संख्या थपिनु भनेको रोजगारी पनि बढ्दै जाने हो तर पर्यटन भित्र्याउन पनि सबै निकायले ध्यान दिनुपर्छ।’ होटल संघ नेपाल (हान) का महासचिव तथा प्रवक्ता विनायक शाहको भनाइ छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै शाहले भन्नुभयो–‘पर्यटकको आगमनमा वृद्धि तथा आन्तरिक पर्यटनको घुमफिर क्रम बढेसँगै रोजगारी पनि त्यही अनुपातमा बढ्दै जान्छ।’ विश्व व्यापार संगठनका अनुसार एक जना पर्यटक आउँदा होटल, सवारी, पथ प्रदर्शकलगायत औसतमा ११ जनाले रोजगारी पाउँछन्।

हानमा आबद्ध भएका होटलमा अहिले ३८ हजार बेड क्षमता रहेको छ भने ४ हजार बेड थपिँदै छ। यी बेडमध्ये करिब ७५ प्रतिशत भने काठमाडौं, १६ प्रतिशत पोखरा र ५ प्रतिशत चितवन रहेका छन्। बाँकी भैरहवा, नेपालगन्ज, धनकुटालगायत अन्य सम्भावित क्षेत्रमा थपिँदै गएको प्रवक्ता शाहले बताउनुभयो।
अहिले सिजन भएर पनि औसतमा ३८ हजारको ६० प्रतिशत ‘अकुपेन्सी’ छ। प्रवक्ता शाहका अनुसार पर्यटक होटलको ४५ प्रतिशत भने आन्तरिक पर्यटनले धान्दै आएको छ। माघसम्मको तथ्याङक हेर्दा करिब ४२ लाख आन्तरिक पर्यटकले घुमफिर गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०१६ मा करिब ७ लाख ३० हजार पर्यटकले नेपाल भ्रमणगरेका थिए।

‘नेपालमा सन् २०२० सम्म नेपालमा वार्षिक १८ लाख पर्यटक धान्ने हामीसँग होटल तयार हुँदैछन्। हामीले उक्त अवधिमा ल्याउने योजना छ,’ प्रवक्ता शाहले भन्नुभयो–‘यसलाई हामीले सम्बोधन गर्न सकेनौं भने हाम्रो लगानी खेर जान्छ। तर, हामीमा इच्छाशक्ति हुने हो भने यो महत्वाकांक्षी योजना सफल हुन्छ।’ हामीलाई प्रकृतिले दिएको सम्पदालाई विश्व सामु प्रचारप्रसार गर्नसके मात्रै पनि नेपालमा पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ छ।

‘सरकारले गर्ने अन्तर्राष्ट्रिय सभा सम्मेलनमा आएका भीआईपीहरूलाई एयरपोर्टबाट सोल्टी होटलसम्म पुग्न कम्तिमा २ घण्टा लाग्छ, बाटो खनेर बिगारिएको छ, पाइप पुरेको महिनांै बिति सक्दा पनि सडक बनाइएको छैन, हप्तैपिछे सयौंको संख्यामा सवारी थपिएका छन्, प्रदुषणले शहरको रूप रङ फेरिएको छ। यस्तो देखेर गएका पर्यटकले कस्तो नेपालको सन्देश लैजान्छन् विश्व बजारमा र व्यापार प्रवद्र्धन हुन्छ ?’ शाहको भनाइ छ।

हानका निर्देशक प्रवेश अर्यालका अनुसार प्रचारप्रसार राम्रो हुने हो भने सफलता मिल्छ। यसका लागि सरकारले सहज वातावरण निर्माण गर्नुका साथै समन्वयकारी भूमिका खेलिदिनुपर्ने अर्यालले बताउनुभयो। नेपालको पर्यटन प्रवद्र्धनका लागि ल्याटिन अमेरिकी र पश्चिमा मुलुकमा प्रचारप्रसारको आवश्यकता रहेको अर्यालको भनाइ छ। उहाँ भन्नुहुन्छ–‘अहिलेसम्म व्यवसायीले नै आफ्नै स्रोतमा प्रचारप्रसार गरिरहेका छन्, सरकारले प्रचारप्रसार गरिदिनुपर्ने हो। त्यो नभए वातावरण बनाएर समन्वयकारी भूमिका खेलिदियो भने पनि निजी क्षेत्रलाई पहुँच र प्रवद्र्धन गर्न सहज हुन्छ।’

प्रतिक्रिया दिनुहोस्