भारत जानेको अभिलेख राख्न शुरू



कुमार श्रेष्ठ, बाँके
नेपालगन्ज नाका भएर भारतमा काम गर्न जाने नेपालीको अभिलेख राख्न शुरू गरिएको छ। मध्यपश्चिमका जिल्लाहरूबाट दैनिक ठूलो संख्यामा भारत जाने नेपाली कामदारको लगत राख्न शुरू गरिएको हो।

नाम, ठेगाना, के कामका लागि, भारतको कुन ठाउँ र सम्पर्क नम्बरसमेत खुलाएर भारत जाने नेपालीको अभिलेख राख्न थालिएको छ। अभिलेखले वर्षेनी यो नाकाबाट कति नेपाली रोजगारका लागि भारत जाँदा रहेछन् भन्ने खुल्ने सम्बद्धहरू बताउँछन्।

मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी ठूलो संख्यामा नेपालीहरू रोजगारका लागि भारत जाने गरेको पाइन्छ। कति जान्छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन। रोजगारीमा गएका नेपालीको सुरक्षा अवस्था बुझ्नका लागि अभिलेखले काम गर्ने अधिकारीहरूको भनाइ छ।

केही वर्षअघि भारतको उत्तराखण्डमा बाढी र पहिरोबाट हजारौं हताहती हुँदा नेपाली पनि धेरै परेका थिए। वर्षौं बिते पनि त्यो घटनामा कति नेपालीको ज्यान गयो भन्ने अझै खुल्न सकेको छैन। नाकामा अभिलेख राखेको भए हताहतीको संख्या पत्ता लगाउन सजिलो हुन्थ्यो।

नेपालीहरू भारतको कुन ठाउँमा बढी रोजगारीमा जान्छन्, के गर्छन्, कति समयपछि फर्किन्छनलगायतका कुराहरू बुझ्न अभिलेखले मद्दत पुर्याउने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो। ‘फाल्गुनदेखि हामीले भारतमा रोजगारीमा जाने नेपालीको अभिलेख राख्न शुरू गरेका छौं, यसले नेपालीहरू भारतका कुन ठाउँ, के काम गर्न जान्छन् भन्ने थाहा हुन्छ।’ –प्रजिअ पन्थले भन्नुभयो।

नाकामा रहेको जमुनाहा प्रहरीले यस्तो अभिलेख राख्ने गरेको छ। प्रहरीले यसअघि पनि चाडबाडका बेलामा भित्रिने र बाहिरिनेको लगत राख्ने गरेको थियो। बाह्रैमास जानेको अभिलेख भने पहिलो पटक राख्न थालिएको छ।

शाही शासनकालमा नेपालगन्ज नाकाबाट बाहिरिने र भित्रिनेको इन्ट्री राख्ने गरिन्थ्यो। त्योसँग अहिलेको अभिलेखको मेल नखाए पनि यसले कुन जिल्लाका कति मान्छे, भारतमा काम गर्न जाँदारहेछन् भन्ने खुल्नेछ।

मध्यपश्चिमका दैलेख, जाजरकोट, रोल्पा, रुकुम, सल्यान, प्युठान, कालिकोट, मुगु, दाङ, बर्दिया जिल्लाका मानिसहरू रोजगारका लागि भारत जाने गर्दछन्। बाह्रैमास भारतमा काम गर्नेे या खेतीपातीको सिजनलाई छलेर काम गर्न जान्छन्, नेपालीहरू। आफ्नो उत्पादनले बाह्रैमास खाना नपुग्ने नेपालीहरू चाडबाडमा फर्किने गरेर भारतमा काम गर्न गएको पाइन्छ। छ⁄नौ महिना खाना पुग्नेहरू काम सकेर भारत काम गर्न जान्छन्। पहाडी जिल्लाका नेपालीहरू भारतमा रोजगार गर्ने र त्यहाँको कमाइले गाउँमा खाद्य संस्थानले उपलब्ध गराएको चामल किनेर खाने गरिन्छ।

चाडबाडमा दैनिक २० हजारबढीको ओहोरदोहोर नेपालगन्ज नाकाबाट अरु बेला पनि दैनिक ३ सय बढी नेपालीहरू रोजगारका लागि भारततिर जाने गर्दछन्। कमाइ गर्न भारत पुगेका नेपालीहरू फर्किंदा लुटिने घटना पनि रोकिएको छैन।
पहाडी जिल्लाका नेपालीहरू प्रायः सिमला, कालाफहाड, लद्दाक, गुजराजलगायतका ठाउँमा काम गर्न गएको पाइन्छ। यी ठाउँमा गएका नेपालीले प्रायः चुनौतीपूर्ण काम गर्ने जानकारहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्