राजदूतमा १२ जना पास समितिले कसैलाई रोकेन



काठमाडौं, (नेस)
विगतमा विवादास्पद छबिका भनेर प्रचार गरिएका समेत सबै १२ जना राजदूतमा सिफारिस गरिएका व्यक्तिलाई संसदीय सुनुवाइ विशेष समितिले बुधबार अनुमोदन गरेको छ। बुधबार सुनुवाइ सम्पन्न गरेको समितिले प्रस्तावित सबै जनाको नाम अनुमोदन गरेको हो।

समितिले सबैको नाम अनुमोदन गरेसँगै सबैको राजदूत नियुक्तिको प्रकृया अघि बढ्ने भएको छ। बैठकले १२ जनाको नाम सर्वसम्मवत रूपमा अनुमोदन गरेर थप प्रकृया अघि बढाउन सरकारलाई निर्देशन दिएको समितिका सदस्य चीनकाजी श्रेष्ठले बताउनुभयो। अब परराष्ट्र मन्त्रालयले सबैको नाम सम्बन्धित मुलुकमा ‘एग्रिमो’ स्वीकृतिका लागि पठाउनेछ।

सम्बन्धित मुलुकहरूले प्रस्तावित राजदूतहरूको एग्रिमो स्वीकृत गरेमा राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने प्रावधान छ।

वर्तमान सरकारले नेपाली कांग्रेसकातर्फबाट ५, माओवादीबाट ४, राप्रपाबाट २ र फोरम लोकतान्त्रिकबाट एक जनालाई राजदूतका लागि सिफारिस गरेको छ। यसअघि कांग्रेसको कोटाबाट संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस आशा लामा विवादमा तानिएपछि उहाँको नाम सरकारले फिर्ता लिएको थियो।
नेपाली कांग्रेसकातर्फबाट अर्जुन जंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइरालालाई कतारको राजदूत सिफारिस गरेको छ।

त्यसैगरी माओवादीकातर्फबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अस्ट्रेलिया, महेन्द्र सिंह साउदी अरेबिया र पदम सुन्दासलाई बहराइनका लागि राजदूत सिफारिस गरेको छ।

राप्रपाकातर्फबाट प्रतिभा राणा जापान र निरन्जन थापा इजरायलसहित फोरम लोकतान्त्रिकातर्फबाट शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्