नक्कली नागरिकता लिएको आरोपमा चिनिया युवती पक्राउ



चिरञ्जीवी मास्के, दोलखा ।

चिनिया नागरिक याङडोन अहिले किर्ते गरी नेपाली नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाको हिरासतमा रहेकी छन् ।

शरणार्थीको रुपमा अवैध ढङ्गले नेपाल प्रवेश गरेकी याङडोनले भारतमा निर्वासनमा रहेका धर्म गुरु दलाई लामालाई भेट्न जान सजिलो हुन्छ भनेर नेपाली नागरिकता बनाएको बताएकी छन् । थोरै नेपाली र अंग्रेजी बोल्ने याङडोन दलालको भनाईमा लागेर नेपाली नागरिकता बनाएकोले समस्यामा परेको बताउछिन् ।

याङडोनको बाबु आमा दुबै लामो समय देखि शरणार्थीको रुपमा स्वीटजरल्याण्डमा बसोबास गर्छन् । उनीहरु आफ्नो जन्मथलो चिनको लासा आएको बेला याङडोनको जन्म भएको थियो । याङडोन लासामा जन्मिएकोले स्वीटरल्याण्डमा उनले प्रवेश पाउन सकिनन् ।

प्रहरीका अनुसार उनी तिब्बती शरणार्थीको रुपमा लासाबाट अवैध ढङ्गले नेपाल प्रवेश गरेकी थिईन । भारतमा निर्वासित दलाई लामालाई भेट्न चाहेकी याङलाई एक भुटानी युवतीले नेपाली नागरिकता भयो भने भारत जान सहज हुने बताए पछि उनले अर्को एक महिला मार्फत नेपाली रुपैया ४५ हजार दिएर नेपाली नागरिकता बनाएको पाईएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए ।

नेपाल बसाईको क्रममा उनको भेट एक स्वीटजरल्याण्डका युवासंग भएको थियो । पछि उनीहरु प्रेममा परे र विवाह गरी भारत हुदै स्वीटरजरल्याण्ड गएका थिए । स्वीटरजरल्याण्डमा तीन बर्ष संगै विताएका उनीहरुको डिभोर्स भएपछि डिपेन्डेण्ड भिसामा गएकी याङलाई स्वीटरजरल्याण्ड सरकारले नागरिकताको आधारमा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

नेपाल फर्कने क्रममा अध्यागमन विभागले माघ २० गते एयरर्पोटबाटै याङलाई पक्राउ गरेको थियो । उनको साथबाट दोलखामा जारी गरिएको नागरिकता भेटिएपछि उनलाई अध्यागमन विभागले फागुन २५ गते थप अनुसन्धानको लागि दोलखा प्रहरीको जिम्मा लगाएको थियो ।

याङडोनको साथमा रहेको नागरिकतामा नाम याङडोन शेर्पा लेखिएको छ भने जन्म स्थान जिरी गाविस वडा नम्बर १ दोलखा उल्लेख छ । नागरिकतामा बाबुको नाम राशी राप्के शेर्पा र आमाको नाम पेमा शेर्पा उल्लेख गरिएको छ । जारी मिति २०६३ मङ्सीर ८ गते रहेको २२८८१ नम्बरको नागरिकतामा जारी गर्ने अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रोशन ज्ञवाली उल्लेख छ ।

प्रहरी नायव उपरीक्षक रविन कार्की अनुसन्धानको क्रममा उक्त नागरिकता दोलखा प्रशासन कार्यालयबाट जारी भएको कुनै प्रमाण नभेटिएको र उनको जन्म स्थान उल्लेख भएको जिरी १ मा उनको बाबु आमा उल्लेख भएको नामका मानिस समेत कोहि नभेटिएको बताउछन् ।
प्रहरीका अनुसार उनले लिएको नागरिकता काठमाडौँमै कुनै दलालले बनाईदिएको देखिन्छ । उनलाई आवश्यक अनुसन्धान पछि जिल्ला अदालत दोलखामा पेश गरीने दोलखा प्रहरीले जनाएको छ । उनले बोकेको नागरिकता दोलखाबाट जारी भएको नदेखिएपछि नक्कली नागरिकता बनाई दिने गिरोहको खोजि हुन्छ की हुदैन भन्ने बारेमा भने प्रहरीले केहि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्