भूकम्प पीडितलाई चैत भित्रै आवास अनुदान रकम दिइने



लमजुङ, (नेस) ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्प पीडितका लागि दिने भनिएको आवास निर्माण अनुदान चैत महिना भित्रै दिने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले सदरमुकाम बेसीशहरमा निजी आवास अनुदान सम्झौता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सो जानकारी दिएको हो ।

लमजुङमा केन्द्रीय तथ्यांक विभागमार्फत जिल्लाका सबै नगरपालिका दुई तथा तत्कालिन गाविस ५२ गाविसमा भूकम्पबाट क्षति भएका घरहरुको लगत संकलन कार्य सकिएको छ । सो तथ्यांक आएसँगै प्राधिकरणले भूकम्प पीडितका लागि दिने भनिएको आवास निर्माण अनुदान चैत महिना भित्रै दिने प्रतिबद्धता जनाएको हो । प्राधिकरणले आवास अनुदान सम्झौताबारे राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, तत्कालीन गाविसका सचिवहरू तथा गाविसका सामाजिक परिचालकलाई अभिमुखिकीकरण गर्दै सो जानकारी दिएको हो ।

अभिमुखिकीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले छिटो भन्दा छिटो पीडितहरुले आवास बनाउन सक्नेगरि अनुदान सम्झौता गरि रकम वितरण गरिने बताउनुभयो । यस्तै, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले सबै पक्ष मिलेर अनुदान सम्झौता देखि अनुदान वितरणसम्म एकसाथ लागि पर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँ गाउँमा खटिएका सर्भेयर इन्जिनियरले गरेको सर्वेका आधारमा जिल्लामा २१ हजार ९ सय ७० मा सर्भे गरिएको जिल्ला समन्वय समिति लमजुङका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । उहाँका अनुसार २२ हजार ३ सय ५४ घरसंख्या र २१ हजार ७ सय ८३ परिवार संख्या रहेका छन । सर्वेक्षण कार्य चैत १ गते सकिएको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले लगत संकलन कार्य सकिएको हुँदा चैत महिनाभित्रै निजी आवास अनुदान सम्झौता गरी रकम निकासा दिने बताउनु भयो ।

पहिलो ईन्जिनियरहरुले भूकम्पपी डितकै घरबाट उनीहरूको तथ्यांकलाई सिधै केन्द्रीय तथ्यांक विभागमा पठाएका थिए । ‘टयाब्लेट’ का माध्ययमबाट सरकारी एकीकृत डाटा प्रणाली (जीआईडीसी) मा सिधै पठाउन मिल्ने ब्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्