अन्तर्राष्ट्रिय व्यापार मेला आज सकिँदै

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा जारी छैठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सोमबार समापन हुने भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको चौथो दिन आइतबार करिब ६५ हजार जनाले मेला अवलोकन गरेको आयोजकको दाबी छ।

मेलामा उच्च हिमाली भेगका उत्पादन, जडीबुटीका उत्पादन, अन्तर्राष्ट्रिय स्टलहरूमा दर्शकको आकर्षण रहेको थियो। वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना गरिएको मेलामा चीन, भारतलगायत बंगलादेश, पाकिस्तान, थाइल्यान्डलगायत देशका कम्पनीको सहभागिता रहेको छ भने जापान, कोरिया, थाइल्यान्डलगायतका देशबाट खरिदकर्ताहरूले अवलोकन गरेका छन्।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका स्टल रहेका छन्। त्यसैगरी मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादन, नयाँ प्रविधि तथा उपकरण, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरू मेलाको आकर्षणको रुपमा रहेका छन््। साथै महासंघको कृषि उद्यम केन्द्र अन्तर्गतको हिमाली आयोजनाका ७० वटा स्टलमार्फत कृषि उत्पादनहरूको प्रदर्शनी गरिएको छ।

मेलामा स्वदेशी एवं विदेशी कम्पनीहरूको महत्वपूर्ण सहभागिता रहेको छ। ३ सय ४० स्टल मार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ। मेलामा नेपाली निर्यातयोग्य वस्तुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहेको छ।