आफूलाई ‘सुरक्षा थ्रेट’ बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र साकार दाहाल ‘प्रकाश’ले आधुनिक हतियार खरिद गरेको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति दिएको हो । प्रधानमन्त्री स्वयंले छोरालाई सुरक्षा थ्रेट बढेको भन्दै हतियार राख्ने अनुमतिका लागि प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सो कार्यालयले गत बिहीबारदेखि प्रकाशलाई हतियार राख्ने अनुमति दिएको हो ।
इटलीबाट आयात गरिएको २२ बोरको सो अत्याधुनिक हतियारको मूल्य १५ लाख रुपियाँभन्दा बढिको रहेको बताइएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रशासन कार्यालयले सो हतियारसँगै २ सय थान गोली राख्ने इजाजतसमेत दाहाललाई दिएको छ । आफू बारेको समाचार सञ्चारमाध्यममा आएपछि दाहाल स्वयंले हतियारको अनुमति लिएको स्वीकार्दै २२ बोरको राइफलको मूल्य १ लाख ५० हजार रुपियाँको मात्र भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो भनाइ सार्वजनिक गर्दै उनले आफूले हतियार राखेको विषयलाई सञ्चार माध्यमहरूले अतिरञ्जित गरेको आरोप लगाएका छन् ।
विगतमा पटक–पटक विवादमा तानिएर पार्टी कारवाहीमा समेत परेका प्रकाश पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रहेका छन् । प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी, उच्च सुरक्षा संयन्त्रको विशिष्ट घेरामा खटिँदै आएका उनले असुरक्षित महशुस गर्नु, हतियार लिएसँगै मुलुकको सुरक्षा अवस्था कस्तो छ भन्ने प्रश्न चिन्ह् खडा हुन्छ । बलियो सुरक्षा घेरामा रहने प्रधानमन्त्री स्वयं आफ्नो व्यक्तिगत सुरक्षा र सुरक्षा संयन्त्रसँग सशंकित भएको सहजै अनुमान गर्न सकिन्छ । त्यसो त प्रधानमन्त्रीले सुरक्षा थ्रेटकै कारण पुत्र प्रकाशलाई स्वकीय सचिवको जिम्मेवारी दिएको चर्चा विगतमा पनि चलेको थियो ।
नेपाली नागरिकले आफूलाई असुरक्षित महशुस भएको जनाउँदै प्रशासन कार्यालयमा निवदेन पेश गरेपछि छानविन पश्चात कार्यालयले हतियार राख्ने अनुमति दिने गर्छ । सोही व्यवस्थाअनुसार विगतमा अन्य व्यक्तिहरूले कार्यालयको अनुमतिमा हतियार राख्ने गरेको चर्चा हुने गरेको थियो । तर हतियारको इजाजत लिने व्यक्तिहरू सुरक्षा थ्रेटमा रहेर कसैको आक्रमणमा परेको, हतियार लिने व्यक्तिहरूले प्रतिवाद गरेपछि आक्रमणकारी दोहोरो इन्काउन्टरमा परेको भन्ने खालका घटना चर्चामा आएको खासै सुनिएको छैन ।
विगतमा सशस्त्र संघर्ष गरेको माओवादी पार्टीका नेता र नेतानिकट व्यक्तिहरूले सुरक्षा थ्रेट महशुस गर्नु स्वभाविक थियो, तर माओवादी शान्ति प्रकृयामा आएको पनि एक दशक बितिसकेको छ । दरबार र अन्य पार्टीका शीर्ष नेताहरूले पनि विगतमा सुरक्षा थ्रेट महशुस गरेर सुरक्षाकर्मी र हतियार लिएका थिए । तर अहिले सुरक्षा संवेदनशीलता १ दशकअघिको जस्तो पक्कै छैन । त्यसैले सत्ता र शक्तिमा रहेका व्यक्तिहरूले हतियारलाई प्रोत्साहन गराउने र चर्चा बटुल्ने काम गर्नु उचित होइन । अझ प्रकाशका हकमा त झनै हतियार उपलब्ध गराउनु किन पनि ठीक होइन भने विगतमा दरबार हत्याकाण्डजस्तो डरलाग्दो अवस्था मुलुकले भोगिसकेको छ । त्यसले गर्दा पनि राज्यका सुरक्षा संयन्त्रबाहेक अरुलाई हतियार बाँड्ने काम तत्काल बन्द गर्नु उपयुक्त हुन्छ ।
प्रतिक्रिया