“नेपाल–भारत सम्बन्धमा कोइरालाको भूमिका अतुलनीय”


नेपाल समाचारपत्र
काठमाडौं
पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउन स्व. गिरिजाप्रसाद कोइरालाको भूमिका अतुलनीय रहेको बताउनुभएको छ।

स्वर्गीय गिरिजाप्रसाद कोइराला सातौं स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा काठमाडौंमा आयोजना गरिएको ‘नेपाल–भारत सम्बन्ध सहयोग र विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले कोइरालाले आफू प्रधानमन्त्री हुँदा नेपाल र भारतबीच सन्तुलित नीति अपनाएको बताउनुभयो।

फरक प्रसंगमा केही राजनीतिक दलहरू बाहना बनाएर स्थानीय निकायको चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताउनुभयो। प्रमुख अतिथिको आसनबाट बोल्दै पौडेलले मुलुकको निकासका लागि स्थानीय निकायको चुनाव अपरिहार्य रहेको भन्दै चुनाव स्थानीय नागरिकका लागि विकेन्द्रीकरणको खम्बा भएको बताउनुभयो। राजनीतिक अस्थिरताका कारण देश प्रगतितर्फ उन्मुख हुन नसकेको भन्दै देशको निकासका लागि दलहरूबीच सहमति र सहकार्यको विकल्प नभएको विचार व्यक्त गर्नुभयो।

यसै गरी, नेपालका लागि कार्यवाहक भारतीय राजदूत विनय कुमारले नेपाल र भारतबीच बहुक्षेत्रमा विकासका कार्यक्रम अगाडि बढेको बताउनुभयो। बाटो, यातायात, जलविद्युत्लगायतका क्षेत्रमा समन्वय बढेको उहाँको भनाइ थियो। दुई देशबीचको सुमधुर सम्बन्धका कारण पछिल्लो दुई वर्षमा धेरै विकासका आयोजनाहरू अगाडि बढेको उल्लेख गर्नुभयो।

यस्तै जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक तथा नेपाल–भारत सम्बन्धका जानकार संगीता थपलियालले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुन सके विकासका कार्यक्रमहरूले अझ गति लिने बताउनुभयो।

राजनीतिज्ञहरूमा द्विपक्षीय सम्बन्धबारे विद्यमान मानसिकतामा परिवर्तन आउनुपर्ने बताउनुभयो। दुवै देशका नीति निर्माणकर्ताहरूले विकासका प्राथमिकताहरू निक्र्यौल गरी अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो। विकास राजनीतिक नेतृत्वका लागि मात्र नभई जनताका लागि हो भन्दै यसलाई विल्कुल राजनीतिक स्वार्थका दृष्टिले मात्र हेर्न नहुने धारणा राख्नुभयो।

नेकपा एमालेका सांसद लालबाबु यादवले भारतले नेपालबीचको सम्बन्धमा धेरै समस्याहरू रहेकाले समाधान नगरे दुवै देशलाई समस्या आउने बताउनुभयो। नेपालमा समस्या आउँदा भारतको सुरक्षामासमेत खतरा आउने भन्दै नेपालको स्थायित्व र शान्तिका लागि भारतको सहयोग हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गिरिजाप्रसाद कोइरालालाई देश बुझेको देशभक्त नेता भन्दै उहाँको अभाव देशमा खड्किएको बताउनुभयो।

पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेले गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गर्दै कोइरालाको जस्तो दृष्टिकोण र क्षमता भएको नेताको अभाव खड्किएको बताउनुभयो। कोइरालाले लोकतन्त्र स्थापनाका लागि त्याग देखाएको भन्दै नेपाललाई शान्ति दिलाउने उहाँको योगदान स्मरणीय हुने बताउनुभयो।

यसै गरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डा. गोविन्द पोखरेलले नेपाल र भारतबीचको समन्वय बहुक्षेत्रमा आवश्यक रहेको बताउनुभयो। भारत सरकारले मेक इन इन्डिया, डिजिटल इन्डियालगायतका अवधारणा अगाडि बढाएकाले त्यसबाटसमेत नेपालले लाभ लिन सक्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। भारतले द्रुत आर्थिक विकास हासिल गरिरहेकाले कनेक्टिभिटीका माध्यमले नेपालले लाभ लिन सक्नेमा उहाँको जोड थियो।

अन्तर्राष्ट्रिय सम्बन्धका जानकार डा. राजेन्द्र श्रेष्ठले नेपाल र भारतबीचको अन्तरसम्बन्ध र सम्भावनाबारे चर्चा गर्दै भारतको विकासबाट नेपालले लाभ लिनसक्ने सम्भावना औंल्याउनुभयो। नेपाल भारत र चीनबीचको सेतु बन्न सक्ने सम्भावनाबारे चर्चा गर्नुभयो। उक्त कार्यक्रम फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो।