कालीप्रसाद र वर्षा सम्मानित

0
Shares

फिल्मी खबर साप्ताहिकले सातौं वर्ष पार गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक पुरुष र एक महिला कलाकारलाई सम्मान गरेको छ। राजधानीमा आयोजित एक समारोहबीच हरेक वर्ष प्रदान गरिँदै आएको वर्ष व्यक्ति पुरुष र वर्ष व्यक्ति महिलाका रूपमा क्रमशः गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा र नायिका वर्षा राउतलाई सम्मान गरिएको हो।

कालीप्रसाद बासकोटाले रेशम फिलिली फिल्मबाट नेपाली फिल्म क्षेत्रको संगीतमा नयाँ स्वाद पस्किएका थिए। त्यसै गरी वर्षा नाइँ नभन्नु ल–४, छक्का पञ्जा, जात्राजस्ता फिल्मबाट चर्चामा आएकी छिन्। सम्मानपछि संगीतकार बास्कोटाले गीत–संगीतमा लागेर पनि विशेष गरी नेपाली फिल्म क्षेत्रका गीत–संगीतमा व्यवसायिक उपलब्धि हासिल गर्न सफल भएको बताए। त्यसै गरी नायिका राउतले सम्मानले आफूलाई कामप्रति थप जिम्मेवार र अझै मेहनत गर्न हौसला मिलेको बताइन्। कार्यक्रममा गायक बासकोटाले गीतसमेत गाएर सुनाएका थिए।

समारोहमा फिल्मी खबरका सम्पादक शान्तिप्रसाद उपाध्यायले एक⁄दुई वटा फिल्म चलेको आधारमा र केही फिल्म नचलेको आधारमा नेपाली फिल्मी उद्योगको मूल्यांकन गर्न नहुने चर्चा गर्दै छोटो अवधिमा साप्ताहिकले धेरै सफलता हात पारेको बताए। त्यसै गरी प्रविशा प्रकाशनका अध्यक्ष प्रदीप उदयले फिल्मी उद्योगमा भएका समस्या निराकरण गर्न सबै लाग्नुपर्नेमा जोड दिए।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि वनमन्त्री शंकर भण्डारीले फिल्मी क्षेत्रमा भएका सम्पूर्ण समस्या हल गर्न आफूले पहल गर्ने दाबी गरे। ‘फिल्म तथा कला क्षेत्रले विश्वभर आफ्नो पहिचान फैलाइरहेको छ। यस क्षेत्रमा विभिन्न समस्या विद्यामान छन्। आफ्नो कार्यक्षेत्र नभए पनि म फिल्मी उद्यँेगका समस्या हल गर्नका लागि क्याबिनेटमा छलफल चलेको बेला आफ्नो तर्फबाट विशेष पहल गर्नेछु –वनमन्त्री भण्डारीले भने। उनले फिल्म क्षेत्रका लागि आगामी बजेटमा उच्च स्थान दिलाउन र फिल्म स्टुडियो निर्माण गर्न पहल गर्ने दाबीसमेत गरे। सोही अवसरमा फिल्मी खबरमा आबद्ध पत्रकार गीता अधिकारीलाई चलचित्र पत्रकार संघ नेपालको महिला उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो।