पुकदा, कथा र विनि


मुलुकको चौथो ठूलो दल राप्रपा सरकारमा गएको प्रसंगले प्रधानमन्त्री पुकदा अहिले निकै दंग हुनुहुन्छ। कारण मधेसी मोर्चाले भनेअनुसार संविधान संशोधन हुन्छ भन्ने आशा। त्यति भइदियो भने कुर्सी जोगिन्छ भन्ने उहाँलाई लागेको छ। तर, कथा (कमल थापा) भनेको भन्यै हुनुहुन्छ– यथास्थितिमा संविधान संशोधन भए र चुनाव रोकिए हामी कुनै हालतमा सरकारमा रहँदैनौं, लेखेर राख्नुस्।

होइन, चुनाव हुने कि नहुने अनि संविधान यथास्थितिमा संशोधन हुने कि नहुने भन्ने कुरा मुलुकका उपप्रधानमन्त्रीलाई थाहा हुने हो कि यो धरहरालाई थाहा हुने हो? केही पनि थाहा छैन भने त उहाँ सरकारमा किन जानुभएको रहेछ? कुरा झन् रहस्यमय पो भो त। यथास्थितिमा संशोधन नगर्ने भनेर उहाँले हिन्दू राज्यको व्यवस्था र संघीयताको खारेजीमा पो थप संशोधन चाहिन्छ भनेको हो कि? त्यो भए पनि खुलेर कुरा राख्न पाए हुन्थ्यो। यस्तो जे अर्थ लाए पनि हुने गडबड कुरा नगर्ने हो कि?

धरहराको छेउमै आएर एक जनाले प्वाक्कै भन्दिहाले– अर्का उपप्रम विनि (विमलेन्द्र निधि) तीर्थाटनबाट आएपछि बल्ल सबै कुरा थाहा हुन्छ। अहिले नै कथालाई सबै कुरा के थाहा हुन्थो? धरहरा कुरा नबुझेर हैरान छ है पाठकवृन्द।