एक्लो भइन् बिना

0
Shares

बलिउडलाई आफ्नो कर्मथलो बनाएकी पाकिस्तानी अभिनेतृ बिना मल्लिकको सम्बन्ध विच्छेद भएको छ। केही समयअघि लाहौरस्थित अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी उनको आवेदन आदालतले स्वीकार गर्दै फैसला उनको पक्षमा सुनाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको पतिलाई यस मामलामा अघि बढ्न मन थिएन। त्यसैले उनले यस मामलामा प्रतिवादसमेत गरेनन्। बिनाले सम्बन्ध विच्छेदपछि पतिबाट पाएको सम्पत्तिको २५ प्रतिशत फिर्ता दिनुपर्नेछ। अदालतको आधिकारीका अनुसार उनले जनवरीको पहिलो हप्ता लाहौरको पारिवारिक अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनले आफू र पतिबीच मतभेद रहेको भन्दै एकसाथ रहन नसक्ने बताएकी थिइन्।

उनको पतिलाई अदालतले उपस्थिति हुन भनेको थियो। तर, न उनी अदालत गए, न त कुनै कारण नै बताए। यस अवस्थामा अदालतले बिनाको मुद्दा स्वीकार गर्दै फैसला उनकै पक्षमा गरको समाचारमा जनाइएको छ। तर, बिना र उनको पतिले आफूहरुबीचको मतभेद सार्वजनिक गरेका थिएनन्।

उनीहरुले २०१३ मा दुबईमा विवाह गरेका थिए। उनीहरुको दुई सन्तान छन्। खबरअनुसार यी ३१ वर्षीय अभिनेतृ टिभी तथा फिल्ममा जोडिइरहन चाहन्थिन् भने उनको पति आफ्नो बच्चाको रेखदेख गरेको हेर्न चाहन्थे।