एक दर्जन कलाकारकर्मी र सञ्चारकर्मी सम्मानित

0
Shares

नेपाल चलचित्र कलाकार संघले आफ्नो १५औं वार्षिक साधारणसभाको अवसरमा एक दर्जन कलाकार तथा पत्रकारहरुलाई सम्मान गरेको छ। सोमबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गर्दै संघले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सम्पन्न हुने भनिएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री दीनानाथ गिरीले प्रधानमन्त्रीको प्रतिनिधित्व गरेका थिए। समारोहमा अभिनेतृ लक्ष्मी गिरीलाई लामो समयदेखि नेपाली कला क्षेत्रमा योगदान पुर्याएबापत ताम्रपत्र र ५६ हजार १ सय रुपियाँसहित नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७३ बाट सम्मान तथा पुरस्कृत गरियो। त्यस्तै अभिनेता पुराण जोशीलाई ताम्रपत्र र २७ हजार १ सय १ रुपियाँसहित नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार २०७३ सम्मान गरियो भने हास्य अभिनेता अभिनेतृ दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे तथा बाल निर्देशक सौगात विष्टलाई कलाकार संघ विशेष सम्मान २०७३ बाट सम्मानित गरिएको छ। त्यसै गरी यस वर्षको नेपाल चलचित्र कलाकार संघ नवप्रतिभा प्रोत्साहन सम्मान नायिका वर्षा राउतलाई प्रदान गरिएको छ भने नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान २०७३ सानुकुमार ताम्राकार र सुनील कटुवाललाई प्रदान गरिएको छ।

संघले सधैंजस्तै यस वर्ष पनि पत्रकारिता क्षेत्रमा समेत सम्मान गरेको छ। सो अवसरमा पत्रकारितामार्फत् फिल्म क्षेत्रमा योगदान पुर्याएबापत पत्रकारद्वय प्रकाश सुवेदी, अशोक प्यासी राई र विष्णुप्रसाद सुवेदीलाई नेपाल चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री दीनानाथ गिरीले कार्यक्रममा आफ्नो सहपाठी कृष्ण मल्ल, आफूले विद्यालयको पाठ्यक्रममा पढ्दै आएको नाम यादव खरेल, नेपाली फिल्ममा महत्त्वपूर्ण नाम नीर शाह आदिलाई एकै ठाउँमा देख्दा निकै उत्साहित भएको बताए। ‘देश संकटमा परेको बेला देशबासीको सहयोगार्थ खटिने महान् कलाकार धुर्मुस–सुन्तलीलाई आज आफ्नै हातले सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु। २⁄४ दिनअघिसम्म म सरकारमा आउँला जस्तो पनि लागेको थिएन’, मन्त्री गिरीले भने– ‘तर सरकारमा आएर आज उहाँहरुलाई सम्मान गर्ने दिन रहेछ। कलाकारहरु भनेको राष्ट्रका गहना हुन्। तर, राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिने कलाकारहरुको संगठनका लागि एउटा भवन पनि नभएको भन्ने पीडा बुझें। म यो समस्या मेरै कार्यकालमा हल गर्नेछु। यदि त्यसो गर्न सकें भने म पनि सफल हुनेछु।’

त्यस्तै कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले संघ यहाँसम्म पुग्न अग्रज कलाकारको ठूलो योगदान रहेको चर्चा गरे। ‘राष्ट्रिय चलचित्र नीति बने पनि कार्यन्वयन हुन सकेको छैन। यसका लागि उच्चस्तरीय अनुगमन तथा मूल्यांकन समितिको गठन गर्न पहल गर्न आजको प्रमुख अतिथिमार्फत् जोडदार माग गर्दछु, बोगटीले भने– ‘भूमिसुधार मन्त्रालयबाट कलाकार संघलाई चाबहिलमा रहेको १ रोपनी ३ आना जग्गा प्रदान गर्नुपर्छ भन्ने आदेश भए पनि मन्त्रिपरिषद्बाट निर्णय पारित हुन बाँकी छ। हामीसँग केसमा २० लाख रुपियाँ छ र जग्गा उपलब्ध भएको एक महिनामै आफ्नै भवन निर्माण शुरु गर्नेछौं।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्षा राजकुमार राईले स्थापनाको लामो समयसम्म कलाकार संघ निरन्तर अगाडि बढिरहेको र संघ आफैंमा निर्भर रहेकाले भवन निर्माण पनि छिट्टै हुने आशा व्यक्त गरे। उनले भने– ‘संघले आज गरेको सम्मानमा कार्यसमितिकै व्यक्तिहरु पनि हुनुहुन्छ। उहाँहरु पुरस्कारका लागि योग्य हनुहुन्छ। तर, पनि आफैंले दिएर आफैंले पुरस्कार लिएजस्तो हुने भएकाले कार्यसमितिको मानिसहरु नपारेको भए राम्रो हुने थियो।’

सघंकी महासचिव सरिता लामिछानेले स्थापनाको २८औं वर्षसम्म आइपुग्दा संघ वयश्क अवस्थामा पुगेको चर्चा गर्दै उमेरले मात्र वयश्क हुन् र साँच्चै वयश्क हुनुमा फरक भएको बतँइन्। ‘कलाकार संघ उमेर र काममा पनि वयश्क भइसकेको छ’ –उनले भनिन्।

सम्मानित व्यक्तित्वको तर्फबाट बोल्दै हास्य अभिनेता सीताराम कट्टेलले कलाकार संघले गरेको यस सम्म्मानले आफूहरुलाई थप हौसला मिलेको बताए। ‘हामीले देशलाई पर्दा केही गरौं भनेर देशको कला क्षेत्रको प्रतिनिधित्व मात्र गरेका हौं। कला क्षेत्रलाई सम्मानजनक ढंगले अगाडि बढाउनका लागि धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत् गिरानचौरमा एकीकृत बस्ती निर्माण गरिसकेका छौं। हाल मुसहरबस्ती निर्माणमा छौं। शुरु गरेको ३ महिनाभित्रमै हामी बस्ती निर्माण गरेर सुम्पने तयारीमा छौं’, उनले भने– ‘विभिन्न व्यक्तिहरुको साथ र सहयोग मिलेको खण्डमा कलाकार संघको भवन निर्माणसमेत गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।

सम्भव भएसम्म अर्को वर्ष संघको १६औं साधारणसभा आफ्नै भवनमा गरिनेछ।’ कार्यक्रममा बोल्दै फिल्म हस्ती यादव खरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको नेपाली हामी रहौंला कहाँ नेपालै नरहे भन्ने पंक्ति कलाकार संघमा पनि लागू हुने चर्चा गर्दै चलचित्र नीति कार्यन्वयनका लागि सम्पूर्ण कलाकारहरु एक भई नेपाल सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा संघको स्मारिका सार्वजनिक गरिएको थियो भने चलचित्र पत्रकार संघ नेपालको कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो।