के नेपाली जनता भेडा नै हुन् त?

0
Shares

पुष्करलाल श्रेष्ठ
२०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचनमा आफ्नी श्रीमती मंगलादेवी सिंह र पुत्र प्रकाशमान सिंह चुनावमा हारेपछि नेपाली जनताले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहबाट प्राप्त गरेको पदवी हो ‘भेडो’। त्यसो त चुनावमा आफ्नी श्रीमती र पुत्रको पराजयबाट तिलमिलाएका नेता गणेशमान सिंहले रिसको झोंकमा राजधानीबासीलाई मात्र दिएको यो पदवीलाई पछि गएर जनता आफैंले पनि रमाइलो मानी गफगाफ हुँदा ‘हामी त भेडो नै रहेछौं’ भन्दै नेता सिंहको पदवीलाई आफैं स्वीकारेको जस्तो गर्न थाले।

जनताको रगतको होली खेलेर ठाउँमा पुगेको बेला जनतालाई महान् क्रान्तिकारी देखिने नेता भोलि ती नै जनता आफ्नो स्वार्थको खिलापमा लागेको अनुभूति हुनेबित्तिकै उनीहरूका नजरमा भेडो देखिनुपर्ने हामी नेपाली जनताको नियति नै बनिसकेको छ। त्यसैले त हामी आजका दिनसम्म पनि ती नेताहरूकै बोलीमा लोली मिलाएर भेडोजस्तै एकोहोरो बनिरहेका छौं। चाहे राष्ट्रवादको नाममा भेडो बन्दै एमालेले हल्लाएको लट्ठीको भरमा हुल बाँधेर मेची–महाकाली यात्रामा सहभागी हुँदा होस् वा मधेसी मोर्चाको बहकाउमा लागेर सप्तरीमा प्रहरीको गोली खान लट्ठी बोकेर मोर्चा कस्न किन नहोस्, भेडो त आखिर हामी नेपाली जनता नै भइरहेका छौं। नेता जतिलाई त त्यही गोली हान्ने प्रहरीले नै सुरक्षित स्थलमा पुर्याइहाल्दा रहेछन्।

हामी जनता पनि उस्तै। विदेशी भूमिमा बाह्रबुँदे सहमति गरेर आउँदा हामीले नेकपा एमालेलाई राष्ट्रवादबारे प्रश्न त के शंकासमेत गरेनौं। विदेशी भूमिमा बसेर गणतन्त्रको नाममा १७ हजार नेपालीको रगतले होली खेल्नेलाई हामी जनताले नै आज शिरमा राखेका छौं। संघीयताको नाममा देश टुक्रइउने अभिव्यक्ति दिने पार्टीहरूलाई नै देशका प्रमुख राजनीतिक पार्टी बनाउने हामी जनतालाई भेडो नभने अरू कसलाई भन्ने?

विश्वकै व्यवस्थित प्रजातान्त्रिक मुलुक मानिने संयुक्त राज्य अमेरिकामा भर्खरै चुनाव सम्पन्न भएको छ। आप्रवासी विरोधी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव जितेपछि उनले गरेका निर्णयहरूविरुद्ध अमेरिकाभर प्रदर्शन भयो, भइरहेको छ। केही ठाउँमा प्रदर्शनकारीबीच मुठभेड हुने स्थिति पनि बन्यो। तर, नेपालमा जस्तो मौकाको फाइदा उठाउन चुनावमा पराजित ट्रम्पकी प्रत्यासी हिलारी क्लिन्टनले आगोमा घिउ थप्नका लागि ‘इस्टकोस्टदेखि वेस्टकोस्ट अभियानको घोषणा गर्न कतै पनि उभिएकी देखिइनन्। उभिनु त के, त्यसबारे चुँसम्म बोलेकी सुनिएन। चाहेकी भए सप्तरीमा पाँच जना मृत्युको के कुरा, अमेरिका नै बाल्न सक्थिन् उनले।

यसै गरी अहिले भ्रष्टाचारको अभियोग खेपिरहेकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युनहेई गत डिसेम्बरमा महाअभियोगको सामना गरेर पनि राजीनामा नदिएपछि आक्रोशित उनका लाखौं विरोधीहरू लगातार सडकमा ओर्लिएका देखिए। उनीविरुद्धको महाअभियोगलाई संवैधानिक अदालतले स्वीकृत गरेलगत्तै गएको शुक्रबार उनी पदच्यूत पनि भइन्। यति हुँदा पनि अहिलेसम्म जम्मा तीन जना कोरियन नागरिक मरेको, त्यो पनि अपुष्ट समाचारबाहेक त्यहाँ अरू ठूलो हताहतका समाचार पढ्न पाइएको छैन। केही दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल घुम्न आएकी यस स्तम्भकारका कोरियन मित्रहरू स्युई ली र जेई ली पनि उनकी ठूली दिदी इस्ट लीसँगै राष्ट्रपतिको विरोधमा दिनहुँ मैनबत्ती बालेर राति सडकमा धर्ना कस्न जाने गरेकी रहिछन््। हाम्रो देशमा अख्तियारजस्तो एउटा संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग दर्ता हुँदा देश नै लोकमानमय भएको थियो। दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा मुछिएकी राष्ट्रपति पार्कविरुद्ध महाअभियोग लागेको र उनीविरुद्ध महिनौं लाखौं जनताको प्रदर्शन हुँदा पनि किन आन्दोलन हिंस्रक नभएको भनी ली दिदीबहिनीलाई राखेको प्रश्नको जवाफ पाउँदा यस स्तम्भकार एकछिन त ट्वाँ नै पर्यो।

ली दिदीबहिनी भन्दै थिए– ‘हिंस्रक आन्दोलनको त के कुरा, दिनमा प्रदर्शन गर्दा जनता र विकासमा बाधा पर्ला भनी उनका नेताहरूले आन्दोलन र प्रदर्शन नै प्रायः बेलुकीको समयमा आह्वान गर्ने गर्छन् रे! डिसेम्बर ताका सोलमा बेलुकी माइनस तापक्रम हुँदा पनि उनीहरूलाई विरोधी पार्टीका नेताहरूले बेलुकी नै प्रदर्शनमा आउन अनुरोध गर्थे रे ! त्यो पनि मैनबत्ती बालेर शान्तसँग सांकेतिकरूपमा मात्र विरोध गर्न पाइने, ताकि सुतिसकेका मान्छेलाई समेत कुनै व्यवधान नपुगोस्।’

प्रजातन्त्रमा विरोधको शैली पनि सभ्य हुनुपर्छ। बोल्न, लेख्न अर्थात् अभिव्यक्ति स्वतन्त्रता हुन्छ भन्दैमा प्रजातान्त्रिक व्यवस्थामा जे मन लाग्यो त्यही गर्न हुँदैन, पाइँदैन पनि। आफ्नो अधिकारका लागि अरूको अधिकार कुण्ठित गर्न मिल्दैन। सम्भवतः यही कुरा राम्ररी बुझेकै कारण विकसित राष्ट्रहरूमा प्रजातन्त्र फापेको हुनुपर्छ। त्यहाँ न नेताले आफ्ना जनतालाई भेडो ठान्छन्, न जनता नै नेताको हाहामा लागेर भेडो बन्छन्।

राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्रको नाममा हामी धेरैपटक नेताहरूको भेडो बनिसकेका छौं भने अहिले गणतन्त्रको नाममा हामीलाई भेडो बनाइरहेको छ। सिद्धान्तहीन एवम् विचार शून्य नेता र पार्टीको हाहामा लागेर हामी अरू कतिन्जेल भेडो बनिरहने ? खोई, हामीले पार्टीहरूलाई पार्टीको घोषणापत्रअनुसार काम नभएकोबारे प्रश्न गरेको ? हिजो चुनावमा उनीहरूले आफ्नो घोषणापत्रमा गरेका बाचा पूरा नगरेकोमा, संविधान कार्यान्वयन गर्न आनाकानी गरिरहेकोमा, समयमै चुनाव गरी जनतालाई अधिकार दिन नखोजिएकोमा एकजुट हुने कि कुनै पार्टीका नेतालाई कुर्सीमा विराजमान गराउन वा कुनै नेतालाई कुर्सीबाट हटाउन रातदिन उनीहरूको शिखण्डी बनिरहने ?

अब हामी उठ्ने बेला भएको छ। आफ्नै जनतालाई भेडो बनाएर मात्र आफ्नो दुनो सोझ्याउन भेडोजस्तै हामीलाई एकत्रित गरी रगतको होली खेल्ने नेता र पार्टीहरूलाई एकै ठाउँमा भेला गरी रगतको हिसाबकिताब माग्ने बेला भइसकेको छ। उनीहरूलाई प्रश्न गरौं– के हामी जनताको मूल्य मात्र रु.१० लाख हो ? के मानिसको जीवन एउटा पशु भेडोको मूल्यभन्दा १५⁄२० दोब्बर मात्र माथि हो ?

राजनीतिक दल एकआपसमा आफैं निहुँ खोजी झगडा गर्छन्, मान्छे मार्ने र मर्ने वातावरण बनाउँछन् अनि आफैं सहमति गरी जनताले रगत–पसिना गरी तिरेका करको चरम दुरुपयोग गरेर शहीद घोषणा गर्दै राज्यको ढुकुटीबाट मनोमानी पैसा बाँड्छन्। यसो गर्न पाइँदैन भन्दै खोई हामीले उनीहरूलाई आजको दिनसम्म खबरदारी गरेको ? खोई, हामी एकै ठाउँमा भेला भएर हामीलाई चाहिने आधारभूत पानीका लागि एकत्रित हुन सकेको ? खोई, हाम्रो स्वास्थ्यमा खेलबाड भइरहेको सडकको धूलो–धूवाँविरुद्ध एकत्रित भएको ? खोई, देश विकासको रक्तसञ्चार अनि हाम्रो जीवन पद्धति नै राकिने गरी खुलेआम भइरहेको भ्रष्टाचारविरुद्ध एकत्रित भएको ? हाम्रै भूमि कञ्चनपुरको आनन्द बजारमा आई दिनदहाडै नेपालीको छातीमा गोली हानेर जाँदासमेत तत्कालै चुँक्क बोल्न नसक्ने राष्ट्रवादको खोक्रो नारा दिने पार्टी र नेताहरूलाई खोई हामीले विदेशी दलाल भनी औंलो ठड्याएको ? के हामी जनता साँच्चीकै गणेशमान सिंहले भनेजस्तै कुरै नबुझी हाहामा मात्र लागिरहने एकहोरो भेडा नै हौं त ?

चाहे राष्ट्रवादको नाममा भेडो बन्दै एमालेले हल्लाएको लट्ठीको भरमा हुल बाँधेर मेची–महाकाली यात्रामा सहभागी हुँदा होस् वा मधेसी मोर्चाको बहकाउमा लागेर सप्तरीमा प्रहरीको गोली खान लट्ठी बोकेर मोर्चा कस्न किन नहोस्, भेडो त आखिर हामी नेपाली जनता नै भइरहेका छौं। नेता जतिलाई त त्यही गोली हान्ने प्रहरीले नै सुरक्षित स्थलमा पुर्याइहाल्दा रहेछन्।