कृष्ण घिमिरे
यहाँ सबैलाई दौडनु छ, कसैलाई फुर्सद छैन। वर्षौंदेखि सबैभन्दा बढी बेफुर्सदी त तिनै भएका छन् जो आफूलाई ठूला दलका नेता र जनताका प्रतिनिधि ठान्छन्। सांसदहरूको दौडधुप र पत्रकारहरूको हतार देख्दा लाग्छ– अबचाहिँ देशले उन्नति र प्रगतिको पथ पक्रने भयो। तर यथार्थ भिन्न छ, जनु छ गोरखा तर जान उनीहरू बनेपाको बस चढिरहेछन्।
भनिराख्नुपर्दैन, रवाफिलो भेषमा ठाँटिएका नेताहरूका गुलिया भाषण उनीहरूको पहिचान नै बनिसकेको छ। राजनीतिलाई ढाँट, छल र बेइमानीको पर्यायवाची नै बनाए पनि यिनले वर्षौंदेखि गर्दै आइरहेको झुटको खेतीपाती फस्टाइरहेकै छ। राजनीतिको खेतबारीमा यिनले झुटको खेती गरिरहे पनि तिनै बेइमानप्रति यति सम्मोहित छन् कि आफ्नो सुदिन फिर्ने सपना साँचिरहेका छन्। समाज बदल्ने र जनताको आकांक्षा पूरा गरिदिने खोक्रा आश्वासनमा समाज बारम्बार कुमालेको चक्रझैँ फन्फनी घुमिरहेको छ। तर, केही भएको छ भने केवल बेइमान मात्रै भइरहेको छ। यसलाई कतिपयले दल र तिनका नेताका असफलतासँग जोडेर हेर्छन्। यो दल र तिनका नेताको असफलता मात्रै होइन, लज्जासमेत हो।
१८ वर्षपछि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। सरकारले चुनावको मिति घोषणा गरे तापनि जनता भने साँच्चै तरंगित बनेका छन्। सबैभन्दा बढी उत्साहित त राजनीतिक दलका कार्यकर्ताहरू छन्। यसको सदुपयोग गर्ने सदिच्छा कतिपयमा होला तर आसन्न निर्वाचनको शुभलाभ आँकलन गरेर नेताका घरमा मेयर, उपमेयर, सभापतिजस्ता स्थानीय पदको लालसा मेट्न रिले दौडमा धेरैले बुर्कुसी मार्न थालिसकेका छन्। राजनीतिमा सबैका आ–आफ्ना इच्छा, चाहना हुन्छन् तर राजनीति कसैको कुण्ठा पोख्ने थलो बन्नु युग सुहाउँदो अभ्यास भने हुन सक्दैन। यसर्थ अब हुने स्थानीय तह निर्वाचनलाई दलहरूले आफ्नो कमजोरी सच्याउने अवसरका रूपमा प्रयोग गर्नु सबैको कल्याण हुनेछ।
सत्य र दृढ संकल्पसहित जनताको राजलाई र स्थानीय निकायको सुधार र परिवर्तन गर्न दलभन्दा माथि उठेर प्रधानमन्त्री पुष्पकमल दाहालले यो बाटो तय गरेका छन्। आफूलाई खुकुरीको धारमा राखेर प्रधानमन्त्रीले गरेको स्थानीय तह निर्वाचनको घोषणा स्वागतयोग्य छ। किनकि अहिलेको स्थानीय निर्वाचन हाम्रो समाज बनाउने बलियो र पहिलो आधार हो।
भर्याङमा बसेर ढाडे बिरालो शैलीमा कराहीको दूध ताकेको कांग्रेस ‘रोड क्रस गर्दा प्रत्येक दिन कालो बिरालोले बाटो काटेको देख्दै छ। सपनामा सताउने उखानका राजा केपी अघि लागिसके। प्रचण्डले कतै कमजोरी त गरिएन भन्दै पटक–पटक बालुवाटार र बुढानीलकण्ठ बैठक छाडेका छैनन्।
मधेसवादी दल र राप्रपासँगको बहस कहिल्यै सकिँदैन। यता कमलहरू आफ्नो पुख्र्यौली गोत्रको उही राजावादी विरासत बोकेर गल्ली–गल्लीमा हिन्दू र पुरानो संरचना राष्ट्रियताको आधार भन्दै हाँडीमा मकै भुट्झैँ कुर्लिरहेका छन्। मधेसका नाथेहरू एक्लो बृहस्पति व्यक्तिपिच्छे पार्टीका नेता र मुद्दामा अल्झिए पनि हामी नेपाली हौं, हिमाल, पहाड तराई एकै हो भन्दै मुखौटो मात्र भिरेका छन्।
सीमांकनका कुरा टुंग्याएर सबैलाई एक हुनसक्ने गरी चुनावका मिति सार भनेर अड्को थापिरहेका छन्। त्यसै विषयसँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई असन्तुष्ट चासो सम्बोधन गरेर निर्वाचनमा जान भनिरहेका छन्।
सबैलाई समेट्दा चुनावको मिति सर्न सक्छ तर सबै समेटिन्छन् र ७४ माघसम्ममा सबै तहका निर्वाचन सम्पन्न गरौँ भन्ने उनको मत रहेको छ। तर, केही दलका नेता यसको उल्टो व्याख्या गर्दै आफूलाई सुनपानी छर्कने ध्याउन्नमा लागिरहेका छन्। यो विडम्बनापूर्ण छ। यसर्थ, संविधान कार्यान्वयनका लागि अपरिहार्य बनेको तीनै तहको निर्वाचन गर्दै समृद्ध नेपाल निर्माणको योजनामा देशलाई हिँडाउनुपर्छ। नेपालमा विकासका लाखौंँ सम्भावना छन्। जल, जमिन, जंगल, जलस्रोत, जडीबुटीको उपयोगले देश कायापलट हुनसक्छ। अब यतातिर ध्यान दिने बेला आएको छ।
यहाँ दिन–प्रतिदिन नयाँ दल र कार्यकर्ता जन्मिरहेका छन्। बीबीसी नेपाली सेवाको जागिर छाडेर पत्रकार रवीन्द्र मिश्र सरकारले स्थानीय चुनाव घोषणा गरेसँगै हतारमा राजनीतिक दल खोल्ने घोषणासहित नयाँ राजनीतिक दोकान खोल्न आइपुगेका छन्। यसले एक किसिमको अन्योलता पैदा गरेको छ। एउटै साझा धारणा र विचार बनाउन छाडेर नेपाली समाज र यहीँका हावापानीमा हुर्केका मनुवाहरू सबै आ–आफ्नो तर्क–वितर्कमा एकले अर्कोलाई तल पार्ने खेलमा लाग्दा निश्चिय नै अन्योलता छाएको छ। तर, युवाहरूले अब यो अन्योलतालाई चिरेर नेपाल र नेपालीको भविष्य चम्काउने दायित्व वहन गर्न आनाकानी गर्नुहुँदैन।
झुट, गुन्डागर्दी, घूस, भ्रष्टाचार, अनियमितता र अनेकता जसरी फैलिरहेको छ, त्यसका विरुद्ध युवाको एकता अपरिहार्य भएको छ। त्यसैले समृद्ध नेपालको पहिचान र अस्तित्व जोगाउन सबै युवा जुट्नु आजको आवश्यकता हो।
(लेखक नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ।)
प्रतिक्रिया