स्थानीय निकायको निर्वाचनको तयारी तीव्र

0
Shares

सल्यान, (नेस)
जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय निकायको निर्वाचनको तयारीलाई तीव्र पारेको छ। सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेसँगै सल्यानमा पनि निर्वाचनको तयारीलाई तीव्र पारिएको हो। निर्वाचन कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवालासँग समन्वयन गर्नेलगायतका आन्तरिक तयारीलाई तीव्रता पारिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारीले जानकारी दिनुभयो। उहाँले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन निर्वाचन आयोगलाई समयमा नै नपठाउँदा जिल्लामा कति मतदान केन्द्र राख्ने, जनशक्ति कति खटाउनेलगायतका विषयमा भने अन्योलता रहेको बताउनुभयो।

‘स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएपछि सोहीअनुसारको जानकारी आयोगले जिल्ला निर्वाचन कार्यालयलाई दिन्छ –उहाँले भन्नुभयो। सोहीअनुसार सल्यानमा पनि निर्वाचनका लागि मतदान केन्द्र तोक्नेलगायतका काम गरिनेछ। तर पनि आयोगले सकेसम्म पुरानै केन्द्रलाई कायम गरी निर्वाचन गर्ने भनेकाले सल्यानमा मतदान केन्द्र तोक्ने विषयमा खासै समस्या नपर्ने शर्माले बताउनुभयो।

यसैबीच जिल्ला निर्वाचन कार्यालय सल्यानले दिएको जानकारीअनुसार सल्यानमा मतदाताको संख्या १ लाख, २२ हजार, ४ सय २५ रहेको छ। यो संख्या गत असोज मसान्तसम्ममा १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावली बनाएकाको रहेको छ। जसमा पुरुषको संख्या ६१ हजार २ सय १९ र महिलाको संख्या ६१ हजार २ सय ६ रहेको छ।
जिल्ला निर्वाचन कार्यालयले कात्तिकदेखि फागुना ९ गतेसम्मको ४ हजार ३ सय ९३ जनाको फोटोसहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाएको जानकारी दिएको छ। जुन मतदाता नामावली निर्वाचन कार्यालय र जिल्लाका विभिन्न ठाउँमा घुम्ती शिविरमार्फत् संकलन गरिएको थियो।