साउनलाई प्रेमगीत

0
Shares

बहुचर्चित फिल्म प्रेमगीतको सफलतापछि त्यसको सिरिजका रूपमा प्रेमगीत–२ निर्माण गरिएको छ। म्युजिकल ड्रामा भनिएको फिल्म आगामी साउन १३ गते रिलिजमा आउने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

फिल्म निर्माण संस्था आशुसेन फिल्म्सले त्यसमा नायक प्रदीप खड्काको जन्मदिन पारेर फिल्म रिलिजमो तिथि घोषणा गरेको हो। फिल्मका कलाकार, प्राविधिक, परिवार र साथीभाइलाई जन्मदिन केक खुवाउँदै प्रदीपले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने दाबी गरे। उनले हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो जलवायु परिवर्तन अभिनयमा सक्रिय रहेको उदाहरण दिँदै आफू पनि वागमती सरसफाइ अभियानमा सहभागी हुने बताए।

फिल्मका निर्माता सन्तोष सेनले प्रेमगीत–२ नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय उचाइमा लैजाने विश्वास दाबी गरे। निर्देशक रामशरण पाठकले भने फिल्मले नेपाल र म्यानमारलाई जोड्ने काम गर्ने बताए। त्यसै गरी चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष सन्दीप सापकोटाले निर्माता र पत्रकारबीचको सम्बन्ध प्रेममा बदलिनुपर्नेमा जोड दिए।

सो अवसरमा प्रेमगीत–२ को निर्माण संस्थाका तर्फबाट चलचित्र पत्रकार संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरियो। त्यसै गरी संघको कल्याण कोषका लागि ५५ हजार ५ सय ५५ रुपियाँ नगद सहयोगसमेत प्रदान गरिएको छ। यसअघिको प्रेमगीत सुदर्शन थापाले निर्देशन गरेका थिए।