यमबहादुर खत्री
दुई ठूला उदीयमान शक्ति सम्पन्न राष्ट्र चीन र भारतको बीचमा आफ्नो छुट्टै पहिचान बोकेको विविधताले सम्पन्न मुलुक हो नेपाल। यो गौरवमय इतिहास बोक्ने देश नेपालमा हामी थरी–थरीका सन्ततीहरू आपसी सद्भाव र एकताको सूत्रमा बाँधिएर रहनु हाम्रो आफ्नै विशेषता हो। युद्धको मोर्चामा इमानदारीपूर्वक अदम्य साहसका साथ लड्ने वीर गोर्खालीहरूको देश भनेर चिनिने जुन गौरवमय हाम्रो वीर पुर्खाहरूको वीरगाथा छ त्यसलाई बचाइराख्नु हामी सबैको कर्तव्य हो भन्ने हामीले ठानेका छौं। हाम्रा वीर पुर्खाहरूले कसरी आफ्नो वीरता प्रदर्शन गर्ने अवसर पाए, त्यसतर्फ एकछिन् घोरिनुपर्दछ। इतिहासलाई अध्ययन गर्ने हो भने अनरेवल इस्ट इन्डिया कम्पनी सरकार र नेपालबीचको युद्ध जसलाई ‘एङ्ग्लो नेपाल वार’ले चिनिन्छ, जुन सन् १८१४ नोभेम्बर १ देखि १८१६ सम्म सम्म चलेको थियो। त्यससम्बन्धी जानकारी लिनै पर्नै देखिन्छ।
किन भयो त एङ्ग्लो नेपाल वार ?
नेपाल सरकार र इस्ट कम्पनी सरकार दुवैले आ–आफ्नो राज्य विस्तार गर्ने नीति लिएका थिए। त्यो नै वारको मुख्य कारण थियो। त्यस युद्धमा हाम्रा वीर पुर्खाहरू ब्रिटिसविरुद्ध लडेका र अदम्य साहस, वीरता प्रदर्शन गरेका थिए। त्यो साहस र वीरताको प्रदर्शनलाई ब्रिटिसहरूले नजिकबाट नियाल्ने मौका पाएका थिए। यो युद्ध सुगौली सन्धिबाट अन्त्य भएको थियो।
किन भयो सुगौली सन्धि ?
युद्धमा सफलता प्राप्त गर्दै गएको नेपालले आफ्नै आन्तरिक कारणले युद्ध मोर्चामा अपेक्षित सफलता पाउन नसक्दा अन्ततः सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्यो।
के हो सुगौली सन्धि ?
वि.सं. १८७२ तदनुसार सन् १८१५ डिसेम्बर २ मा सुगौली भन्ने ठाउँमा युद्ध अन्त्यका लागि गरिएको सन्धि नै सुगौली सन्धि हो। यो सन्धिपत्र सन् १८१६ मार्च ४ मा ब्रिटिसलाई हस्तान्तरण गरिएको थियो।
सुगौली सन्धिमा के–के कुरा उल्लेख छ ?
नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाह, राजगुरु गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्याय तथा ब्रिटिसका तर्फबाट लेफ्टिनेन्ट जर्नेल ब्राड साँको उपस्थितिमा गरिएको सुगौली सन्धिमा ९ वटा अभिधाराहरू रहेका छन्। यस सन्धिका सकारात्मक र नकारात्मक प्रभाव र पक्षका बारेमा विश्लेषण विद्वान् वर्गबाट हुनेछ। तर यही सुगौली सन्धिको परिणामले नेपालीहरूलाई ब्रिटिस सेनामा भर्ती लिने अभियान शुरू भएको तथ्यगत प्रमाण भेटिन्छ। नेपालीहरूको अङ्ग्रेजी सेनामा प्रवेश भएपछि शुरूका समयमा विभिन्न नामबाट सेना संगठित गर्दै कालान्तरमा गोर्खा रेजिमेन्टको नामबाट नामकरण गरियो र १ देखि ११ वटा रेजिमेन्ट खडा गरियो।
प्रथम विश्वयुद्धमा गोर्खा रेजिमेन्टको भूमिका
युरोपमा २ अलग–अलग विरोधी गुटको गठन भएपछि विकास भएको शत्रुतापूर्ण र विरोध क्रियाकलापले २८ जुलाई १९१४ मा अष्ट्रियाले सर्वियामाथि युद्धको घोषणा गरेपछि चर्किएको प्रथम विश्वयुद्ध २८ जुन १९१९ मा भर्सेलिज सन्धिमा हस्ताक्षर गरी औपचारिकरूपमा २९ जुन १९१९ बाट समाप्त भएको थियो। त्यस युद्ध अवधिमा गोर्खा रेजिमेन्टले विश्वका धेरै ठाउँमा युद्धको मोर्चामा आफ्नो वीरता प्रदर्शन गरेको थियो। जर्मनी सम्राट कैजर विलियम द्वितीयले भनेका थिए– ‘संसारका जुनसुकै सेनासँग मेरो सेना लडाउन तयार छु तर गोर्खाली सेनाको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ।’ उनको यो भनाइले गोर्खा सेनाको वीरताको गाथा आफैं प्रस्ट हुन्छ। प्रथम विश्वयुद्धमा लगभग २० हजार गोर्खा सैनिकले ज्यान गुमाएको प्रमाण भेटिन्छ।
दोस्रो विश्वयुद्ध र गोर्खाली सेनाको योगदान
हरेक राष्ट्रले आ–आफ्नै नीतिअनुसार उपनिवेश राष्ट्रबनाउँदै राज्य विस्तार गर्ने सैनिक संख्या पठाउँदै लाने गरे, जसको प्रभाव ब्रिटिसमा पर्नु स्वाभाविक नै थियो। यसरी ब्रिटिसले गोर्खा रेजिमेन्टमा दोस्रो विश्वयुद्धको बेलामा ५५ देखि ६० बटालियन तयार गरेको पाइन्छ। प्रथम विश्वयुद्ध अन्त्यका लागि गरिएको भर्सेलिजको सन्धिले पराजित जर्मनलाई गरेको व्यवहारबाट जर्मनीका तानाशाह एडोल्फ हिटलर, इटालीका तानाशाह बेनिटो मुसोलिनी, जापानका मिलिटरी जनरल ताजोका कारण दोस्रो विश्वयुद्धको प्रारम्भ भएको थियो। १ सेक्टेम्बर १९३९ मा जर्मनीले पोल्यान्डमाथि हवाई तथा स्थलबाट वज्रयुद्ध गरेपछि चर्किएको दोस्रो विश्वयुद्ध १२ सेप्टेम्बर १९४५ मा जापानले आत्मसमर्पणको दस्ताबेजमा हस्ताक्षर गरेपछि अन्त्य भएको थियो। यस युद्धताका नेपालमा राणा शासन रहेको र राणाहरू ब्रिटिसका असल मित्र भएकाले ब्रिटिसलाई सहयोग गरेका थिए।
गोर्खा अदम्य साहस र बहादुरीका लागि भिक्टोरिया क्रस तथा अन्य पदक पाउने हाम्रा वीर गोर्खाली सेनाको नाम उल्लेख गर्दा यहाँ उपयुक्त हुनेछ। कुलवीर थापा मगर भिक्टोरिया क्रस १९१५ फ्रान्स प्रथम विश्वयुद्ध, कर्णबहादुर राना मगर भिक्टोरिया क्रस १९१८ प्लेस्टाइन प्रथम विश्वयुद्ध, लालबहादुर थापा मगर भिक्टोरिया क्रस १९४३ ट्युनिसिया दोस्रो विश्वयुद्ध, गजे घले भिक्टोरिया क्रस १९४३ बर्मा दोस्रो विश्वयुद्ध, गञ्जु लामा भिक्टोरिया क्रस १९४४ बर्मा दोस्रो विश्वयुद्ध, तुलबहादुर पुन भिक्टोरिया क्रस १९४४ बर्मा दोस्रो विश्वयुद्ध, नरबहादुर थापा मगर भिक्टोरिया क्रस १९४४ बर्मा दोस्रो विश्वयुद्ध, अगनसिंह राई भिक्टोरिया क्रस १९४४ बर्मा दोस्रो विश्वयुद्ध, शेरबहादुर थापा भिक्टोरिया क्रस १९४४ इटाली दोस्रो विश्वयुद्ध, थमन गुरुङ भिक्टोरिया क्रस १९४४ बर्मा दोस्रो विश्वयुद्ध, भानुभक्त गुरुङ भिक्टोरिया क्रस १९४५ बर्मा दोस्रो विश्वयुद्ध, लक्ष्मण गुरुङ भिक्टोरिया क्रस १९४५ बर्मा दोस्रो विश्वयुद्ध, रामबहादुर लिम्बु भिक्टोरिया क्रस १९६५ ब्रुनाई, मेजर धनसिंह थापा परमवीर चक्र १९६२ लद्दाक, भारत र नायक नरबहादुर थापा क्षेत्री महावीर चक्र १९७१ पाक युद्धलडेका थिए।
गोर्खालीहरूले दोस्रो विश्वयुद्धमा बर्मामा गरेको आफ्नो कुसल युद्ध प्रदर्शन र बहादुरीको झलक अष्ट्रेलियाको राजधानी क्यानवेराको वार मेमोरियल भवनको भित्तामा राखेको बेटल अर्नर बोर्डमा देख्न सकिन्छ। १५ अगस्ट १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि ब्रिटिस, भारत र नेपालको त्रिपक्षयि सम्झौताअनुसार रेजिमेन्ट विभाजन गरी ४ रेजिमेन्ट ‘सेकेन्ड जीआर, सिक्स जीआर, सेभेन जीआर, टेन जीआर’ ब्रिटिस र बाँकी पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं, नवौं, एकारौं जीआर भारतमै रहने व्यवस्था भएको थियो। भारतले पश्चिम क्षेत्रको गोरखपुर र पूर्वी क्षेत्रको दार्जीलिङमा भर्ती केन्द्र कायम गर्यो भने ब्रिटिसले भारतको यु.पी. लेडामा भर्ती केन्द्र राख्यो। पछि पश्चिमी क्षेत्रको नेपालको पक्लिहवामा र पूर्वको धरानमा भर्ती केन्द्र राख्यो।
२००७ सालमा मुक्ति सेनाको गठन र नेपाली कांग्रेसको सशक्त क्रान्ति
नेपालमा एकछत्र जहानियाँ र निरङ्कुश शासन गरेका तानाशाह राणाहरूले जनतालाई बुट र बन्दुकले दमन गर्न सकिन्छ भन्ने सोचको अन्त्य गर्न राणा शासनको समाप्तिका लागि र प्रजातन्त्र स्थापना गर्न नेपाली कांग्रेसले कम्मर कसेको थियो। भारत स्वतन्त्र भएपछि राणाहरूको भरपर्दो र सहयोगी ब्रिटिसले भारत छोड्नुपर्यो, जसले राणाहरू एक्लिएका थिए। स्वतन्त्र भारतले राणाहरूलाई सहयोग गर्ने अवस्था थिएन। अर्कोतर्फ ब्रिटिसले गोर्खा बटालियनको कटौती गरेपछि घर फर्किएका पूर्व गोर्खाली सेनाहरू नेपाली कांग्रेसको वि.सं. २००७ साल (सन् १९५०) को सशस्त्र क्रान्तिका लागि गठन गरेको मुक्ति सेनामा आबद्ध हुन पुगे। मुक्ति सेनाको संघर्षपूर्ण बलिदानी र नेपाली कांग्रेसको नेतृत्वले गर्दा १०४ बर्से राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र स्थापना हुन पुग्यो।
पञ्चायत विरोधी आन्दोलनमा हाम्रो भूमिका वि.सं. २००७ (सन् १९५०) ११० दिनको सशस्त्र युद्धबाट प्राप्त प्रजातन्त्रको संस्थागत हुन नपाउँदै राजा महेन्द्रले ‘कु गरी प्रजातन्त्रको घाँटी निमोठ्ने काम गरे। पञ्चायती व्यवस्थाको सूत्रपात गरे। तर भूतपूर्व सैनिकहरूले प्रजातन्त्रको पुनः स्थापना र तानशाही कदमको अन्त्य गर्नका लागि नेपाली कांग्रेसको हर कदमलाई साथ दिए। वि.सं. २०१८ मा गुल्मीका सुवेदार रणबहादुर थापा क्षेत्री त्यस क्षेत्रका कमान्डर बनाइए। तर क्रान्ति सफल हुन नपाउँदै उनी र उनका सहयोगीहरूलाई पञ्चायत सरकारले वारेन्ट जारी गर्यो। उनीहरू बस्न नसकी भारत बस्न थाले। त्यसै गरी पञ्चायतविरुद्ध नेपाली कांग्रेसको आन्दोलनमा क्या. यज्ञबहादुर थापालगायतका भूतपूर्व साथीहरू वि.सं. २०२९ मा ओखलढुङ्गामा समातिए र धेरैले सहादत प्राप्त गरे। वि.सं. २०३५ माघ २४ गते क्या. यज्ञबहादुर थापालाई तत्कालीन सरकारले मार्यो।
यसरी नेपाली कांग्रेसले सञ्चालन गरेका थुप्रै प्रजातान्त्रिक आन्दोलनमा धेरै भूतपूर्व सैनिक साथीहरूले आफ्नो प्राण उत्सर्ग गर्नुभएको इतिहास साक्षी छ। नेताहरूको सुरक्षा, युद्धको मोर्चामा भिड्ने कार्य र प्रजातन्त्र स्थापना गर्ने दिशामा भूतपूर्व सैनिकको भूमिका महत्वपूर्ण रहेको छ। पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना भएको छ। २०४६ सालको आन्दोलनपश्चात् पञ्चायतको अन्त्यपछि नेपाली कांग्रेसमा आस्था र विश्वास राख्ने देशभित्र र देशबाहिरका विभिन्न राष्ट्रका राष्ट्रिय सुरक्षा निकायमा सम्बद्ध भूतपूर्व सैनिकहरूले नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा नेपाल भूतपूर्व सैनिक संघको स्थापना गरे। यसले भूतपूर्व साथीहरूको एकता, विश्वास र प्रजातान्त्रिक आस्थालाई अझ बढी प्रभावकारी, सुदृढ र संगठित बनाएको छ। केन्द्रदेखि गाउँसम्म आफ्नो संगठन विस्तार गर्दै छरिएर रहेका प्रजातन्त्रवादी भूतपूर्व सैनिकहरूलाई गोलबद्ध गर्दै आइरहेको छ।
(लेखक भूतपूर्व क्याप्टेन हुनुहुन्छ।)
प्रतिक्रिया