गोरखाका भूकम्पपीडितले दोस्रो किस्ता पाएनन् जिविस भन्छ २ अर्ब खातामा छ



सन्तोष अधिकारी, गोरखा
गोरखा भूकम्प गएको २२ महिना बित्नै लाग्दा समेत यहाँका भूकम्पपीडितले राहतको दोस्रो किस्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति गोरखाले भने भूकम्पपीडितको दोस्रो किस्ताका लागि करिब २ खर्ब खातामा आएर बसेको जनाएको छ।

‘भूकम्पपीडितले माग नै गर्दैनन्’, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले भन्नुभयो– ‘जिविसको खातामा रकम आएर जम्मा भाको भै छ। माग भने अहिलेसम्म त्यै डेढ सय जनाले मात्र गरेका छन्।’ भूकम्पपीडितहरू भने गाउँमा इन्जिनियर नबस्दा दोस्रो किस्ताका लागि माग गर्नबाट समेत वञ्चित भएका छन्। पुनर्निर्माण प्राधिकरणले दोस्रो र तेस्रो किस्ताको माग गर्नका लागि पहिलो किस्ता लिएर घर भूकम्प प्रतिरोधी बनेको छ भनेर इन्जिनियरले प्रमाणित गरेको हुनुपर्छ भनेर कार्यविधिमा उल्लेख गरेको छ। भूकम्पपीडितका लागि भनेर जिल्ला विकास समितिको कार्यालयलाई अख्तियारी हुने गरेर अहिलेसम्म २ अर्ब ६ करोड रुपियाँ रहेको स्थानीय विकास अधिकारी आचार्यले जानकारी दिनुभयो।

पहिलो किस्ताबाट बाँकी रहेको २२ करोड, गएको तिहारलगत्तै आएको ९९ करोड र सोमबार आएको ८५ करोड रुपियाँ खातामा जम्मा भएर बसेको छ। ‘पैसा खातामा थन्किएको छ। दुःखको कुरा कोही रकम माग्न आउँदैन’ –आचार्यले भन्नुभयो। जिल्लामा अहिले १ सय ३० जनाको हाराहारी इन्जिनियर तथा प्राविधिक रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले बताउँछ।

उता सोही कार्यालयले नै सरदरमा अहिले हरेक दिन एक वा दुई जना इन्जिनियरहरूले राजीनामा दिने गरेको पनि बताउँछ। ५८ हजार लाभग्राही रहेका गोरखामा ५५ हजारभन्दा धेरैले पहिलो किस्ताको सम्झौता गरी रकम झिकेर लगेका छन्। नेपाल सरकारको तर्फबाट अहिलेसम्म १७ जना भूकम्पपीडितले र करिब डेढ सय भूकम्पपीडितले विभिन्न गैरसरकारी संस्थाहरूमार्फत् दोस्रो किस्ता पाइसकेका छन् भने अन्य हजारौं भूकम्पपीडितले भने दोस्रो किस्ताको सिफारिस गर्न कोही प्राविधिक कुरेर बसेका छन् भने कोही प्रक्रिया नबुझेर अल्मलिएर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्