ईपीजी बैठक चैतको पहिलो साता


काठमाडौं, (नेस)
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को तेस्रो बैठक आगामी चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ।

भारतीय पक्षले यही साता बैठकका लागि पत्राचार गरेसँगै बैठकको मिति तय भएको ईपीजी सचिवालय सचिव यादव खनालले जानकारी दिनुभयो।

यसअघिको बैठक पोखराका लागि तय भए पनि अहिलेको बैठक काठमाडौंमा आयोजना हुने उहाँले बताउनुभयो। गत पुस ७ र ८ गते पोखरामा हुने निधो भएको ईपीजीको तेस्रो बैठक भने भारतीय पक्षको अनुरोधमा स्थगित भएपछि नयाँ मिति तय हुन सकेको थिएन।

२ वर्षे कार्यअवधि तोकिएको समूहको बैठक हरेक ३⁄३ महिनामा एक अर्को मुलुकमा बस्ने भनिए पनि पहिलो बैठक गत असार तेस्रो साता काठमाडौंमा र दोस्रो बैठक असोज तेस्रो साता दिल्लीमा सम्पन्न भएको थियो।