कुट्ने र रुने


सत्ता पक्ष र प्रतिपक्षबीच भिडन्त हुने गरेको दृश्य धरहराले लामो समयदेखि देख्दै र सुन्दै आएको हो तर नेपालमा त सत्ता पक्षबीच नै आन्दोलन भएर सत्ता पक्षका नेता कार्यकर्तालाई प्रहरीले गोली हानेको धरहराले पहिलोपटक देखेको छ।

सन्दर्भ सप्तरी घटनाको हो। मधेसी मोर्चाले सरकारको समर्थन गरेर सत्ता पक्षमा बस्ने अनि सत्ता पक्षको सुरक्षा गर्ने प्रहरीमाथि ढुंगामुढा गर्ने काम भयो। अनी सत्ताको संरक्षण गर्ने प्रहरीले सत्ता पक्षका मान्छेलाई गोली हानेर मार्ने काम भयो भनिए पनि अहिले कुनै दलमा नलागेका सर्वसाधारण मारिएको रहस्योद्घाटन भइरहेको छ।

एउटा पक्ष कुटेझैं गर्ने र अर्को पक्ष रोएझैं गर्ने यो परिपाटीले जनतालाई चाहिँ अनाहकमा दुःख दिने काम भइरहेको छ। आफूचाहिँ घरभित्र बसेर जनतालाई आफ्नै सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न लगाई सत्ता पक्ष मोर्चाका नेता–कार्यकर्ताले कसलाई खुसी बनाउन खोजेका हुन् धरहराले बुझेको छैन।