विद्यालयमा डीआई राख्नुभएको छ ? हटाइहाल्नुस्



ईश्वरराज ढकाल, काठमाडौं
तपाईंले विद्यालयमा डीआई (डिसिप्लिन इन्चार्ज) अर्थात् अनुशासन इन्चार्ज राख्नुभएको छ? तुरुन्तै हटाउनुस् नत्र कारबाहीमा पर्नुहोला। डीआई राख्ने अनि साना बालिबालिकालाई पिट्ने यस्तो काम तत्काल बन्द गर्नुस्। यतिसम्मकी डीआईले बेन्चका खुट्टाले समेत पिट्ने गरेको उजुरी पर्न थालेपछि डीआई हटाउन लागिएको हो।

तपाईंहरूले यस्तो काम गर्ने गर्नुभएको छ कि छैन? डीआई राख्नुभएको छ भने तत्काल हटाउनुस्, नत्र हामी अनुगमनमा आउँछौं अनि त्यति बेला देखाउनेछौं, जिल्ला शिक्षा कार्यालय काठमाडौंका प्रमुख जयाप्रसाद आचार्यले बताउनुभयो। प्रमुख आचार्यले पछिल्लो समय डीआई आतंकको बारेमा गुनासो गर्नुभयो– ‘यो विषयमा त तपाईंहरूले पनि कलम चलाइदिनुपर्यो।

‘प्रिन्सिपलका ज्यादतीको विषयमा धैरै उजुरी दर्ता भइसकेको छ। केही विद्यालयका प्रिन्सिपललाई कारबाहीसमेत गरिसकेका छौं। –उहाँको भनाइ थियो।

जिल्ला शिक्षा कार्यालयमा दैनिक दुई दर्जनजति प्रिन्सिपल जिशिअलाई भेट्न आउने गरेका छन्। अहिले त नयाँ आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयं जिल्ला शिक्षा अधिकारीसमक्ष अनिवार्य उपस्थित हुनुपर्ने भएपछि अध्यक्षलाई साथमा लिएर प्रिन्सिपलहरू जिशिका धाउन थालेका छन्। तपाईंको स्कुलमा डीआई छ कि छैन? फि कति उठाउने गर्नुभएको छ? विद्यार्थी कति छन्? तपाईं कतिऔं अध्यक्ष हुनुहन्छ? लगायतका विषयमा केरकार गरेर मात्रै जिशिअले नियुक्तिपत्र दिने भएपछि अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिसिअकहाँ आउन थालेका छन्।

अघिल्ला जिशिअले विद्यालयले अध्यक्ष नियुक्त भएको पत्र ल्याएपछि हस्ताक्षर गरेर पठाउने गरेका थिए। हेर्नुस् न कतिपय हुँदै नभएका व्यक्ति एक दर्जनभन्दा बढी विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष हुने गरेको प्रमाण भेटिएपछि निजी विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नै बोलाउने गरेको जिशिअ आचार्यले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई बोलाएपछि अब डीआई राखेको छ कि छैन भन्ने विषयमा अनुगमन गर्नेछौं।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले अहिले विद्यालयमा डीआई नभई सीआई (काउन्सिलिङ इन्चार्ज) राख्ने गरेको बताउनुभयो।

डीआईको विषयमा नकारात्मक कुरा बाहिर आउन थालेपछि सीआई राख्ने गरेको उहाँले बताउनुभयो। काठमाडौंमा करिब १ हजार २ सय निजी विद्यालय सञ्चालित छन्। विद्यार्थी र अभिभावकलाई देखाउन केही ठूला विद्यालयले कराते, बक्सिङ, उसुलगायतका खेलाडीलाई डीआई नियुक्त गर्ने गरेका छन्। डीआई हटाउन निर्देशन दिनुभएको छ त भन्दा अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘छैन, किन निर्देशन दिनू? विद्यालयले बुझिहाल्छन् नि।
जिल्ला शिक्षा कार्यालय काठमाडौंमा प्याब्सनका प्रतिनिधि अर्जुन अधिकारीले विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई अनिवार्य उपस्थित हुनुपर्ने र डीआई हटाउनुपर्ने विषयमा जिशिकाले कडाइ गरेको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘राजधानीमा सञ्चालित अधिकांश विद्यालयले विद्यार्थी तहलगायत डीआई राख्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्