सुरक्षाबारे सरकारसँग कुरा गर्दै आयोग


प्रमुख निर्वाचन आयुक्तको घर नै तोडफोड भएपछि आयोगले ध्यानाकर्षण गराउँदै

सुनील महर्जन, काठमाडौं

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सुरक्षाको उचित प्रबन्ध गर्न सरकारसमक्ष माग गरेको छ।

राजनीतिक दलहरूबीच बेमेल भइरहेको र तराई मधेसमा हिंसात्मक घटना बढिरहेको भन्दै आयोगले शान्ति सुरक्षाको उचित प्रत्याभूति गर्न माग गरेको हो। सोमबार सप्तरीको राजविराजमा भएको घटनालगत्तै मधेसी मोर्चाले थालेको आन्दोलनले तराई–मधेस तनावग्रस्त रहेको छ। बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घर र तराई मधेसका विभिन्न जिल्लाका निर्वाचन कार्यालय तोडफोड गरेको अवस्थालाई आयोगले गम्भीरतापूर्वक लिएको छ।

मधेसी मोर्चाको आन्दोलनका कारण तराई मधेसमा निर्वाचन कार्यालय तोडफोड गर्न थालेपछि कर्मचारीहरू असुरक्षित रहेको रिपोर्टहरू आयोगमा पठाउन थालेको आयोगले जनाएको छ। यसै अवस्थामा शान्ति सुरक्षाको प्रत्याभूत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र गृहमन्त्रीलाई भेटेर औपचारिक रुपमा आग्रह गर्ने आयोगले तयारी गरिरहेको छ।

‘हिंसात्मक घटनाहरू बढेका छन्। मेरो घर तोडफोड भएको छ। तोडफोड हुँदा छोरो बाहिर रहेछ। मानवीय क्षति हुन पाएन, अघिपछि भन्दा निकै तनावमा देखिनुभएका डा. यादवले भन्नुभयो– ‘सुरक्षा थ्रेट बढेको छ। यो समस्या सल्टाउने राजनीतिक दलहरूको जिम्मेवारी हो। डा. यादवको सप्तरीस्थित घरमा बुधबार तोडफोड भएको थियो।

आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत मतदाता शिक्षा सामग्री जिल्ला जिल्लामा पठाउने तयारी गरिरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चैतको पहिलो सातादेखि दोस्रो सातासम्म जिल्ला, गाउँ र नगरसम्म मतदाता शिक्षा सामग्री ढुवानी गर्नुपर्दछ। ‘तराई मधेसमा निर्वाचनका कार्यालयका कर्मचारी यस्तै असुरक्षित रहने हो भने ती सामग्री ढुवानी गर्न निकै कठिनाइ हुनेछ। –उहाँले भन्नुभयो।

आयोगको कार्ययोजना अनुसार आयोगले अहिले मतदाता शिक्षा सामग्री तयारी, उत्पादन ढुवानी र मतदाता शिक्षा स्वयंसेवक नियुक्ति र तालिम र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। चार महिनामा तयारी गर्नुपर्ने निर्वाचनको व्यवस्थापकीय काम ८२ दिनमा गर्दछु भनेर आयोगले चुनौती स्वीकार गरेको उल्लेख गर्दै त्यसलाई दलहरूले सघाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त डा. यादवको धारणा रहेको छ।

अहिलेको परिस्थितिमा निर्वाचन हुने सम्भावना कतिको देख्नुहुन्छ भन्ने प्रश्नमा आयुक्त ईश्वरीप्रसाद घिमिरेले निर्वाचन आयोगले दिन रात, सार्वजनिक बिदा नभनेर व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको बताउँदै भन्नुभयो– ‘निर्वाचनको मुख्य खेलाडी भनेका राजनीतिक दलहरू हुन्। दलहरूलाई खेल मैदानमा सघाउने, रेफ्री बन्ने काम आयोगको हो। निर्वाचन आयोगले पूरा तयारी गर्नेछ।

यसैबीच आयोगले स्थानीय तह निर्वाचन नियमावली स्वीकृत गरेको छ भने बाँकी तीनवटा नियवमाली यसै साता तयार हुने जनाएको छ। यसैबीच सरकारले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन आंशिकरूपमा आयोगलाई पठाएको छ।