दुई अर्ब खातामा हुँदा हुँदै पनि भूकम्प पिडितले दोस्रो किस्ता पाएनन्



सन्तोष अधिकारी,गोरखा

गोरखा भूकम्प गएको २२ महिना वित्नै लाग्दा समेत यहाँका भूकम्प पिडितहरुले राहतको दोस्रो किस्ता पाउन सकेका छैनन् । जिल्ला विकास समिती गोरखाले भने भूकम्प पिडितको दोस्रो किस्ताका लागि करिब दुई खर्ब खातामा आएर बसेको जनाएको छ ।

‘भूकम्प पिडितहरुले माग नै गर्दैनन्’ स्थानीय विकास अधिकारी नारायण प्रसाद आचार्यले भने ‘जिविसको खातामा रकम आएर जम्मा भाको भै छ । माग भने अहिले सम्म त्यै डेढ सय जनाले मात्र गरेका छन् ।’

भूकम्प पिडितहरु भने गाउँमा इञ्जिनियर नबस्दा दोस्रो किस्ताका लागि माग गर्नबाट समेत बञ्चित भएका छन् । पुननिर्माण प्राधिकरणले दोस्रो र तेस्रो किस्ताको माग गर्नका लागि पहिलो किस्ता लिएर घर भूकम्प प्रतिरोधी बनेको छ भनेर इञ्जिनियरले प्रमाणित गरेको हुनुपर्छ भनेर कार्यविधिमा उल्लेख गरेको छ ।

भूकम्प पिडितको लागि भनेर जिल्ला विकास समितीको कार्यालयलाई अख्तियारी हुने गरेर अहिले सम्म दुई अर्ब छ करोड रुपैँया रहेको स्थानीय विकास अधिकारी आचार्यले जानकारी दिए ।

पहिलो किस्ताबाट बाँकी रहेको २२ करोड, गएको तिहार लगत्तै आएको ९९ करोड र सोमबार आएको ८५ करोड रुपैँया खातामा जम्मा भएर बसेको छ । ‘पैसा खातामा थन्किएको छ ।

दुखको कुरा कोही रकम माग्न आउँदैन’ आचार्यले भने । जिल्लामा अहिले एकसय ३० जनाको हाराहारी इञ्जिनियर तथा प्राविधिकहरु रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले बताउँछ ।

उता सोही कार्यालयले नै सरदरमा अहिले हरेक दिन एक वा दुई जना इञ्जिनियरहरुले राजीनामा दिने गरेको पनि बताउँछ । ५८ हजार लाभग्राही रहेका गोरखामा ५५ हजार भन्दा धेरैले पहिलो किस्ताको सम्झौता गरी रकम झिकेर लगेका छन् ।

नेपाल सरकारको तर्फबाट अहिले सम्म १७ जना भूकम्प पिडितले र करिब डेढसय भूकम्प पिडितले विभिन्न गैरसरकारी संस्थाहरु मार्फत दोस्रो किस्ता पाइसकेका छन् भने अन्य हजारौँ भूकम्प पिडितले भने दोस्रो किस्ताको सिफारिस गर्न कोही प्राविधिक कुरेर बसेका छन् भने कोही प्रक्रिया नबुझेर अल्मलिएर बसेका छन् ।

भूकम्पको केन्द्र विन्दु बारपाक, लगायत जिल्लाका भूकम्प प्रभावित गाविसहरुमा कार्यविधि भन्दा अघि बनेका घरहरुले आफुहरुले राहतको दोस्रो किस्ता पाउने या नपाउने बारे सरकारले स्पष्ट पार्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्