विद्यालय नेतृत्वमा महिला नगण्य



हेटौंडा,(नेस) ।मकवानपुरका ५ सय १४ सरकारी विद्यालयमध्ये ९ वटा विद्यालय व्यवस्थापन समितिमा मात्र महिला अध्यक्ष चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिमा महिलाको सहभागिता बढाउने लक्ष्यसहित सरकारले निर्वाचित र मनोनित हुने दुवैतर्फ समान संख्यामा महिला उपस्थिति रहनुपर्ने व्यवस्था गरेको छ ।

असारमा जारी भएको नयाँ ऐनमा अभिभावक भेलाबाट २ महिलासहित ४ जना अभिभावक चयन हुनुपर्ने व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने विद्यालय व्यवस्थापन समितिमा एकजना शिक्षक प्रतिनिधि, १ जना महिलासहित २ जना मनोनित र वडा अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । यसरी हेर्दा कम्तिमा पनि विद्यालय व्यवस्थापन समितिमा ३ जना महिला निश्चित छ । तर, नेतृत्वमा महिलाको उपस्थिति नगण्य छ ।

मकवानपुरको हाँडीखोला गाविस–८, वसन्तपुरस्थित भोजसिद्ध माविमा इन्द्रकुमारी मिजार, थाहानगरको बज्रबाराहीस्थित दुर्गादेवी आधारभूत विद्यालयमा चमेली वाइबा, सुकौरा गाविसस्थित आधारभूत शिक्षा आधारभूत विद्यालयमा दिलकुमारी थिङ, छतिवन गाविस–९ स्थित जनस्थापित रत्न आधारभूत विद्यँलयमा सृजना लुङ्वा, फापरबारी गाविस–३ स्थित देवकी माविमा जानकी जर्घा, निबुवाटार गाविस–६ स्थित कालीदेवी आधारभूत विद्यालयमा ज्ञानु पुडासैनी, राइगाउँ गाविस–२ स्थित सूर्य माविमा धनमाया स्यांतान, राइगाउँ–८ स्थित जनप्रभात आधारभूत विद्यालयमा र राइगाउँ आधारभूत विद्यालय शाखाटारमा बच्चु खड्का अध्यक्ष निर्वाचित भएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षमा निर्वाचित ८ जनामध्ये सुकौरा गाविसस्थित आधारभूत शिक्षा आधारभूत विद्यालयमा थिङ यसअघि अध्यक्ष हुनुहुन्थ्यो भने निबुवाटार गाविस–६ स्थित कालीदेवी आधारभूत विद्यालयमा पुडासैनी यसअघि सदस्य हुनुहुन्थ्यो । नयाँ व्यवस्थाले ७ जनालाई नयाँ अध्यक्षको रुपमा स्थापित गरेको छ । राइगाउँ गाविसमा ३ विद्यालयमा महिला अध्यक्ष भएका छन् । स्रोतव्यक्ति मोदनाथ पोखरेलका अनुसार महिलाले चासो देखाएका कारण अध्यक्ष भएको बताउनुभयो । राईगाउँका तीनवटै विद्यँलयमा नेतृत्व गर्ने महिला राजनीतिक संगठन, स्थानीय संस्थाहरुमा पनि सक्रिय रहेको स्रोतव्यक्ति पोखरेलको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिमा सदस्यका रुपमा बाध्य भएर छनोट हुने अवसर पाए पनि महिलाले नेतृत्वको अवसर भने कम पाएका छन् । नेतृत्व पाएका विद्यालय पनि अधिकांश ग्रामीण भेगका छन् । हेटौंडा उपमहानगर क्षेत्रमा एउटा पनि विद्यालयको व्यवस्थापन समितिमा महिला अध्यक्ष निर्वाचित भएनन् ।

नेतृत्वमा आउने थोरै संख्यामा महिला पनि स्थानीय समुदायका विभिन्न संघ, संस्थामा आवद्ध भएर सक्रिय छन् । विद्यालयको प्रधानाध्यापक पनि नगण्य संख्यामा महिला छन् । सिद्धार्थ स्रोतकेन्द्र कार्यक्षेत्र भएका विद्यालय निरीक्षक देवनारायण चौधरीका अनुसार महिलाहरु सामाजिक सेवाको क्षेत्रमा सक्रिय हुनुपर्छ भन्ने विषयमा सचेत नहुनु, अगुवाई लिन अनिच्छा व्यक्त गर्नु, घरायशी कामले भ्याइन्न भनेर नेतृत्वमा आउन नसकेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्