उनको विश्वासः महिला शिक्षित भए देश विकास

0
Shares

ईश्वरराज ढकाल

मार्च ८ अर्थात् नारी दिवस नारी आन्दोलन र अगुवाहरूको महत्त्वपूर्ण दिन। महिला मुक्तिका लागि लडेर स्थापित भएको नारी दिवस विश्वभर मनाइँदै छ।

सन् १९०६ मा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन्। त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर हड्ताल र विशाल जुलुश प्रदर्शन गरे।

त्यसैको सम्झनास्वरूप अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि नै मनाउन थालियो। नेपाल समाचारपत्रले पनि अन्तर्राष्ट्रिय महिला दिवसलाई विशेष महत्त्व दिँदै महिलाप्रति नै समर्पित गरेर आजको अंकमा सामग्री प्रकाशित गरेको छ। यसै सन्दर्भमा दुई दशकदेखि शिक्षा क्षेत्रमा समर्पित एक महिलालाई हामीले आधुनिक नारीका रूपमा कुराकानी गरेका छौं। सन् २०१० देखि स्वयम्भुमा संस्कृति इन्टरनेसन स्कुल खोलेर चर्चामा आउनुभएकी दीप्ति आचार्यको भनाइमा नारी दिवस विश्वका नारीको हक अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण दिन हो।

एकजुकेसनलाई प्यासनका रूपमा हेर्नुभएकी उहाँले महिला र पुरुषको अधिकार समान हुनुपर्नेमा जोड दिनुभयो। भन्नुहुन्छ– ‘शिक्षाको विकास नभई मुलुक विकास हुन सक्दैन। म एउटी नारी भएकाले शिक्षामा लगानी गरेर यहाँसम्म आउनु मेरा लागि महत्त्वपूर्ण अवसर हो। त्यसो त त्यसका लागि मेरा पतिको महत्त्वपूर्ण भूमिका रहेको छ। शुरूमा ३ जना बच्चाबाट शुरू भएको यो विद्यालय अहिले नेपालमा ख्याति कमाउन सफल भएको छ। वास्तवमा यसको श्रेय महिला शिक्षकलाई नै जान्छ। एम्पेथी र सेम्पेथी दुवै हुने भएकाले मैले महिलालाई विशेष प्राथमिकता दिएको छु। महिलाले सञ्चालन गरेकै कारण मेरो स्कुल उचाइमा पुग्न सफल भएको छ। १ सय जना कर्मचारीमध्ये अधिकांश महिला छन्। उनीहरूको सहयोगबाट विद्यालय सञ्चालन भइरहेको छ।

म मेरो पेसाप्रति अति नै सन्तुष्ट छु। काम गर्न मज्जा लागिरहेको छ। अधिकांश समय स्कुलमा बिताउँछु। महिला भएकाले नै होला मेरो जिम्मेवारी बढेको जस्तो लागेको छ। मत यो भन्छु कि महिला एक्लैले मात्रै केही काम गर्न सक्दैनन्।

पुरुषको पनि त्यतिकै साथ र सहयोगको आवश्यकता छ। भन्न खोजेको यो स्कुललाई यो स्थानमा ल्याउन मेरा पति रञ्जित आचार्यको पनि उत्तिकै सहयोग छ। मलाई स्कुल खोल्दा एकदमै दुःख भयो। घर छोडेर अमेरिका गएर पढें। ३ वर्षको छोरी छोडेर विदेशमा गएँ। त्यहाँबाट थप अध्ययन पूरा गरेर नेपाल आएँ। अहिले विद्यालय सञ्चालन गरिरहेकी छु, खुसी लागेको छ। मेरो स्कुल अन्यको भन्दा फरक छ। अधिकांश महिला शिक्षिका छन्। विद्यालयमा जीवनसँग जोडिएको विषयमा बढी पढाइ हुन्छ। यो विद्यालयबाट विद्यार्थीले सिक्ने अधिकांश विषय जीवन उपयोगी नै हुन्छ। मैले भन्न खाजेको यो हो कि विद्यार्थीको जीवनसँग मेल खाने विषयलाई हामीले उच्च प्राथमिकतामा राखेर पठनपाठन गराउने गरेका छौं।’

नारी दिवस कल्चर हो। सबैले मनाउँछन् र मनाउनुपर्छ पनि। नेपालको सन्दर्भमा भन्नुपर्दा पुरुषप्रधान देश भएकाले अहिले पनि अधिकांश नारीहरू डोमिनेट हुनुपरेको छ। घरको सबै काम महिलाले नै गर्नुपर्ने, खाना पकाउनदेखि घरायसी, सम्पूर्ण काम महिलाले मात्रै गर्नुपर्ने यो नै भेदभाव हो। यसलाई पूरै परिवर्तन गर्नुपर्छ। अधिकार दिएर मात्रै भएन साँच्चीकै अधिकारका लागि लड्नुपर्छ। म त भन्छु– महिलाले जति काम गर्छन् त्यति नै काम पुरुषले गर्नुपर्छ। मिलेर काम गर्र्नुपर्छ। एक हातले ताली बज्दैन भनेको जस्तै दुवै हातले (अर्थात् महिला र पुरुष मिलेर काम गर्नुपर्छ) ताली बजाउनुपर्छ। एउटै काम हो नारी र पुरुष दुवैले मिलेर गर्नुपर्छ।

अहिले नै नियुक्ति चाहिएको छैन, पछि सोचौंला। सरकारले राजनीतिक नियुक्ति दियो भने तत्काल चाहिँदैन भन्छु। किनकि मेरो पहिलो दायित्व नेपालमा शिक्षाको विकास गर्नु हो। त्यसका लागि विद्यालय सञ्चालन गरिरहेको छु। अहिले नेपालको शिक्षा क्षेत्रको विकास गर्नु हामी जस्ता नारीको दायित्व हो। स्कुल छाडेर राजनीति गर्नु नराम्रो लाग्छ। मेरो काम नेपालको विद्यालय सुधार गर्नु हो। नेपालको शिक्षा क्षेत्रको विकास भए मात्रै देशको विकास हुन्छ हामीले सोचेको नारी दिवसको पनि सार्थकता हुन्छ।

महिलाका लागि विद्यालय नै राम्रो हो। किनकि यसले समय बढी पाउँछ। आफूले अन्य काम गर्न सकिन्छ। मलाई लाग्छ बैंकको भन्दा राम्रो रोजगारी विद्यालयमा छ। मैले २० वर्षदेखि गरेको योगदान अहिले सफल हुन सकेको छ। मलाई लाग्छ नेपालको शिक्षा क्षेत्रको विकासका लागि हरेक महिला शिक्षक हुनैपर्छ। शिक्षाको उज्यालो छर्न जति महिलाले सक्छन् त्यति पुरुषले सक्दैनन्। देशमा शिक्षाको विकास भए मात्रै समग्र विकास सम्भव छ। महिलाको मनपर्ने पेसा शिक्षक बनाउन महिलाले यस क्षेत्रको विकासका लागि लाग्नुपर्छ। मैले त जिन्दगीमा स्कुल खोले अब स्कुलबाट प्रगति गर्नेछु। म एउटा नारी भएको हैसियतले यो पनि भन्न चाहन्छु कि मुलुकको समग्र विकास गर्ने हो भने नारीले शिक्षा क्षेत्रमा योगदान गर्नुपर्छ। हरेक महिला शिक्षित हुनुपर्छ। महिला शिक्षित भए भने महिला अधिकार स्थापित हुन सक्छ।