विदुर, २४ फागुन । नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चालकसहित पाँचजना घाइते भएका छन् । निर्माण सामग्री पुर्याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका १६ वर्षका खतिवडालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका थप्रेक–६ का रुपेश नेपाली, राजकुमार तामाङ र लाठो तामाङलाई उपचारका लागि काठमाडाँैको ग्रिनसिटी अस्पताल लगिएको छ ।
दुर्घटना भएको बा ४ ख ९९५ नम्बरको मिनीट्रकका चालक पञ्चकन्याका उमेश रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक रुम्बासहित मिनीट्रकमा रहेका सुन्दरादेवीका रवीन्द्र तामाङ पनि घाइते भएका छन् ।
थप्रेकको आरुखर्कमा बालुवालगायतको निर्माण सामग्री पुर्याएर फर्कने क्रममा कुलकुले भन्ने स्थानमा कच्ची सडकमा सन्तुलन गुमाउँदा दुर्घटना हुँदा मिनीट्रक २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया