अभिभावक दिवस सम्पन्न


भक्तपुर, (नेस)
गठ्ठाघरस्थित इम्मानुयल इंग्लिस स्कुलले अभिभावक दिवस तथा दीक्षान्त समारोह आयोजना गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले विद्यालयले अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलापमासमेत त्यतिकै ध्यान दिएका बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेरकुमार बमले पछिल्लो समय विद्यालयको व्यवस्थापन परिवर्तन भएसँगै विद्यालयमा गुणात्मक सुधारका प्रयास भएको जानकारी दिनुभयो। विद्यालयकी प्रधानाध्यापक रूपा वैद्यले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताउँदै इम्मानुयल स्कुल केही वर्षभित्रै जिल्लाकै नमुना विद्यालयका रूपमा स्थापित गराउने प्रतिबद्धता जनाउनुभयो। विद्यालयका अभिभावक–शिक्षक संघका अध्यक्ष शिवराज नेपालले यस वर्ष पनि पुरानै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्र्रदान गरिने जानकारी दिँदै केही समयभित्रै विद्यालयका सकारात्मक नतिजा देखापर्ने बताउनुभयो।

नर्सरी, एलकेजीका स–साना बालबालिकाको गीत तथा नृत्यबाट शुरू भएको कार्यक्रममा यूकेजीका ३६ विद्यार्थीलाई दीक्षित गर्दा सबैको ध्यान केन्द्रित भएको थियो। दीक्षित विद्यार्थीलाई सीभीएम स्कुलका प्रिन्सिपल शंकरप्रसाद पौडेललाई यूकेजी पार गरेका विद्यार्थीलाई शपथ खुवाउन लगाइएको थियो।

प्रिन्सिपल पौडेलसँगै स्नातक, स्नातकोत्तरका दीक्षान्त समारोहमा लगाउने गाउन, टोपी लगाएका कलिला विद्यार्थीले प्रि–स्कुल पार गरेपछि पनि इमान्दार बनेर, गृहकार्य गर्ने, अध्ययनमा ध्यान दिने र ज्ञानी मान्छे बनेर अभिभावको चाहना पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। त्यस क्रममा दीक्षित हुने विद्यार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा अधिकांश समय विद्यालयकै विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए। राष्ट्रिय गानबाट शुरू भएको कार्यक्रममा स्वागत गीत, विद्यालय गीत मात्र होइन, रमाइला गीत र नृत्यले सबैको मन छोएको थियो। कार्यक्रममा विद्यालयका स्काउट विद्यार्थीले गीत गाएका थिए भने तेक्वान्दो खेलाडीले रमाइलो प्रदर्शन गरेका थिए।