दर्पण छायाँ फर्कंदै

0
Shares

निर्माता, निर्देशक तथा अभिनेता तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बनेको दर्पण छायाँ–२ आगामी शुक्रबार रिलिमा आउने भएको छ। फिल्मबारे जानकारी दिन सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरिएको थियो।

साबु गदाल कार्की र रवि कार्कीको संयुक्त निर्माणमा बनेको फिल्मबाट सहारा कार्कीले डेब्यु गरेकी छिन्। उनी डेब्यु नायक पुष्पल खड्काको अपोजिटमा देखिनेछिन्।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक तुलसी घिमिरेले फिल्म सपरिवार हेर्न सकिने भन्दै नेपाली फिल्ममा नयाँ जेनेरेसन आएको र उनीहरुमा ठोस योजना रहेको बताए। ‘हामीले छिमेकी राष्ट्रको सिको गरेर नेपालमा फिल्म बनायौं। प्रकाश थापा दाइहरुले पनि त्यस्तै गर्नुभयो। नेपाली फिल्म क्षेत्रमा धेरै गाह्रो स्थिति पार गरेर आयौं, तर अहिलेको जेनरेसन त्यस्तो छैन। उनीहरुको काम गर्ने शैली फरक छ’ –उनले भने। नवनायिका साहराले तुलसी घिमिरेको निर्देशनमा रहेको फिल्मबाट डेब्यु गर्न पाएकोमा निकै खुसी लागेको बताइन्। ‘हामीले काम गर्दा एकजुट भएर राम्रो काम गरेका छौं। यस्तो टिम फेरि पनि पाउन सक्दिनँ’ –उनले भनिन्।

नवनायक पुष्पल खड्काले ३ महिनादेखि दर्पण छायाँ–२ मा काम गरिरहेको र यसबाट आफूले धेरै सिक्ने मौका पाएको बताए। फिल्मका निर्माता साबु गदाल कार्कीले फिल्म गुणस्तरयुक्त बनेको दाबी गर्दै नेपाली कला र संस्कृति झल्कने कथा रहेको बताइन्। ‘तुलसी घिमिरेको निर्देशनमा रहेको फिल्ममा हिरोइन बन्छु भन्ने सपना थियो। त्यो त पूरा भएन, तर उहाँजस्तो निर्देशकसँग मिलेर फिल्म बनाउन पाउँदा निकै खुसी लागेको छ’ उनले भनिन्। त्यस्तै फिल्मकी अर्की कलाकार श्रद्धा प्रसाईंले फिल्ममा काम गर्दाको अनुभव शेयर गर्दै आफूले साहरासँग काम गर्दा साथीभन्दा पनि दिदीबहिनी जस्तो भएको बताइन्। अर्का कालाकार फिरोज तिमल्सिनाले तुलसी घिमिरेको फिल्ममा काम गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए। फिल्ममा छायांकन रामेश्वर कार्कीको, संगीत रञ्जित गजमेर तथा गीत साबु गदाल कार्की र रवि कार्कीको रहेको छ।