स्वीकृति लिएर मात्र हेलिकोप्टर चढ्न निर्देशन स्ववियुका बाँकी निर्वाचन गर्न पनि बाधा


नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचन आयोगले आफ्नो स्वीकृत लिएर मात्र हेलिकोप्टर चढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड समक्ष आग्रह गरेको छ। आयोगको आइतबार बसेको बैठकले सो आग्रह गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।

सोही निर्णयअनुरूप प्रधानमन्त्री ‘प्रचण्ड ले राजनीतिक कामको सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्वस्वीकृति लिनुपर्ने र निर्वाचन प्रचारप्रसार काममा संलग्न हुन नुहने भन्दै आयोगले सम्भवतः आज सोमबार पत्राचार गर्नेछ।
त्यसै गरी मन्त्रीहरूले आयोगको स्वीकृति लिएर मात्र जिल्लाको सदरमुकामसम्ममा निजी सवारीसाधन प्रयोग गर्न पाउने पनि आयोगले जनाएको छ। सांसद्हरूले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारका लागि सरकारी सवारीसाधन एवं सरकारी साधन स्रोत प्रयोग नगर्ने व्यवस्था गर्न व्यवस्थापिका संसद् सचिवालयलाई निर्देशन दिने पनि आयोगले निर्णय गरेको छ।

विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेसागत संघ–संगठनहरूको पूर्वनिर्धारित कार्यतालिकाबाहेकका निर्वाचन नगर्न, नगराउन सरकारलाई निर्देशन दिनेसमेत आयोगले निर्णय गरेको छ।
लोकसेवा आयोग तथा न्याय सेवा आयोग आफैंले सञ्चालन गरेको पदपूर्ति प्रक्रिया निरन्तर सञ्चालन हुनेछ। सोबाहेक लोकसेवा आयोगको अध्यक्षता वा प्रतिनिधित्व गरी सञ्चालन भएका विभिन्न संघ–संस्थाका (राजनीतिक नियुक्तिबाहेक) कर्मचारीको पदपूर्ति प्रक्रियालाई निरन्तरता दिन सहमति दिने तर अन्तर्वार्ताबाट मात्र कर्मचारी छानिने भएमा त्यस्तो पदपूर्ति कार्य निर्वाचन अवधिभर रोक्ने निर्णय भएको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो।