उद्योगीलाई हेर्ने दृष्टि परिवर्तन गर्न आग्रह

0
Shares

हेटौंडा, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिमा परिवर्तन आउनुपर्ने बताउनु भएको छ।

मकवानपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सव तथा ५०औं वार्षिक साधारणसभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै मुरारकाले उद्योगधन्दा देशको मेरुदण्ड भए पनि सरकारको हेर्न दृष्टि फरक भएको बताउनुभयो। हालको अवस्थामा उद्योग विकास कछुवा गतिमा भएको उहाँको गुनासो छ। ‘उद्योगको विकास दौडिएर गर्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो।

कार्यक्रममा मध्यमाञ्चल उद्योग वाणिज्य संघ अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष हिटलर विशेत्लगायतले मन्तव्य ब्यक्त गरेका थिए। स्वर्ण महोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंसहित चार पत्रकारलाई सम्मान गरिएको छ।

संघले प्रेमलाल स्मृति पत्रकारिता पुरस्कारबाट नगद दश हजार रुपियाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारका र संघ अध्यक्ष राजकुमार न्यौपानेले सम्मानित गरेका थिए। साझाकुरा दैनिकका सुभास बिडारी, कारोबार दैनिकका संवाददाता रुपेश दुलाल, खबरब्रेक डट्कमका धर्मेन्द्र दाहाललाई सम्मान गरिएको छ। सवैलाई जनही नगद १० हजार रुपियाँका दरले सम्मानित गरिएको हो।

त्यस्तै नेपाल समाचारपत्र दैनिकका संवाददाता रोशन पराजुली र टिम टेलिभिजनका पुष्पराज अधिकारीलाई कदरपत्र र दोसल्लाले सम्मानित गरिएको हो।