पोखरामा बर्डफ्लुको संक्रमण पक्षीजन्य पदार्थ आयातमा रोक



धन बस्नेत, पोखरा
पोखरामा पक्षी र पक्षीजन्य पदार्थ आयातमा रोक लगाइएको छ। एक साताभित्र पोखराको एउटै वडाको दुई स्थानमा बर्डफ्लुको संक्रमण भेटिएपछि पशु सेवा विभागले दुई सातासम्म पक्षी र पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको हो।

गत फागुन १४ गते पोखरा–१८ खाल्टेमसिनामा बर्डफ्लुको संक्रमण भेटिएको थियो। त्यसको एक सातापछि शनिबार पुनः सोही क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि संक्रमित क्षेत्र घोषणा गर्दै पक्षी र पक्षीजन्य पदार्थ आयात तथा निर्यातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार स्थानीय शुभकामना टोलस्थित दीपेन्द्र केसीले पालेको कुखुरामा बर्डफ्लुको संक्रमण भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ। जिल्ला एभियन इन्फ्लुएन्जा प्राविधिक समितिको शनिबार बसेको बैठकले संक्रमित क्षेत्रलाई चार किल्ला तोक्नुका साथै पक्षीजन्य बस्तु आयातमा रोक लगाएको हो। निर्णय उल्लंघन गरे कानुनअनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ। तोकिएको अवधिमा कुखुरा तथा हाँस बाहिर नछोड्न स्थानीयबासीलाई आग्रहसमेत बैठकले गरेको छ।

यसअघि खाल्टेमसिनास्थित मीना परियारको घरमा पालेको हाँसमा संक्रमण भेटिएपछि गत फागुन १४ गते संक्रमित क्षेत्र घोषणा गरी संक्रमित क्षेत्र आसपासको नमुना परीक्षणका लागि पठाइएकोमा पुनः अर्को स्थानमा बर्डफ्लुको जीवाणु एच फाइभ एन वान पुष्टि भएको हो। संक्रमण भेटिएपछि त्यस आसपासका क्षेत्रमा चार किल्ला तोकेर पक्षी र पक्षीजन्य बस्तु नष्ट गरिएको छ। साथै पोखरा नगर क्षेत्रभित्र आगामी १० दिनका लागि पक्षी र पक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको छ। आगामी फागुन ३० गतेसम्म पोखरा उपमहानगरपालिकाको वडा नम्बर १ देखि १८ सम्म दानाबाहेक पक्षी र पक्षीजन्य बस्तुमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो।

अघिल्लो शनिबार संकटग्रस्त क्षेत्रभित्रका २ सय ५६ कुखुरा, ४१ हाँस, ६७ अन्डा, ९० केजी र ४० केजी मासु नष्ट गरिएको थियो। सो क्षेत्रका २४ घरधुरीमा पालिएको हाँस, कुखुरा नष्ट गरिएको थियो। यसअघि संक्रमित क्षेत्रमा चार किल्ला तोकेर सात किलोमिटर आसपासका क्षेत्रलाई जोखिमयुक्त क्षेत्र मानी निगरानीमा राखिएका बेला पुनः अर्को संस्थानमा संक्रमण भेटिएपछि स्थानीय त्रसित भएका छन्।

प्रतिक्रिया दिनुहोस्